शल्यक्रिया गरेको छ घण्टा नपुग्दै सुत्केरीको मृत्यु

शल्यक्रिया गरेको छ घण्टा नपुग्दै सुत्केरीको मृत्यु

विराटनगर : कोसी अञ्चल अस्पताल विराटनगरमा शल्यक्रिया गरिएको छ घण्टा बित्न नपाउँदै एक सुत्केरीको मृत्यु भएको छ। मोरङको ग्रामथान गाउँपालिका ४ की २४ वर्षीय शान्ति लिम्बूको सुत्केरी भएको छ घण्टा पनि बित्न नपाउँदै शनिबार राति मृत्यु भएको हो। प्रसूति गराउनका लागि शुक्रबार अस्पतालमा भर्ना गरिएकी लिम्बूको शनिबार दिउँसो ४:३० बजे शल्यक्रिया गरिएको थियो। शल्यक्रियाबाट शिशु (छोरी) जन्माएकी शान्तिको राति १०:३० बजे मृत्यु भएको पति आइतबहादुर लिम्बूले बताए। शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। 

आफन्तले भने चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। सुत्केरीको मृत्यु भएको विरोधमा आफन्तले आइतबार अस्पताल परिषरमा नाराबाजी र प्रदर्शन गरेका छन्। लापरवाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गर्दै प्रर्दशन गर्न थालिएका कारण अवस्था तनावपूर्ण बनेपछि अस्पतालमा सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। 

शान्तिकी नन्द ललिता लिम्बूका अनुसार शल्यक्रियापछि अवस्था सामान्य रहेको भन्दै सुत्केरी अवस्थाकी उनलाई वार्डमा सारिएको थियो। 'भाउजुले राम्ररी बोलेर छोरीलाई दूध समेत खुवाउनु भएको थियो,'ललिताले भनिन्, 'त्यसपछि अत्यधिक पेट दुख्न र पोल्न थालेको बताउनु भएको थियो।' सहनै नसक्ने गरी पेट दुख्यो भनेको केही बेरदेखि नै पेट सुन्निए पनि चिकित्सकले वास्ता नगरेको उनको भनाइ छ। 'शल्यक्रिया गरेर वार्डमा सार्दासम्म अवस्था सामान्य थियो,'उनले भनिन्, 'अचानक सहनै नसक्ने गरी पेट दुख्यो भनेको केही समयमै भाउजुको मृत्यु भयो।'

ललिताले सुत्केरीलाई पेट दुखेर समस्या हुन थालेको जानकारी गराउँदा पनि अस्पतालका चिकित्सक र नर्सले उल्टै हप्कीदप्की गरेको र सुत्केरीको अवस्था बुझ्न एक पटक पनि नआएको बताइन।बिरामीलाई थप गाह्रो हुँदै गएपछि भने अस्पतालले उपचार सम्भव नहुने भन्दै थप उपचारका लागि अन्तै लैजान सुझाएको थियो।

अस्पतालले रेफर गरेपछि थप उपचारका लागि न्युरो अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको जानकारी ललिताले दिइन। उनले बिरामीको अवस्था गंभीर भएपछि मात्रै अस्पतालले रेफर गरिदिएको बताइन। 

शान्तिका पति आइतबहादुरले चिकित्सक र नर्सहरुले बेवास्ता गर्दा पत्नी गुमाउनु परेको गुनासो गरे। 'शल्यक्रियाका क्रममा लापरवाही गरिएकै कारण सुत्केरीलाई पेट दुख्ने, पोल्ने र सुन्निने समस्या भयो,' उनले भने, 'थप उपचारमा ध्यान नदिंदा सुत्केरी अवस्थाकी पत्नीलाई घर लैजान सकिएन।' अस्पतालले शान्तिको शल्यक्रिया बरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ डा. संगीता मिश्र नेत्रृत्वको चिकित्सक टोलीले गरेको जानकारी दिएको छ। 

डा. मिश्रले भने शल्यक्रिया सफल भए पनि सुत्केरीको के कारणले मृत्यु भएको हो भन्ने बारेमा थाहा हुन नसकेको बताइन। शव जिम्मा लिएर आफन्तले पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका छन्। 

अस्पताल प्रशासन र मृतकका आफन्तबीचको बार्तामा चार बुँदे समझदारी बनेपछि परिवारका सदस्य शव जिम्मा लिन राजी भएका हुन्। पोष्टमार्टम रिपोर्टमा चिकित्सकको कमजोरी देखिएमा कारवाही गरिने, पीडित पक्षलाई क्षतिपूर्तिका लागि पहल गर्ने, शवको पोष्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्ने र शान्तिको शल्यक्रियाबाट जन्मिएकी शिशुको पालनपोषण र स्वास्थ्य उपचार अस्पतालले छ महिनासम्म गर्ने सहमति पीडित पक्षसँग भएको अस्पतालका नायव शुब्बा नवराज लुइँटेलले बताए। सहमति पत्रमा चिकित्सक लक्ष्मीनारायण यादव, संगीता मिश्र, योगेन्द्र मिश्र, रविनराज सिंह, प्रदेश सांसदहरु र मृतकका आफन्तको हस्ताक्षर छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.