नेपाल–भारत सीमा विवाद ज्यूँका त्यूँ

नेपाल–भारत सीमा विवाद ज्यूँका त्यूँ

धनगढी : कञ्चनपुरको आनन्द बजारमा सीमा विवादकै कारण गोविन्द गौतम सहिद भएपछि गठन भएको चार नम्बर संयुक्त सीमा सर्वेक्षण टोलीले पनि विवादित क्षेत्रहरूमा सीमास्तम्भ खडा गर्न सकेको छैन।

कैलालीको खक्रौला क्षेत्रमा रहेको पिलर नम्बर ७ सयदेखि सीमास्तम्भहरूको मर्मतसम्भार र हराएका स्तम्भ खडा गर्ने कार्य थालेको नेपाल–भारत संयुक्त सीमा सर्भेक्षण टोलीले कैलालीकै दुई स्थानको विवाद समाधान गर्न नसकेको हो। कैलालीको खक्रौलानजिकै रहेको कालाकुण्डाबाहेक भजनी नगरपालिकाको मारियाघाट, धनगढी उपमहानगरपालिकाको नर्सरी भन्ने स्थान र कञ्चनपुरको पुनर्वास क्षेत्रको सीमा विवाद कायमै छ।

मंसिरमा नेपालका तर्फबाट प्रमुख नापी अधिकृत सुदर्शन धामी र भारतको तर्फबाट आरसी भट्ट नेतृत्वमा १४ जनाको नेपाल–भारत संयुक्त सर्भे टोली गठन भएको थियो। टोली कैलालीदेखि दार्चुलासम्मको सीमास्तम्भहरूको मर्मतसम्भार र नयाँ स्तम्भ खडा गर्ने कार्यादेशसहित फिल्डमा खटिएको थियो। दुई वर्षभित्र हराएका सीमा पिलर खडा गरिसक्ने, टुटफुट भएका पिलरको मर्मत गरिसक्ने कार्यादेश सर्भेक्षण टोलीलाई दिइएको छ। भारतलाई जोर नम्बर र नेपाललाई बिजोर नम्बरका पिलर खडा गर्ने र मर्मतसम्भार गर्ने अनुमति दिइएको छ।

सीमा सर्भेक्षण टोलीका नेपाल तर्फका टोली प्रमुख सुदर्शन धामीका अनुसार कैलालीमा २१ वटा जंगे पिलर (मुख्य पिलर) र १ सय १२ सहायक पिलर गायब छन। मंसिरदेखि दुवै देशका टोलीले कैलालीमा हराएका मुख्य र सहायक पिलरमध्ये २८ वटा नयाँ खडा गरेका छन्। साथै ७० भन्दा बढीको मर्मतसम्भार गरेका छन्। कैलालीमा अझै मुख्य र सहायक गरी १ सय ५ वटा पिलर खडा गर्न बाँकी छ।

कैलालीमा विवादित भजनी नगरपालिकाको मारियाघाटको पिलर नं ७ सय ७ देखि ७ सय ८ का सहायक पिलर पनि संयुक्त सर्भे टोलीले खडा गर्न सकेन। ‘कालाकुण्डामा झन्डै ६० बिघाजति भूभाग नेपालतिर आएकाले त्यहाँ केही विवाद भएन। तर मारियाघाटमा मोहना नदीको धार परिवर्तन भएर हराएका पिलर भोगचलनका आधारमा मोहनाभन्दा नेपालतिर परेकाले पनि विवाद कायमै रह्यो’, धामीले भने, ‘भारतबाट नेपालतर्फ भूभाग आयो भने त्यहाँ सहमति जुट्ने गरेको छ। नदीको धार परिवर्तन भएकाले भोगचलनको जग्गा भारततिर गयो भने त्यहाँ विवाद हुने गरेको छ।’

मारियाघाटमा सहायक पिलरहरू केही खडा पनि छन् भने केहीका जग यथावत् रहेको उनले बताए। ‘तर नेपालीहरूले भारतले ती पिलर रातारात सारेको अडान राख्छन्’, उनले भने, ‘त्यसैले त्यहाँ सहमति हुन सकेन, हामीले स्थानीय तहका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सरोकारवालाहरूलाई यसको जानकारी गराइसकेका छौँ, विवाद कायमै रहेपछि हामी त्यो काम छाडेर अगाडि बढेका छौं।’

धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा पर्ने नर्सरीमा पनि त्यस्तै विवाद आएकाले हराएका सीमा पिलर खडा गर्न नसकिएको धामीले बताए। ‘नर्सरीमा पनि मोहना नदीले धार परिवर्तन गरेको रहेछ, त्यसपछि नेपालीले त्यो भारतीय बगरमा वृक्षरोपण गरे, केही वर्षदेखि त्यो नर्सरीबाट नेपालीले घाँसदाउरा पनि निकाल्दै आएका छन्’, उनले भने, ‘तर अहिले नापी गर्दा त्यो क्षेत्र भारतमा पर्‍यो, त्यो हाम्रो ग्लोबल पोजिसनले पनि देखाएको छ। तर त्यहाँका जनता मान्न तयार छैनन्। त्यसैले हामीले त्यो विवादित क्षेत्र पनि छाडिदिएका छौं।’

कैलालीमा रहेका ५३ मध्ये २१ हराएको, २५ मा सामान्य मर्मत, तीनमा बढी मर्मत र चार पिलर मात्रै सद्दे रहेका नापी टोलीले जानकारी दिएको छ। संयुक्त सर्भेक्षण टोलीले पहिलो चरणमा पूर्वेक्षण (रेकी) गरेर कैलाली र कञ्चनपुरमा पर्ने सीमाक्षेत्रका पिलरको अवस्था पत्ता लगाएको थियो। कञ्चनपुरमा पनि गतवर्ष गोविन्द गौतमले सहादत प्राप्त गरेको क्षेत्र आसपासमा सीमा विवाद कायमै छ। ‘हामीले कञ्चनपुरमा रेकीबाहेक केही गर्न सकेनौं, धनगढीसँग जोडिएको कञ्चनपुरको डोकेबजार र आसपासको क्षेत्रका एक मुख्य र दुई सहायक पिलरको मर्मत मात्रै भएको छ, पुनर्वास क्षेत्रमा यस वर्ष जान सकिँदैन होला’, धामीले भने।

भारतको भूमि नेपालतिर आए कुनै विवाद हुँदैन। तर कुनै ठाउँमा नेपालीको भोगचलनमा रहेको भूमि भारततिर पर्‍यो भने त्यहाँ विवाद हुने गरेको छ।

कञ्चनपुरको पुनर्वास क्षेत्रमा भारतीय सुरक्षाकर्मीले गौतमको हत्या गरेपछि त्यहाँ सीमा विवाद सुल्झाउन यसअघि पनि नापी विभागको टोली खटिएको थियो। तर उक्त टोली पनि कुनै निष्कर्ष नदिएरै फर्किएको थियो। यसपालि भएको कामको समीक्षासहित संयुक्त सर्भेक्षण टोली वैशाख २७ गते दुवै देशका अधिकारीको संयुक्त बैठक गरी फिल्डको काम बन्द गर्ने तयारीमा जुटेको छ। सर्भेक्षणको उद्घाटन भारतीय पक्षले गरेकाले त्यसको समीक्षासहितको समापन नेपाली पक्षले धनगढीमा गर्ने धामीले बताए।

कैलालीमा बाँकी रहेको सीमा सर्भेक्षणको काम र कञ्चनपुरमा अर्को आर्थिक वर्षमा मात्रै काम सुरु हुने उनको भनाइ छ। कञ्चनपुरमा बेलाबेला सीमा विवादका कारण तनाव हुँदै आएको छ। गत बिहीबार पनि भारतको दुधवा नेसनल पार्कबाट आएर गाउँमा आतंक मच्चाउने हात्ती रोक्न नेपालीले सीमाक्षेत्रमा लगाएको सोलार करेन्टसहितको तारबार भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उखेलिदिएपछि त्यहाँ सीमा विवाद बल्झिएको छ।

कञ्चनपुरमा पनि ५९ मध्ये २१ जंगे पिलर हराएका छन्। साथै २ सय १४ सहायक पिलरमध्ये १ सय २९ हराएका छन्। अझ कञ्चनपुरमा रहेका माइनर पिलर १ सय ४ मध्ये ९७ हराएका छन्। कञ्चनपुरमा भारतसँगको सीमा घुमाउरो भएकाले त्यहाँ माइनर पिलर पनि विगतदेखि नै हालिएको सर्भे टोलीका प्रमुख धामीले बताए।

कैलाली कञ्चनपुरको सिमानामा पनि धेरै विवाद छ। भारतको भूमि नेपालतिर आए कुनै विवाद नहुने तर कुनै ठाउँमा नेपालीहरूको भोगचलनमा रहेको भूमि भारततिर पर्‍यो भने त्यहाँ विवाद देखिँदै आएको उनको भनाइ छ। यसबारे स्थानीय तहले जनतालाई जानकारी गराएर सहयोग गर्नुपर्ने उनले बताए।

पूर्वको झापादेखि पश्चिमको दार्चुलासम्मका लागि नेपाल र भारतका चारवटा सर्भेक्षण टोलीले पिलरको मर्मतसम्भार र हराएका पिलर खडा गर्ने कार्य गरिरहेका छन्। कञ्चनपुरमा गौतम सहिद भएपछि मात्रै नेपाल सरकारले यस क्षेत्रका लागि पनि छुट्टै चौथो संयुक्त सीमा सर्भेक्षण टोली गठन गरेको हो।‘कैलाली–कञ्चनपुरमा विवाद रहेका स्थानमा समाधान निकाल्न सकिएन भने सर्भे गरेको के फाइदा ? ’ कञ्चनपुर पुनर्वासका हेमन्त न्यौपानेले भने, ‘पुनर्वास क्षेत्रमा सीमा विवाद नसुल्झिएका कारण दैनिकजसो एसएसबीको दुव्र्यवहार सहनुपरेको छ।’   

       


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.