मोदीको सम्मानमा मुक्तिनाथमा यस्तो छ तयारी

मोदीको सम्मानमा मुक्तिनाथमा यस्तो छ तयारी

बेनी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ। नेपालको २ दिने भ्रमणमा आउने मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्ने कार्यक्रम छ। उनको सम्मानमा मुस्ताङबासीले मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवं बाह्रगाउँमुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष धारा विष्टले जानकारी दिए।

‘हिन्दु र बौद्ध धर्मालम्बीको आस्थाको धरोहर मुक्तिनाथमा आउने उहाँ नै उच्च विदेशी पाहुना हुनुहुन्छ, यसले मुक्तिनाथको प्रचार विश्वव्यापी हुनेछ’, उनले भने, ‘त्यसैले उहाँको सम्मानमा हामीले कुनै कन्जुस्याँई गर्दैनौँ।’ मोदीलाई मुक्तिनाथ क्षेत्रको मौलिक कला संस्कृति देखाउने तयारी समेत भइरहेको उनले बताए। ‘तर, यी कुराहरु उहाँको समय अनुसार हुन्छ, हामीले तयारी भने गरेका छौं’, उनले थपे।

काठमाडौंबाट हेलिकोप्टरमा आउने मोदीको विशेष पूजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रंगरोगन, अति विशिष्ट कक्ष तयार, १०८ धारा, हेलिप्याड निर्माण र शौंचालयको सरसफाइ गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए। मोदीको स्वागतका लागि मुक्तिनाथ गाउँ र मन्दिर प्रवेशद्वारमा विशेष गेट बनाइएको छ।

वैशाख २९ गते हेलिकोप्टरबाट मुक्तिनाथ ओर्लेपछि मोदीले एक घण्टा विशेष पूजापाठ गर्नेछन्। पूजापाठ अघि नै उनलाई नागरिक अभिनन्दनको तयारी भइरहेको छ। उच्च विदेशी पाहुना आउने भएपछि मुस्ताङ र म्याग्दीको सीमाना घासा, मनाङको थोराङ पासमा सुरक्षा गस्ती बढाइएको छ।

‘२८ र २९ गते बेनी–जोमसोम सडक र मनाङको सीमाना थोराङ पास बन्द हुनेछ। मुस्ताङको मार्फादेखि कागबेनीसम्मका होटलहरुमा दैनिक पाहुनाको विवरण लिने काम पनि भइरहेको छ’, प्रजिअ पौडेलले भने, ‘दैनिक रुपमा सुरक्षा समितिको बैठक बस्ने गरेका छौं।’ मन्दिरमा विशिष्ट पाहुना आउँदा पूजापाठका लागि गरिने सम्पूर्ण प्रक्रियाको तयारी पूरा भएको मुक्तिनाथका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए। पढ्नुस् : मोदी मुस्ताङ जाँदा थोराङ्ला पास बन्द, पदयात्रीलाई दुई दिन रोक

‘हाम्रो देशका प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म यहाँ आएर पूजा गर्नुभएको थियो। अहिले भारतीय प्रधानमन्त्री आउनुहुने भएपछि उहाँलाई सम्पूर्ण विधि विधान पुर्‍याएर पूजापाठ गराउनेछौं’, उनले थपे, ‘मन्दिर भित्र उहाँलाई बटुकहरुले स्वागत र सम्मान दिनेछन्।’

मिनी आइसियु स्थापना

मोदीको भ्रमणलाई लक्षित गरि मुक्तिनाथमा मिनि आइसियु कक्ष स्थापना गरिएको छ। उच्च स्थानमा पुग्दा मोदीसँगै भ्रमण टोलीका सदस्यहरुलाई आउन सक्ने समस्यालाई मध्यनजर गर्दै आइसियु कक्ष स्थापना गरिएको प्रजिअ पौडेलले जानकारी दिएत्त। आइसियु कक्षमा नेपाल र भारतका विशेषज्ञ चिकित्सकहरु रहनेछन्।

‘एम्बुलेन्सहरु पनि तयारी अवस्थामा राखेका छौं’,उनले भने। आइसियु कक्षमा जिल्ला अस्पताल मुस्ताङका स्वास्थ्यकर्मीहरु समेत रहनेछन्। ‘कस्तो किसिमको जनशक्ति, पूर्वाधार र औषधीहरु चाहिने भन्ने कुरा स्वास्थ्य मन्त्रालय समन्वय गरिरहेको छ’, प्रजिअ पौडेलले भने।

रक्षामन्त्रीद्वारा जानकारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको पूर्वसन्ध्यामा रक्षामन्त्री ईश्वर पोखरेलले आइतबार जोमसोममा सुरक्षा अवस्था, स्थानीयस्तरमा भएका तयारीका बारे जानकारी लिएका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ पुगेका उनले जिल्लास्तरमा भइरहेका तयारीप्रति सन्तुष्टि व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.