महिनामा १० पटकसम्म सुन तस्करी: १५ जनाको बयान सकियो

महिनामा १० पटकसम्म सुन तस्करी: १५ जनाको बयान सकियो

विराटनगर : साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा आइतबारसम्म १५ जना अभियुक्तसँग बयान लिइसकिएको छ। जिल्ला अदालत मोरङले पक्राउ परेका ३० मध्ये सुनका लगानीकर्ता भनिएका भुजुङ गुरुङसहितका अभियुक्तसँग बयान लिएको हो।

बयानका लागि आइतबार ११ अभियुक्तलाई अदालत लगिएको थियो। उनीहरूमध्ये निलम्बित सइ बालकृष्ण सञ्जेलबाहेक अभियुक्तसँग बयान लिने काम सकिएको अदालतका स्रेस्तेदार नवराज दुलालले बताए। 

उनका अनुसार सञ्जेलको बयान सोमबार पुनः लिइनेछ। अर्का अभियुक्त टेकराज मल्ल ठकुरीको बयान लिने काम पनि आइतबार नै सकिएको छ। आइतबार बयान लिइएका अन्य अभियुक्तमा सुन व्यापारी चाचाजी भनिने महावीरप्रसाद गोल्यान, राजेन्द्रकुमार शाक्य, थाई एयरलाइन्सका अपरेटर लालबहादुर मगर, विमानस्थलका कर्मचारी चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, थाई एयरलाइन्सका कर्मचारी सम्वीरप्रसाद तोलाङगे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री र कपिलराज पुरी छन्। अभियुक्तहरू मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की र राजन कुमारको बयान शुक्रबार सकिएको थियो।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलासमा अभियुक्तको बयान लिने काम भइरहेको छ। अदालतले पक्राउ परेका सबैसँग मंगलबारसम्ममा बयान लिइसक्ने लक्ष्य राखेको जनाइएको छ। त्यसपछि थुनछेक बहस सुरु हुनेछ।

प्रहरी हवल्दार अमरबहादुर थापा शुक्रबार मोरङ जिल्ला प्रहरीको सम्पर्कमा आएपछि पक्राउ पर्नेको संख्या ३० पुगेको छ। उनीहरू सबै प्रहरी हिरासतमा छन्। सुन तस्करी र हत्यामा संलग्न रहेको भन्दै मुद्दा दर्ता गरिएका ६३ जनामध्ये मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती र एसएसपी श्यामबहादुर खत्रीलगायत ३३ जना फरार छन्।

सइ सञ्जेलले प्रारम्भिक बयानमा आफूलाई फसाइएको गुनासो गरेका छन्। घटनामा संलग्न गोरेलगायत अन्यलाई पक्राउका लागि आफूहरू खटिए पनि त्यसलाई उल्टो बनाएर आफूमाथि मुद्दा लगाइएको दुखेसो उनले गरेका छन्। उनले घटनामा संलग्नता स्वीकार नगरेको अदालतका एक कर्मचारीले बताए।

विमास्थलका कर्मचारी श्रेष्ठले बयानका क्रममा आफूले सुन तस्करी भएबापत २०४६ सालदेखि नै पैसा पाउने गरेको स्वीकार गरेका छन्। ‘सुरुमा मैले ५ हजार रुपैयाँ पाएको थिएँ’, उनले बयानमा भनेका छन्, ‘पछि मात्रै यो सुन तस्करी भएबापतको पैसा रहेछ भनेर थाहा पाएँ।’ उनले तस्करीको एक किलो सुन विमानस्थलबाट भुजुङ गुरुङले भनेको ठाउँसम्म पुर्या‍उँदा ३५ हजार रुपैयाँ पाउने भएपछि आफूले विमानस्थलबाट सहयोग गरेको बयान दिएको अदालत स्रोतले बतायो। बयानमा उनले भनेका छन्, ‘थाई एयरलाइन्सको जहाजबाट आउने सुन विभिन्न तरिकाले विमानस्थलबाट पास गराएर हामी सबै मिलेर भुजुङ गुरुङको घरसम्म पु¥याउने गरेका थियौं।’

गुरुङले भने हङकङमा सुन किनेर बैंकक हुँदै थाई एयरलाइन्सबाट नेपाल ल्याएर काठमाडौंमा बिक्री गर्ने गरेको बयान दिएका छन्। गोपालकुमार श्रेष्ठ, बसन्तप्रसाद बिजुक्छे र आफ्नो संयुक्त लगानीमा सुन तस्करी धन्दा सुरु गरेको उनले स्वीकार गरेको जनाइएको छ। सुन तस्करी २०४८ सालमै छाडेर अन्य व्यवसाय गर्न थाले पनि २०६९ सालदेखि गोरे, छिरिङ वांगेल घले, एम के भनिने मोहनकुमार अग्रवालसँगको सम्पर्कमा आएपछि फेरि थालेको बयान उनले दिएको अदालत स्रोतले बतायो। उनको बयानअनुसार विमानस्थलबाट महिनामा १० पटकसम्म तस्करीको सुन भित्रिने गरेको थियो।

उनले हराएको भनिएको साढे ३३ किलो सुन भने कहाँ छ भन्ने थाहा हुन नसकेको बताएका छन्। माघ ९ गते आफूले पनि कमिसन पाउने उक्त सुन बैंककबाट थाई एयरलाइन्समार्फत काठमाडौं भित्रिए पनि लुटियो भन्ने मात्रै थाहा पाएको उनले बताएका छन्। गुरुङको बयानअनुसार हराएको सुन पत्ता लगाउने जिम्मा गोरेलाई दिइएको थियो। उनले बयानमा भनेका छन्, ‘सुन पत्ता लगाउने क्रममै गोरे समूहले यातना दिँदा सनमको मृत्यु भएको हो।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.