मापदण्ड कार्यान्वयन गर्न महानगर असफल
पोखरा : फेवातालको किनार सेदीफाँटमा किरण दाहालले खेत पुरेर धमाधम घर बनाइरहेका छन् । २ तले पक्की निर्माणाधीन दाहालको घर तालको मापदण्ड ६५ मिटरभित्र पर्छ । पोखरा सेतीबगरका हरि थापाले पनि फेवाताल किनार खपौंदीमा सिमखेत पुरेर घर निर्माण गरिरहेका छन् । पोखराको लेकसाइडमा किरण गुरुङले मापदण्ड मिचेर घर बनाइरहेको पोखरा लेखनाथ महानगरपालिकामा उजुरी परेको छ ।
फेवाताल किनारमा अहिले मापदण्ड मिचेर घर निर्माणमात्र होइन सिमसार क्षेत्र पुर्ने काम समेत भइरहेको छ । पोखराको पामे, चंखपुर क्षेत्रमा स्थानीयले सिमखेत पुरेर धमाधम प्लटीङ गरिरहेको महानगरमा उजुरी परेको पोखरा महानगरपालिकाका इन्जिनियर महेन्द्रबहादुर गोदारले जानकारी दिए । फेवातालको मापदण्ड मिचेर घर बनाएको, सिमसार क्षेत्र पुरेकोलगायत मापदण्ड विपरीत संरचना बनाएका ८७ वटा उजुरी महानगरमा छन् ।
मापदण्ड विपरीत संरचना बन्न रोक लगाउन महानगर असफल भएकाले फेवाताल किनारमा मापदण्ड विपरीत धेरै संरचना निर्माण भइरहेको महानगरकै कर्मचारी बताउँछन् । फेवाताल किनारका सिमसार क्षेत्र पुरेर घर निर्माण हुँदै गएपछि ताल किनारको खेतमा पानीको मूल सुक्न थालेको छ । रामसार क्षेत्रमा सूचीकृत फेवाताल किनारको ६५ मिटर भित्र कुनै संरचना बनाउन नपाइने मापदण्ड भए पनि महानगरले यसलाई कायान्वयन गर्न सकेको छैन ।
ताल किनारमा २४ फिटभन्दा अग्लो घर निर्मार्ण गर्न नपाइने भए पनि ९ तले अग्ला घर समेत बनेका छन् । प्रारम्भिक गणना अनुसार फेवातालको मापदण्ड मिचेर २ सय १७ संरचना निर्माण भएको इन्जिनियर गोदारले बताए । नयाँ तथ्यांक लिने हो भने मापदण्ड विपरीत बनेको संरचनाको तथ्यांक दोब्बर हुने महानगरकै कर्मचारी बताउँछन् । महानगर कर्मचारीकै मिलोमतोमा फेवातालमात्र होइन, बेगनास, रुपा, सेती नदी, खोला किनारमा मापदण्ड विपरीत संरचना बन्ने गरेको नागरिक समाज पोखराका सुनील पाण्डेको आरोप छ ।
जलाधार क्षेत्रमा जथाभावी मोटरबाटो खन्ने, भू–क्षय नियन्त्रणतर्फ ध्यान नदिँदा वर्षेनी हजारौं टन माटोले फेवाताल पुरिँदै गएको छ । सन् १९५७ को नापी अनुसार फेवाताल २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको थियो । सन् २००० यताका अध्ययनमा तालको क्षेत्रफल घटेर ९ हजार ९ सय ५५ रोपनी क्षेत्रफलमा सीमित रहेको र अझै घट्ने क्रममा छ ।
फेवातालको मुख्य स्रोत हर्पन खोलाहुँदै मुहान क्षेत्रमा वर्षेनी करिब १ लाख ४२ हजार मेट्रिक टन गेग्रान र माटो तालमा मिसिने गरेको अनुसन्धानले देखाएको महानगरपालिकाका इन्जिनियर गोदारले जानकारी दिए । यही गतिमा ताल पुरिँदै गए छिट्टै ताल पोखरीमा परिणत हुने संरक्षणकर्मी राजु आचार्य बाउँछन् । फेवाताल संरक्षण गर्न सबभन्दा पहिले फेवा जलाधार क्षेत्रमा हुने भू–क्षय रोक्नुको साथै सिमसार क्षेत्र पुरेर घडेरी बनाउने क्रम रोक्नु पर्ने उनको भनाइ छ ।
तालको अस्तित्व सिमसार क्षेत्रसँग प्रत्यक्ष रहने भएकाले सिमसार क्षेत्र पुरिनु तालको आयु घट्नु भएको संरक्षणकर्मी आचार्य बताउँछन् । तर महानगरको ध्यान यस तर्फ पुगेको छैन् । तालको मुहानका सिमसार क्षेत्रमा दैनिक एक दर्जनभन्दा बढी एक्साभेटर प्रयोग गरी बाटो खन्ने र सिमसार क्षेत्र पुरेर घडेरी बनाइ घर बनाउने क्रम बढेको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले तालको मापदण्ड मिचेर बनाइएको घर भत्काउने बताउँदै आए पनि मापदण्ड मिचेर घर निर्माण र सिमसार क्षेत्र पुरेर घडेरी बनाउने क्रम रोकिएको छैन । ‘सिमसार क्षेत्र पुरेर घडेरी बनाउन पाइँदैन । त्यस्ता काम तत्कालै रोकिने छ’, मेयर जिसीले भने ।
फेवाताल किनारका स्थानीयले भने सरकारले ४० वर्षदेखि मापदण्ड लगाएर लालपूर्जाको जमीन प्रयोगमा ल्याउन नदिएको आरोप लगाएका छन् । सरकारले उचित मुआब्जा दिएर जग्गा अधिग्रहण गर्नुपर्ने, कि नागरिकलाई घर बनाउन स्विकृति दिनुपर्ने माग रहेको दामोदर बरालले सुनाए ।
सर्वोच्च अदालतले हालै फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश दिएको छ । सर्वोच्चले आदेश दिए पनि फेवाताल किनारमा मापदण्ड मिचेर घर बनाउने र सिमसार क्षेत्र पुर्ने क्रम रोकिएको छैन । २०६९ सालमा फेवाताल अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिको प्रतिवदेन कार्यान्वयन गरी फेवा क्षेत्रलाई जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्न सर्वोच्चले आदेश दिएको छ ।
लामिछाने संयोजकत्वको समितिले फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको प्रतिवेदनमा उल्लेख छ । समितिले ९ सय ५० जना व्यत्तिको लालपूर्जा खारेज गर्न सिफारिस गरे पनि कार्यान्वयन हुन सकेको छैन् ।