अढाई दशकदेखि सुन्धारामा थोपो चुहिएन
काठमाडौं ः पुरातत्व र ऐतिहासिक महत्व बोकेको सुन्धारामा पानी नआएको अढाई दशकभन्दा बढी भइसकेको छ । धरहरासँगैको ऐतिहासिक सम्पदा सुन्धारामा पानी नआउँदा विरूप बनेको छ ।
बाह्रैमास कलकल पानी आउने सुन्धारामा कर्मचारी सञ्चय कोषको भवन बनेपछि पानी आउन बन्द भएको हो । २०५० सालतिर सञ्चय कोषको नयाँ भवन बनेको थियो । सञ्चय कोषले आधुनिक सपिङ कम्प्लेक्स काठमाडौं मल बनाएको छ । काठमाडौं मलको बोरिङले सुन्धाराको मुहान नै सुकाएको स्थानीयको दाबी छ । रत्नपार्कतिरबाट नाला हुँदै सुन्धारामा पानी आउने गरेको बुढापाकाको बुझाइ छ । सञ्चय कोषको भवन निर्माणपछि नाला बन्द भएको उनीहरूको तर्क छ ।
काठमाडौं मल बनेपछि सुन्धाराको पानी सुकेको सुन्धाराका व्यवसायी धनप्रसाद पौडेल बताउँछन् । २०५८ सालसम्म सानो धारो आइरहेको आफैंले देखेको उनले जानकारी दिए । ‘पहिले ठूलो धाराबाट कलकल पानी आउँथ्यो । मानिस त्यहाँ नुहाउनसमेत सक्दैनथे । त्यसपछि भने पानी चुहिनै बन्द भयो’, उनले भने ।
काठमाडौं मलको बोरिङबाट एउटा धारा बनाइदिने भन्ने पनि आफूले सुनेको उनले बताए । ‘काठमाडौं मलबाट एउटा धारा झार्ने भन्ने थियो । तर त्यो भनाइ मात्र रह्यो । अहिले छेउको इनारसमेत पुरिएको छ’, उनले भने । सुन्धारा, हुँदै टेकु जाने ढलसमेत लामो समयदेखि बन्द छ । ढल बन्द भएपछि सुन्धाराको पानी निकास हुने ठाउँसमेत छैन ।
२५–३० वर्ष अघिसम्म खान, लुगा धुन, नुहाउन सुन्धाराकै पानीको प्रयोग गर्ने गरेको स्थानीय प्रेम कार्कीको भनाइ छ । ‘सुन्धाराकै पानी खान्थ्यौं, नुहाउन, लुगा धुन त टाढाटाढाबाट मान्छे आउँथे’, उनले भने, ‘सुन्धारामा ठूलो पानी आउँथ्यो भन्ने एकदेशको कथा जस्तै भएको छ ।’
२०४६ सालसम्म सुन्धारामा ठूलो धारा आउने गरे पनि संरक्षणमा कसैले ध्यान नदिएको उनले बताए । ‘सबैको ध्यान धरहरातिर छ, सुन्धाराबारे कसैको ध्यान छैन’, उनले भने, ‘सुन्धारा उपेक्षित बनेको छ ।’
सुन्धारा संरक्षण समितिका अध्यक्ष शुद्धबहादुर गुरुङ नगरपालिकाकै हेलचेक्र्याइँले सुन्धारामा पानी आउन बन्द भएकाले उसैसँग यथार्थ कुरा सोध्न आग्रह गर्छन् । ‘नगरपालिकाकै कारण सुन्धारा सुकेको हो, त्यसैले सबै कुरा उतै सोध्नु होला’, अध्यक्ष गुरुङले आक्रोशित हुँदै भने ।
– स्थानीय तह र पुरातत्व विभागबाटै उपेक्षित सुन्धारा
बाह्रैमास कलकल पानी आउने सुन्धारामा कर्मचारी सञ्चय कोषको भवन बनेपछि पानी आउन बन्द भएको हो ।
गुठी संस्थानका लेखा प्रमुख दीपकबहादुर पाण्डे लामो समयदेखि सुन्धारामा पानी नआउँदा एउटा सम्पदाको अस्तित्व नै संकट परेको बताउँछन् । काठमाडौंको मध्यभागको पानीको आपूर्ति नै सुन्धाराबाट हुने गरेको विगत सुनाउँदै पाण्डे भन्छन्, ‘काठमाडौंको मध्यभागका मानिस पानी खान, नुहाउन, लूगा धुन सुन्धारा नै आउँथे ।’
तीन दशकअघिसम्म थापाथली, त्रिपुरेश्वर, टेकु, रत्नपार्कसम्मबाट पानी लिन काठमाडौंबासी सुन्धारा आउँथे । धार्मिक, सांस्कृतिक महत्व बोकेको सुन्धारामा लामो समयदेखि पानी आउन बन्द भए पनि पुरातत्व विभाग, स्थानीय तहले त्यसको संरक्षण र पुनर्निर्माणमा ध्यान दिएका छैनन् । काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकाल सुन्धारालाई केन्द्रित गरी अहिले कुनै योजना नबनेको बताउँछन् ।
धरहरा निर्माणको गुरुयोजनाभित्र नै सुन्धाराको संरक्षण, पुनर्निर्माणको काम हुने बताए । ‘सुन्धारालाई केन्द्रित गरी कुनै योजना बनेको छैन । तर धरहराको मास्टर प्लान आएको छ’, उनले भने, ‘सुन्धाराको संरक्षण पुनर्निर्माणको काम महानगरले गर्छ ।’