विराटनगरको विरासत
वैशाख १ गते विराटनगरमा पहिलोपटक भाटभटेनी सुपर मार्केट खुल्यो। त्यहाँ आएका ग्राहकको भीड थाम्न नसकेर २ बजेतिर पुलिस तैनाथ राखेर सुपर मार्केट बन्द गरियो। एक हप्तासम्म मान्छेको भीड थामिनसक्नु भयो। एउटा सुपर मार्केटमा मान्छेहरूको अचम्मै गरी भीड लाग्नुको कारण के हो त ?
नेपालको दोस्रो ठूलो सहर, दोस्रो बढी जनसंख्या भएको सहरमा बिदाको दिन या कुनै पर्वमा घुम्न जाने पार्क या कुनै स्थान बनेका छैनन्। जब भाटभटेनी खुल्यो, यो सुपर मार्केट मात्र होइन, आन्तरिक पर्यटकको गन्तव्य पनि भयो। विराटनगरवासीका लागि बिदाको दिन अब घुम्न जाने ठाउँ भाटभटेनी सुपरमार्केट बन्यो।
विराटनगरको किनमेल बजार जोगबनी त हुँदै हो। पत्रकार, नेताका परिवार, एनजीओ, आईएनजीओवाला वा अरू स्थानबाट कोही पनि विराटनगर आए भने जोगबनी अनिवार्य जान चाहन्छन्। सुन्दा अनौठो लाग्छ। तर एक हिसाबले जोगबनी विराटनगरको पर्यटकीय स्थल बनेको छ।
आउनेहरूले विराटनगरमा घुम्ने ठाउँ कहाँ छ भनेर सोध्छन्। जवाफ दिने ठाउँ छैन। के विराटनगर त्यति सुक्खा ठाउँ हो ? जहाँ एक दिनभरि घुम्न जाने ठाउँ पनि नहोस् ? एकाध घन्टा टहलाउनका लागि पनि स्थान नभएको ठाउँ कसरी महानगरपालिका भयो ?
एउटा सहरको चेतना त्यहाँको पुस्तकालयले बोकेको हुन्छ। सहरको विकास त्यहाँको कला साहित्यले दर्शाउँछ। सहरको समृद्धि विद्यालय र विश्वविद्यालयसँग जोडिएको हुन्छ। नाटकघर, खेलमैदान, संग्रहालय, बाटोघाटो, पार्क, सपिङ मलहरूले सहरको सौन्दर्य बढाइरहेका हुन्छन्। मठमन्दिर, गुम्बज, मस्जिद, चर्च संस्कृति, चाडबाडहरूले सहरको हार्दिकता र सौहार्दता बोकेका हुन्छन्।
बाटोघाटो, पुलपुलेसा, भवनहरू सहरका शरीर हुन्। कला, साहित्य, संस्कृति सहरको आत्मा हो। विश्वविद्यालय र संग्रहालय सहरको चेतना हुन। शरीर, आत्मा र चेतनाको सही संयोजन भयो भने एउटा सहर स्वस्थ हुन्छ। यीमध्ये कुनै पनि भाग गुमायो भने सहर अपांग हुन्छ। आपांग सहर समृद्धि बोकेर उभिन सक्तैन।
महानगरपालिकासँग साहित्य, संस्कृति, कला, भाषालाई उत्थान र प्रवद्र्धन गर्ने ठोस योजनै छैन। जबसम्म एउटा सहरको मुख्य योजनामा साहित्य, संस्कृति, कला, भाषाको उत्थान र प्रवद्र्धनको योजना हुँदैन तबसम्म त्यो सहर आत्माहीन, प्राणहीन हुन्छ।
एउटा सहरलाई समृद्ध बनाउन सबैभन्दा पहिला राजनीतिक नेतृत्व लिनेहरूमा चेतना आउनुपर्छ। सहरको प्रशासन प्रमुखलाई शुद्धि फेर्नुपर्छ। सहरको विकास भनेको बाटोघाटो र भवन मात्र होइन भनेर थाहा पाउनुपर्छ।
हरेक सहरसँग आआफ्नो इतिहास र विरासत हुन्छ। त्यसैगरी राजनीतिक, सांस्कृतिक, साहित्यिक, औद्योगिक, ऐतिहासिक, सञ्चारको विरासत बोकेको सहर हो विराटनगर। सायदै यस्तो विरासत कुनै सहरसँग छैन।
विराटनगरको पुरानो नाउँ गोग्राहा हो। भेडियारीमा पाइएको विराट राजाको दरबारको भग्नावशेषलाई आधार मानेर केशरशमशेरले विसं १९७० देखि गोग्राहाको नाम विराटनगर राखे भनिन्छ। तत्कालीन बडाहाकिम जितबहादुर खत्रीको दरबार टंकीसिनुवारीमा थियो। अन्य स्थानको तुलनामा टंकीसिनुवारीमा औलो कम लाग्ने भनेर रंगेलीबाट विसं १९७१ मा सदरमुकाम विराटनगर सारे। यसपछिदेखि सहरका रूपमा विराटनगर विस्तार हुन थाल्यो।
पत्ता लागेको एक सय वर्षपछि पनि विराट राजाको दरबार भनिएको भग्नावशेषको संरक्षण र प्रवद्र्धनमा उदासीन छन् पद र पहुँचमा पुगेका सरोकारवालाहरू। भग्नावशेषलाई बनाउँछौं भन्दै वर्षैपिच्छे राजनीतिक भाषण गर्ने एउटा गतिलो विषय बनाएका छन। काम शून्यप्रायः छ।
भारतको राजस्थानमा पनि ‘विराट नगर’ छ। त्यो विराट नगर महाभारतकालीन विराट राजासँग सम्बन्धित छ। र, त्यससम्बन्धी भग्नावशेषहरू छन् भन्ने दाबी त्यहाँका पुरातत्वविद्हरूको छ। राजस्थानमा यसलाई तीर्थस्थल र पर्यटकीय स्थलका रूपमा विकास गरिसकिएको छ।
तर हाम्रोमा नेताको हचुवा भाषण गर्ने विषय सिवाय यससम्बन्धी कुनै प्रामाणिक कार्य भएका छैनन्।
कुनै जमानामा विराटनगर ‘ढक र तराजुको सहर’ थियो। नेपालको प्रमुख औद्योगिक नगर थियो, विराटनगर। यो नगरसित नेपालको दोस्रो ठूलो सहरको परिचय थियो। भारतको जोगबनी नाका विराटनगरसँग जोडिएको छ। भारत तथा तेस्रो मुलुकसँग आयातनिर्यात यही नाकाबाट हुने भएकाले यो सहर पारवहन तथा वाणिज्यको केन्द्र हो।
राजनीतिक अस्थिरता र किचलोले यो औद्योगिक नगरीलाई तेजाब छर्किएको छ। द्वन्द्वकालमा बन्द भएका उद्योगहरू राजनीतिक किचलोको मारमा अझै छन्। राजनीतिक अस्थिरताका डरले उद्योगमा लगानी गर्न डराउनेहरूलाई अबका जनप्रतिनिधिहरूले केही वातावरण बनाउलान् त ?
दोस्रो विश्वयुद्धपछि जुटका सामानहरूको माग बढ्यो। कर्णेल शिवप्रताप शमशेर थापाको सहयोगमा र श्री ३ जुद्धशमशेरको स्वीकृति लिएर १९९३ मा विराटनगर जुट मिल सुरु भयो। भारतीय व्यापारी राधाकिसन चमडिया र रामलाल गोल्छाको सक्रियतामा यो मिल स्पथापना भएको हो। त्यस बेला भारतका तर्फबाट पाँच हजार एक सय र नेपालको तर्फबाट चार हजार नौ सय लगानी भएको थियो।
यही उद्योग सुरु भएपछि नेपालमा बैंकिङ कारोबार सुरु पनि भयो। उद्योगले बैंकिङ कारोबार गर्नुपर्ने भएपछि नेपालमा पहिलोपटक नेपाल बैंक स्थापना भयो। विराटनगर जुट मिल स्थापनासँगै रघुपति जुट मिल अशोक टेक्सटायल, मोरङ चिनी कारखाना लगायतका सानाठूला झन्डै पाँच सय उद्योग सञ्चालनमा आए।
विराटनगर जुट मिलसँग नेपालको राजनीतिक क्रान्ति पनि जोडिन आउँछ। राणा शासनविरुद्धको आवाज यही जुट मिलबाट मजदुर आन्दोलनका रूपमा सुरु भएको थियो। बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा, तारणीप्रसाद कोइराला, युवराज अधिकारीहरूले हडताल गरेर राणाविरुद्ध धावा बोलेका थिए।
पछिल्लो समयमा राजनीतिक अस्थिरता र लोडसेडिङका कारण यो उद्योग पनि ब्यूँतिने मर्ने भइरहेको छ। यति ठूलो इतिहास बोकेको र यति महŒवपूर्ण उद्योगलाई सही ढंगले सञ्चालनमा ल्याउन राजनीतिक पहल अत्यावश्यक भए पनि उदासीन र असक्षम देखिएको छ।
तारणीप्रसाद कोइरालाको सक्रियतामा २००६ सालमा नेपालमा पहिलोपटक आकाशवाणी केन्द्र स्थापना गरिएको थियो। यसको उद्देश्य राणाविरुद्ध शंखघोष गर्नु थियो। नेपालमा सञ्चारको प्रवेश र सुरुआत पनि विराटनगरको भूमिबाट भएको हो। तर, अहिले त्यो आकाशवाणी कहाँबाट कसरी भएको थियो भनेर जानकारी पाउन केही पनि दसीप्रमाण नपाइनु नेपाली सञ्चार इतिहासकै लागि दुःखद कुरा हो। यसलाई ‘ऐतिहासिक सञ्चार संग्रहालय’का रूपमा स्थापना गर्न सक्ने हो भने विराटनगर र नेपाली सञ्चारकै लागि गर्वको विषय हुन्छ।
प्रजातन्त्रका लागि लडाइँको सुरुआत कृष्णप्रसाद कोइरालाकै पालाबाट सुरु भएको थियो। बीपी कोइराला, मनमोहन अधिकारी मातृकाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, शैलजा आचार्यजस्ता प्रजातान्त्रिक हस्तीहरू यहीँका थिए।
त्यति मात्र होइन, मातृकाप्रसाद कोइराला, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र सुशील कोइरालाजस्ता पाँच जना प्रधानमन्त्रीको भूमि हो, विराटनगर। तर, ती हस्तीहरूलाई देख्ने, चिन्ने र थाहा पाउने गरी न कुनै स्मरणस्थल छ, न पार्क, न संग्रहालय, केही पनि भेटिँदैन। त्यसका लागि सरोकारवालाले सोच्ने बेला आएको छ।
यहाँका हिन्दू र मुसलमानबीचको सौहार्दता, मैथिली, उर्दु, थारू, नेपाली, माडबारीलगायत अन्य भाषाभाषी समुदाय एउटै समाजमा मिलेर बसेका छन्। यो सामाजिक सद्भावलाई कायम राख्दै थप बलियो बनाउन सकियो भने यो सहरको सौन्दर्यमा निखार आउँछ।
हरेक चेतनशील सहरमा त्यस सहरका विशेष व्यक्तिलाई झल्काउने पार्क या संग्रहालय या लाइब्रेरी बनाइन्छ। तर, विराटनगरमा त्यस्तो केही छैन। नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की यहीँको हुनुहुन्छ। कला क्षेत्रका हस्तीहरू शिव श्रेष्ठ, दीपा श्री निरौला, सुनिल पोखरेलहरू यहीँका हुनुहुन्छ। उहाँहरू विराटनगरको हो भनेर चिनाउने आधार सहरमा विकास गर्न सकियो भने सहरको प्राण भरिन्छ।
एकै पिताका तीन छोरा प्रधानमन्त्री (मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला) बनेको घर ‘कोइराला निवास’मा विराटनगर आउने जोकोही पनि पुग्न चाहन्छ। राणाविरुद्ध पहिलो आवाज निस्किएको थियो, कोइराला निवासबाट। प्रजातन्त्रप्रेमीका लागि त्यो स्थान पवित्र भूमि थियो। नोना कोइरालाले सम्हालेको कोइराला निवासको प्रजातान्त्रिक विरासत उनको मृत्युसँगै टुहुरो बन्यो। गिरिजाप्रसाद कोइरालाको मृत्युपछि कोइराला निवास टुक्रियो— बीपीका सन्तानलाई, सुजाता कोइरालालाई र शेखर कोइरालालाई।
बीपीका छोराहरूको भागमा परेको कोइराला निवासको जग्गा व्यापारीलाई बेचियो। सुजाताको भागमा परेको जमिनमा जीपी फाउन्डेसनको भवन बन्यो। शेखर कोइरालाका भागमा परेको कृष्णप्रसाद कोइरालाका पालाको घर व्यापारीहरूका अग्ला भवन र जीपी फाउन्डेसनले छेकिएर पछाडिपट्टि निम्छरो अवस्थामा अद्यापि छ।
कोइराला निवासको अंशबन्डापछि कृष्णप्रसाद कोइराला, दिव्या कोइराला र बीपीलाई सम्झाउने त्यस घरमा रहेका जेजति जिनिस थिए, सबै बीपी संग्रहालय सुन्दरीजल पठाइयो।
कांग्रेसको प्रजातान्त्रिक–सांस्कृतिक चेत गुमेको प्रमाण हो, कोइराला निवासको अंशबन्डालाई टुलुटुलु हेर्नु। प्रजातन्त्रलाई मर्यादित सम्मान दिन नसकेको उदाहरण हो यो अंशबन्डा। कोइराला निवासलाई नटुक्र्याई संग्रहालय र पुस्तकालयका रूपमा विकास गर्न सकिएको थियो भने विराटनगरको चमक नै अर्को हुने थियो। प्रजातन्त्रको उद्मग भूमि, गर्विलो इतिहास बोकेको भूमि र आफ्ना पुर्खाको बलिदानी सशरीर बोकेर उभिएको निवासलाई सम्मान गर्न नसकेको पश्चात्ताप शशांक कोइराला, प्रकाश कोइराला, शेखर कोइराला र सुजाता कोइरालालाई हुने हो कि होइन ?
कोइराला परिवारका उत्तराधिकारीहरूले त्यो जमिनको महŒव पैसासँग जोडेर मात्र देख्नु विराटनगरको दुर्भाग्य हो। कांग्रेसले जोगाउन नसक्नु भनेको बीपीलाई, प्रजातन्त्रलाई सम्मान गर्न नसकेको हो नै। कम से कम कोइराला निवाससँगै रहेको शैलजा आचार्यको घर र जमिनलाई अझै पनि राजनीतिक धरोहरका रूपमा विकसित गर्न सके विराटनगरको गौरव हुने थियो।
हरेक महŒवपूर्ण निर्णय गर्न गिरिजाप्रसाद कोइराला विराटनगर आउनुहुन्थ्यो। राणाविरुद्ध कुर्लिएर प्रजातन्त्रको शंखघोषदेखि लोकतन्त्रसम्मको राजनीतिक अवस्थालाई झल्कने गरी संग्रहालय निर्माण गर्न सके विराटनगरको शान बढ्ने थियो।
त्यति मात्र होइन, कम्युनिस्ट नेता मनमोहन अधिकारीको जीवनी र राजनीतिक व्यक्तित्व झल्किने गरी मनमोहन संग्रहालय र पुस्तकालय बनाउन सके भावी पुस्ताले कम्युनिस्ट आन्दोलनको महŒव र मनमोहनको निष्ठालाई बुझ्ने थिए।
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारी, नाटकको सुरुआत गराउने सुशीला कोइराला विराटनगरबाट उदाएका चम्किला नक्षत्र हुन्। सुनिल पोखरेलले काठमाडौंमा स्थापना गरेको गुरुकुल विराटनगरमा पनि सुशीला कोइराला नाटकघरका रूपमा विस्तार भयो। गुरुकुल विराटनगरको शान हो। तर, यो शानलाई बचाउने चुनौती उत्तिकै छ।
राष्ट्रपति विद्या भण्डारी विराटनगरकै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट त्यस बेला स्ववियु कोषाध्यक्षमा चुनाव जितेर राजनीतिमा अगाडि बढ्नुभएको थियो। विद्या भण्डारी, मदन भण्डारीको राजनीतिक उद्गमलाई झल्काउने कुरा के छ त विराटनगरमा ? अब यहाँका जनप्रतिनिधिले सोच्ने बेला हो यो।
बालकृष्ण पोखरेल, भानुभक्त पोखरेल, महानन्द सापकोटा, देवकुमारी थापा, कृष्णभूषण बल, नरेन्द्र चापागाईं लगायतका साहित्यिक र भाषिक हस्तीहरू यहीँबाट चम्किएका हुन्। साहित्य, भाषा र कलामा उनीहरूको योगदानलाई झल्काउने पार्क, पुस्तकालय, साझा थलो बनाउनु यो सहरको विकास हो।
विराटनगरमा ३६ सालतिर शनिबार साहित्यिक समूह थिए। कृष्णभूषणको नेतृत्वमा विष्णुविभु घिमिरे, अशेष मल्ल, इन्दिरा प्रसाई, महेश प्रसाई, प्रमोद प्रधान, विवश पोखरेलहरू नेपाली साहित्यको सेवामा थिए। त्यस बेलाका पञ्चहरूको विरुद्धमा आगो फुकेर लाग्थे। त्यसै बेलामा हो कृष्णभूषण बलले ‘काठमान्डू एक्लैले काठमान्डू बोक्न सक्तैन’ भनेर कविता लेखेका।
५० को दशकमा वाणी प्रकाशन स्थापना भयो। कथाकार परशु प्रधानको अध्यक्षतामा वाणी प्रकाशनबाट नियमित पाक्षिक गोष्ठी सुरु भयो; जसबाट अहिलेका जल्दाबल्दा कवि सुमन पोखरेल, मनु मञ्जिल, ज्योति जंगल, देवान किराती, शकुन्तला जोशी, बद्री पोखरेल, सविता गौतम दाहालहरूलाई वाणी प्रकाशनले हुर्काएको हो।
विराटनगरको रथयात्रा विशेष मानिन्छ। यसलाई विश्वकै दोस्रो ठूलो रथयात्रा भनिन्छ। जगन्नाथपुरीको रथयात्रालाई विश्वकै ठूलो रथयात्रा मानिन्छ। विराटनगरको रथयात्राले ८२ वर्षको आयु पार गरिसकेको छ। सुरुआती दिनमा खटयात्राबाट सुरु भएको यो यात्रा २०२५ सालबाट रथयात्राका रूपमा विकास गरियो। कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्णलाई रथमा राखेर विभिन्न भाँकीसहित विराटनगर परिक्रमा गराउने प्रचलन छ।
संघीय प्रणालीमा गइसकेपछि प्रदेश १ को अस्थायी राजधानी बनेको छ। तिनै तहका निर्वाचन सम्पन्न भएर जनप्रतिनिधि छानिइसकेका छन्। प्रदेश सरकार र महानगरपालिकाले कर्मकाण्डीय धुपौरे शैलीमा भन्दा पनि फरक र दिगो सोचका साथ यहाँ साहित्य, संस्कृति, कला, ऐतिहासिक धरोहरलाई श्रीवृद्धिमा लाग्न ठोस पहल र बजेट छुट्याउनुपर्छ।
कुनै जमानामा पूर्वाञ्चलकै उच्च शिक्षाको केन्द्र महेन्द्र मोरङ क्याम्पस थियो। वर्तमान राष्ट्रपतिदेखि विराटनगर महानगरका मेयर लगायतका धेरै पूर्वका नेताहरूले यस क्याम्पसबाट उच्चशिक्षा र राजनीतिक बाटो तय गरे। अहिले महेन्द्र मोरङको हालत कहालीलाग्दो छ। यहाँ पढ्ने, यहीँबाट राजनीति सुरु गर्ने कुनै पनि नेता यो क्याम्पसको श्रीवृद्धिमा लागेर यसलाई राम्रो बनाउने पहलमा लागेनन्। बरु राजनीतिक भागबन्डाको किचलोमा फसाइरहे।
पूर्वाञ्चल विश्वविद्यालय पूर्वको गर्व र शान हो। यसमा विद्यार्थी नेतादेखि केन्द्रसम्मका सबै मिलेर राजनीतिको गिर खेल्ने थलो बनाए। प्राज्ञिक थलोलाई प्राज्ञिक रहिरहन नदिनु अहिलेका राजनीतिक दलको एउटा खास चरित्र छ; जसको सिकार पूर्वाञ्चल विश्वविद्यालय पनि बनेको छ।
महानगरपालिकासँग साहित्य, संस्कृति, कला, भाषालाई उत्थान र प्रवर्द्धन गर्ने ठोस योजनै छैन। जबसम्म एउटा सहरको मुख्य योजनामा साहित्य, संस्कृति, कला, भाषाको उत्थान र प्रवद्र्धनको योजना हुँदैन, तबसम्म त्यो सहर आत्माहीन, प्राणहीन हुन्छ।
यहाँका हिन्दू र मुसलमानबीचको सौहार्दता, मैथिली, उर्दु, थारू, नेपाली, माडबारीलगायत अन्य भाषाभाषी समुदाय एउटै समाजमा मिलेर बसेका छन्। यो सामाजिक सद्भावलाई कायम राख्दै थप बलियो बनाउन सकियो भने यो सहरको सौन्दर्यमा निखार आउँछ।
विराटनगरको रथयात्रा विशेष मानिन्छ। यसलाई विश्वकै दोस्रो ठूलो रथयात्रा भनिन्छ। जगन्नाथपुरीको रथयात्रालाई विश्वकै ठूलो रथयात्रा मानिन्छ। विराटनगरको रथयात्राले ८२ वर्षको आयु पार गरिसकेको छ। सुरुआती दिनमा खटयात्राबाट सुरु भएको यो यात्रा २०२५ सालबाट रथयात्राका रूपमा विकास गरियो। कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्णलाई रथमा राखेर विभिन्न भाँकीसहित विराटनगर परिक्रमा गराउने प्रचलन छ।
रथयात्रामा सहभागी हुँदा र रथलाई छुँदा अकाल मृत्यु नहुने, सुखशान्ति, समृद्धि हुने विश्वास गरिन्छ। झन्डै चारदेखि पाँच लाखसम्म यात्रु त्यस दिन रथयात्रामा सहभागी हुन्छन्। भारतका विभिन्न ठाउँबाट पनि भक्तहरू रथयात्रामा सहभागी हुन आउँछन्।
अझै पनि रथयात्रालाई बृहत् र व्यवस्थित गराएर प्रचारप्रसार गर्नसके तीर्थालु पर्यटक बढाउने सम्भावना प्रशस्त छ। र, यो रथयात्रालाई विराटनगरको गौरव बनाउन सकिन्छ। विराटनगरका औद्योगिक, राजनीतिक, साहित्यिक, पौराणिक धरोहरलाई संवर्द्धन एवं प्रवर्द्धन गर्नु विराटनगरको विकास हो। नगरवासी र नगर प्रतिनिधिको सहकार्यमा यो सहरलाई नमुना बनाउन सम्भव छ।