सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार छाै : व्यवसायी
काठमाडौ : यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको यातायात व्यवसायीले बताएका छन् । गणतान्त्रिक यातायात व्यवसायी संगठन तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले बुधबार आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले यातायात क्षेत्रमा सरकारले गरेको सिण्डिकेट अन्त्यको प्रयासमा आफूहरुको पूर्ण सहयोग र समर्थन रहेको बताएका छन् ।
वार्ता संवादबाट यस क्षेत्रका सम्पूर्ण समस्या समाधान गर्न आफूहरु तयार रहेको चर्चा गर्दै उनीहरुले हरेक क्षेत्रमा देखिएको सिन्डिकेटको अन्त्य गरेर लामो समयदेखि पेशा, व्यवसाय गर्दै आएका व्यवसायी, मजदुर, कर्मचारीको संरक्षण गरी आधुनिक नेपाल निर्माणमा हातेमालो गर्न आफूहरु तयार रहेको बताएका छन् ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका अध्यक्ष श्रीप्रसाद मैनालीले सार्वजनिक यातायात खुल्ला प्रतिस्पर्धामा चल्नुपर्छ भन्ने मान्यता आफूहरुको रहेको उल्लेख गर्दै सिण्डिकेट अन्त्यगर्ने सरकारको कदममा सहमति भएकाे बताए ।
पुराना गाडी कम्पनीमा लैजानुपर्ने सरकारको भनाइप्रति विरोध रहेको बताउँदै उनले भने 'यातायात व्यवसायी र सरकारबीच वार्ता र संवादको माध्यमबाट सिन्डिकेटको समस्या समाधान हुनेछ ।'
गणतान्त्रिक यातायात व्यवसायी संगठनका संयोजक दधिराम खरेलले असार मसान्तपछि यातायात समिति नवीकरण नगर्ने सरकारको निर्णय एकपछि अर्को भएको उल्लेख गर्दै यो निर्णयले यातायात व्यवसायीलाई आतङ्कित पारेको बताए । रासस
प्रतिक्रिया दिनुहोस !