मोदी मुस्ताङ जाँदा थोराङ्ला पास बन्द, पदयात्रीलाई दुई दिन रोक

मोदी मुस्ताङ जाँदा थोराङ्ला पास बन्द, पदयात्रीलाई दुई दिन रोक

सर्वसाधरणलाई मुक्तिनाथ दर्शन गर्न पनि नदिइने 

बेनीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शन गर्न जाँदा पदयात्रीमाथि दुई दिनसम्म रोक लगाइने भएको छ । 

जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले मोदी वैशाख २८ मा मुक्तिनाथ दर्शन गर्न आउँदा त्यही दिन र भोलिपल्ट मनाङको थोरङ्गला पास हुँदै मुस्ताङ छिर्ने पदयात्रीलाई रोक लगाउने निर्णय सोमबार गरेको हो । 

म्याग्दीको बेनी हुँदै जोमसोम रुटबाट आउने पर्यटकलाई पनि वैशाख २८ र २९ गते दुई दिन मुक्तिनाथ दर्शनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मुस्तङका शाखा अधिकृत जितेन्द्र बलामीले जानकारी दिए । 

प्रशासनले काठमाडौँ र पोखराबाट हेलिकोप्टर चढेर जोमसोम हुँदै मुक्तिनाथ आउने पर्यटकलाई पनि वैशाख २८ र २९ गते दर्शनमा रोक लगाउने निर्णय गरेको छ । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङले सोमबार सूचना जारी गर्दै वैशाख २९ गते हुने मोदीको भ्रमणलाई सुरक्षाको दृष्टिकोणले सुरक्षित र भरपर्दो बनाउन मनाङसँगको नाका बन्द गर्ने जनाएको हो । 

राउण्ड अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको मूख्य गन्तव्य थोराङ्ला पास हो । मनाङ र मुस्ताङबाट जान सकिने थोराङ्ला पासमा यतिबेला मनाङबाट आउने पर्यटक बढी हुन्छन् । 

मोदी नेपाल भ्रमणका लागि वैशाख २८ गते आउने कार्यक्रम छ । मोदीको विशेष पूजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रंगरोगन, अति विशिष्ट कक्ष, १०८ धारा, हेलिप्याड निर्माण र शौचालयको सरसफाई गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । 

मोदीको स्वागतका लागि मुक्तिनाथ गाउँ र मन्दिर प्रवेशद्वारमा विशेष गेट बनाइएको छ । वैशाख २९ गते हेलिकोप्टरबाट मुक्तिनाथ ओर्लेपछि मोदीले एक घण्टा विशेष पूजापाठ गर्नेछन् । 

उच्च विदेशी पाहुना आउने भएपछि मुस्ताङ र म्याग्दीको सिमाना घासा र मनाङको थोराङ पासमा सुरक्षा गस्ती बढाइएको छ । 

थोराङसहित ७६ किलोमिटर बेनी–जोमसोम सडक पनि दुई दिन बन्द गरिनेछ । ‘२८ र २९ गते बेनी–जोमसोम सडक र मनाङको सिमाना थोराङ पास बन्द हुनेछ । मुस्ताङको मार्फादेखि कागबेनीसम्मका होटलहरुमा दैनिक पाहुनाको विवरण लिने काम पनि भइरहेको छ’, प्रजिअ पौडेलले भने, ‘सुरक्षा समितिको बैठक दैनिक बस्ने गरेका छौँ ।’ 

मन्दिरमा विशिष्ट पाहुना आउँदा पूजापाठका लागि गरिने सम्पूर्ण प्रक्रियाको तयारी पूरा भएको मुक्तिनाथका मूख्य पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । 

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.