८५ वर्ष उमेरमा नागरिकता

८५ वर्ष उमेरमा नागरिकता

बैतडी : जिल्लाको दुर्गम पञ्चेश्वर गाउँपालिका-१ की ८५ वर्षीया कित्थी सार्की नेपाली नागरिकता पाएपछि निकै खुसी देखिइन्। १९९० सालमा जन्मिएकी उनले जिल्ला प्रशासन कार्यालयको समन्वयमा पञ्चेश्वरको कुलाउमा सञ्चालन भएको शिविरबाट शनिबार नागरिकता लिएकी हुन्। ‘म त अस्ताउने जून हुँ। मर्ने बेला नेपाली भएर मर्न पाउँछु। यसैमा खुसी छु', उनले भनिन्।

हजुरआमाको नागरिकता बनाउन साथमा आएका नाति हिमलाजले गाउँमै सरकारी सेवा पाएपछि खुसी भएको बताए। उनले भने, ‘दलित ज्येष्ठ नागरिकलाई सरकारले ६० वर्षमै सामाजिक सुरक्षाभत्ता दिने गरेको छ। तर, हजुरआमाको नागरिकता नहुँदा अहिलेसम्म सामाजिक सुरक्षाभत्ताबाट पनि वञ्चित हुनुहुन्थ्यो। गाउँमै हजुरआमाको नागरिकता बनाउन पायौं, यसमा निकै खुसी लागेको छ।'

पञ्चेश्वर गाउँपालिका-२ की ७८ वर्षीया हजारीदेवी साउदले पनि शनिबार नै नेपाली नागरिकताको प्रमाणपत्र पाइन्। प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले उनलाई नागरिकता प्रदान गरे।

कुलाउमा शनिबारदेखि सुरु भएको घुम्ती शिविरमा पञ्चेश्वर गाउँपालिकाकै ७५ वर्षीया कालीदेवी साउँदले पनि नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छन्। उनले भनिन्, ‘शिविरमा सबै सरकारी सेवा पाउँदा गाउँमै सरकार आएजस्तो भयो।'

पञ्चेश्वर-३ का ५१ वर्षीय कालुराम महर पूर्ण अपांगता भएका व्यक्ति हुन्। अहिलेसम्म अपांगता परिचयपत्र नपाएका उनले शिविरबाटै ९क० वर्गको अपांगता परिचयपत्र पाएका छन्। ‘बोकेर सदरमुकाम लैजान पनि नसकिने। अहिलेसम्म परिचयपत्र बनाउन सकेका थिएनौैं', प्रेमका वृद्ध बुबा पुरेराम महरले भने, ‘गाउँमै परिचयपत्र बनाउन पायौं। अब अपांगता भएको मेरो छोराले केही सरकारी सेवा पाउँछ कि रु '

बहुअपांगता भएका पञ्चेश्वर गाउँपालिका-२ लक्ष्मणसिंह मंगोलाले पनि शिविरमा परिचयपत्र पाएका छन्। ‘भाइ हिँडडुल गर्न र बोल्न पनि सक्दैन। सदरमुकाम पुर्‍याएर परिचयपत्र बनाउन निकै झन्झट हुन्थ्यो। गाउँमै बनाउन पायौं। यसमा खुसी लागेको छ', मंगोलाका दाजु प्रेमसिंहले भने, ‘सिंहदरबार गाउँमा आएजस्तो त बल्ल भयो। यस्ता शिविरलाई निरन्तरता दिनुपर्छ।'

ग्रामीण क्षेत्रका नागरिकलाई उनीहरूकै घरदैलोमा सेवा दिने उद्देश्यले तल्लो सोराडमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए। उनले भने, ‘धेरै सेवा अहिले स्थानीय तहबाटै पाइन्छन्। नागरिकताका लागि गाउँका मान्छेले सदरमुकाम आउनुपथ्र्यो। त्यसैले हामीले गाउँमै गएर सेवा दिने उद्देश्यले शिविरको आयोजना गरेका हौं।'

शिविरमा शनिबार र आइतबार गरी दुई सय बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बताए। उनले भने, ‘शिविरमा सेवा लिने नागरिकको निकै ठूलो भीड छ। हामीले दुई दिन कुलाउमा शिविर सञ्चालन गर्‍यौं। अब वैशाख १७ गते शिवनाथको शर्माली र १८ गते सुल्लेखानमा शिविर सञ्चालन गर्ने तयारी गरेका छौं।'


                                                                                    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.