नेपाल–भारत सम्बन्ध : मैत्री सन्धिपछि असमझदारी बढ्यो
काठमाडौं : नेपाललाई आफ्नो सुरक्षा छाताअन्तर्गत राख्ने भारतीय चाहनाकै कारण सात दशक यतादेखि सहज द्विपक्षीय सम्बन्ध स्थापित हुन नसकेको सरोकारवालाले बताएका छन् । नेपालीले सन् १९५० को सन्धिलाई आत्म बिझाउने घटनाका रूपमा लिने गर्छन् । शान्ति तथा मैत्री सन्धिलाई उनीहरूले भारतले नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्न चाहेको विषयका रूपमा बुझ्दै आएका छन् ।
नेपालको चीनसँगको सम्बन्ध पनि विवादरहित भने छैन । कूटनीतिज्ञको चतु¥याइँले चीनसँगको तिक्तताले लामो अवधि भने लिन पाएका छैनन् ।
भारतले नेपाललाई आफ्नो सुरक्षा छाताअन्तर्गत राख्न खोज्नु नै सहज सम्बन्धको बाधक रहेको जवाहरलाल नेहरु विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्रा. स्वर्ण सिंहले टिप्पणी गरे ।
चीनले ठूलो मात्रमा लगानी गर्न सक्ने र कामको परिणाम पनि छिटो दिन सक्ने हुँदा नेपालीको धारणा चीनसँग सकारात्मक भएको भारतीय बुद्धिजीवीको टिप्पणी छ । ‘नेपाल र भारतका नागरिकको सम्बन्ध प्रगाढ रहे पनि राजनीतिक स्तरमा सम्बन्धमा उतारचढाव आइरहनुको कारण सन् १९५० कै सन्धि हो,’ उनीहरूको भनाइ छ ।
नेपाल–भारतबीचको सम्बन्ध बिग्रिनुको कारण चीन रहेको प्रा. सिंहको भनाइ छ । ‘नेपाल–भारतबीचको सम्बन्ध पहिले जस्तो थियो, अहिले पनि उस्तै छ । तर चीनको प्रभाव बढ्दा ५–६ वर्ष अघिको जस्तो सम्बन्ध सुमधुर रहेन’, उनले भने, ‘चीनले ठूलो मात्रामा लगानी गर्न सक्ने र कामको नतिजा पनि छिटो दिँदा भारतप्रति नेपालीको धारणा नकारात्मक बन्दै गएको हो ।’
नेपालका साम्यवादी सिद्धान्तका राजनीतिक दल र भारतको गैरसाम्यवादी सिद्धान्तका राजनीतिक दलबीचको सैद्धान्तिक तालमेल नमिल्दा पनि नेपाल–भारतबीचको सम्बन्धमा सहजता आउन नसकेको जनकपुरको राराब क्याम्पसका राजनीतिशास्त्रका प्रा. नवीन मि श्रको भनाइ छ । ‘द्विपक्षीय सम्बन्धमा आफ्नो राष्ट्रको स्वार्थ पूरा गर्ने प्रयास प्रत्येक देशले गर्ने हुँँदा नेपाल–भारतको सम्बन्धमा पनि त्यही सिद्धान्त लागू हुन्छ’, उनले भने ।
नेपाल–भारतबीचको सम्बन्ध कटुता नयाँ होइन । नेपाली पक्षले शान्ति तथा मैत्री सन्धियता भारतले नेपालको आन्तरिक राजनीतिमा सधैं हस्तक्षेप गरेको आरोप लगाउँदै आएको छ । ‘भारतमा बेलायती उपविनेशवादको अन्त्य भए पनि ब्रिटिसहरूको औपनिवेशिक मानसिकता भारतीयमा अहिलेसम्म पनि जारी छ । यही कारणले यो द्विपीक्षय सम्बन्ध सुधारमा सधैं बाधा देखापरेको हो’, उनले भने, ‘भारतलाई गाली गर्नु नै राष्ट्रियता हो भन्ने नेपालीको मानसिकताले पनि दुईपक्षीय सम्बन्धमा सुधार नआएको हो ।’
नेपालको चीनसँगको सम्बन्ध पनि विवादरहित भने छैन । कूटनीतिज्ञको चतु¥याइँले चीनसँगको तिक्तताले लामो अवधि भने लिन पाएका छैनन् ।
राजा महेन्द्र र बीपी कोइरालको विदेश नीतिबाट नेपालको विदेश नीति अझै बाहिर नआएकाले समस्या भएको अन्तर्राष्ट्रिय सम्बन्धका जानकार अरुणकुमार सुवेदीको भनाइ छ । ‘एक देशविरुद्ध अर्को देशलाई प्रयोग गर्ने नेपालको कमजोर विदेश नीतिका कारण द्विपक्षीय सम्बन्धमा सहजता नआएको हो’, उनले भने ।
सापेक्षित लाभको सिद्धान्तमा राजा महेन्द्रले कहिले चीनसँग नजिक हुने त कहिले भारतसँग नजिक हुने विदेश नीति अपनाउँदा पनि छिमेकीसँगको सम्बन्धमा समस्या आएको उनले बताए । बीपी कोइरालाले भारत र चीनसँगको सम्बन्धबाट अघि बढाएर पश्चिमा मुलुकसँग नेपालको सम्बन्ध स्थापित गर्ने प्रयास गरेको स्मरण गराउँदै सुवेदीले नेपालको विदेश नीति अहिले पनि यही मनोविज्ञानबाट सञ्चालित हँुदा समस्या उत्पन्न भएको दाबी गरे ।
भारतले नेपाललाई आफ्नो सुरक्षा छाताअन्तर्गत राख्न खोज्नु नै सहज सम्बन्धको बाधक रहेको कांग्रेस नेता मीन विश्वकर्माको भनाइ छ । ‘अन्तर्राष्ट्रिय सम्बन्धमा मित्र फेर्न सकिने तर छिमेकी फेर्न नसकिने कुरालाई मनन गर्दै भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्न नसक्नु र नेपाललाई आफ्नो सुरक्षाका दृष्टिकोणले मात्र हेर्दा समस्या निम्तिएको हो’, उनले भने ।
प्रतिक्रिया दिनुहोस !