कायापलट भरतपुर
कहावत थियो, 'चितौनतिर फर्किएर औंला तेस्र्याउँदा पनि औलो लाग्छ।'अहिले यस्तो भयो, 'चितवनमा औलोले औंलो झर्ने होइन, औंलाको नापले जमिनको मूल्य निर्धारण हुन्छ।'
अकल्पनीय रूपमा तीव्र सहरीकरणतर्फ अघि बढेको चितवनको प्रशासनिक केन्द्र अर्थात् भरतपुरको कथा एउटा रोमाञ्चकारी उपन्यासजस्तै लाग्छ। मूलतः हेटौंडादेखि पश्चिम नारायणी नदीसम्म र नारायणगढदेखि भारतको सिमाना भिखना ठोरीसम्म फैलिएको राप्तीदुन अर्थात् राप्ती उपत्यकाको सहरीकरणको आरम्भ बिन्दु नारायणगढ बजार नै हो।
राणाकालदेखि पञ्चायती व्यवस्थाको आरम्भसम्म 'चितौन' इलाका भन्ने गरिएको यो भूभागलाई विकासको गतिमा अघि बढाउन धेरै व्यक्ति, समुदाय र सत्ता राजनीतिको अहं भूमिका देखिन्छ। पृथ्वीनारायण शाहका नाति शत्रुभञ्जन शाहले गोरखा काठमाडौंतर्फ अंग्रेजहरूको प्रवेश रोक्न चितवनको पूर्वोत्तर भाग उपरदाङगढीमा किल्ला जमाएर बसेपछिको भूभाग नै राप्ती उपत्यकाको सदरमुकाम बन्यो। राप्तीदुन विकास योजना लागू हुनुपूर्व नै झुवानी सदरमुकाम भरतपुरमा स¥यो।
भरतपुरले आफ्नो काखमा नारायणगढ बजारलाई राख्यो र आर्थिक केन्द्रको अभ्युदय गरायो। नेपालको सबभन्दा उर्वर, आर्थिक र राजनीतिक दृष्टिले पनि महŒवपूर्ण हुँदै गएको चितवनको नारायणगढ बजार उति बेला बन्दीपुरेको बजार थियो। तनहुँ बन्दीपुरका नेवारहरूले नारायणी नदीको जोखिम मोलेर नदीको किनारमा बस्ती बसाएर व्यापार सुरु गरे। चारकोसे झाडी चितवनलाई मानव बस्तीका रूपमा विकास गर्ने उद्देश्यका साथ जग्गाजमिन वितरण आरम्भ भएपछि बसेको यो बजार नै भरतपुर महानगरको श्रीगणेश हो।
यसको पूर्वकथा भयानक डरलाग्दो जंगलबाट सुरु हुन्छ र वर्तमान भरतपुर सहर हुँदै कालान्तरमा युरोपियन कुनै सहरको मोडलालिटीमा पुग्नसक्ने उत्तिकै सम्भावना बोकेको छ। यसको भौतिक अवस्था र आकर्षणका कारण यस्तै सम्भाव्यताको अनुमान गर्न सकिन्छ। छेपाराले रङ फेरेजस्तो बेलाबखत यसको रङ फेरिन्छ।
आफैंले भोगेको कुरा आफूलाई त के अचम्म लाग्छ छ र ? एकातिर नारायणी सुसाउँथ्यो, अर्कोतिर राप्ती उर्लन्थ्यो, बाघहरू गर्जन्थे, स्यालहरू चिच्याउँथे, गैंडा र अर्ना भैंसी डुक्रँदै दगुर्थे। यस्तै डरलाग्दो जंगलको बीचमा बसेको हाम्रो बस्ती अहिले सहरीकरणतर्फ दौडिरहेको छ। अहिलेको पुस्ताका लागि यी कुरा स्वैरकल्पनाजस्तै त लाग्लान् नि ?
२००८ सालको जनगणनाअनुसार १६ हजार जनसंख्या भएको चितवनको आधा जनसंख्यामा भरतपुर महानगरको पेरिफेरीमा बसोबास गर्छ। चारकोसे झाडी र १६ हजार चितवनले प्रख्यात यो भूभाग राष्ट्रिय राजनीतिको पनि केन्द्र भाग बन्दै गएको छ।
नेपालको पूर्वी भाग मेचीदेखि सुदूरपश्चिम महाकालीसम्म फैलिएको करिब तीन हजार फुट अग्लो महाभारत पर्वतको घाँचको मध्यबिन्दुमा पर्ने पार्वण्य प्रदेश हो चितवन। र, यसैको उत्तरपश्चिमी खोकिलामा हुर्किरहेको छ— भरतपुर सहर। २०१७ साल अगाडिसम्म 'चितौन' इलाका भनिने यस जिल्लाका विभिन्न भूभागलाई पाँच खण्डमा विभक्त गरिए पनि मूलतः भरतपुर महानगर रहेको क्षेत्रलाई चितौन प्रगन्ना भनिन्थ्यो। तत्कालीन प्रगन्नाहरू बैलौद, कालाबन्जारलाई पनि अहिलेको राज्य संरचनाले भरतपुर सहरभित्र समावेश गरेको चितवन, पूर्वी पश्चिमी र माडी तीन खण्डमा विभक्त छ। यसका अतिरिक्त नारायणगढ भरतपुरबाट उत्तरतर्फ मुग्लिनसम्मको पहाडी ग्रामीण भेग पनि भरतपुरको सहरीकरणसँगै उकालो चढ्दै छ।
ठ्याक्कै साठी वर्षअघि अर्थात् २०१४ सालदेखि चितवनको झाडीमा मेरो बालापन गुज्रियो। अहिलेको सहरीकरणसँगै मेरो आयु पनि उत्तराद्र्धतर्फ दौडिरहेछ। यी आँखाले चितवनको आटप्य जंगल देख्यो, विभिन्न प्रकारका रोग, शोक र भोकका दारुण चित्र पनि देख्यो र वर्तमान समयमा यसको भास्कर भविष्य पनि कल्पना गरिरहेको छ। समय यसरी पनि कुद्दो रहेछ— चितवनको विकास गति हेर्दा विद्युतीय रेलको गतिजस्तै लाग्छ।
चितवनबाट म करिब १० वर्षअघि पुगनपुग २० वर्ष प्रवासी भएँ। बेलाबखत एकदुई दिनको आइजाइलाई छोडेर यी दुई दशक चितवनको कायापलटको कालखण्ड रह्यो। जुन परिवर्तनको चेपिलो आयामको परिदृश्य हेर्नबाट म वञ्चित रहेँ र जुन दिन मैले गहिरिएर हेरँे म अत्यन्त रोमाञ्चित र उत्तेजित पनि भएँ।
नारायणी नदी उस्तै रहेछ। पुलमा उभिएर हेरेँ। अहिले 'नगरवन' नामकरण गरिएको दक्षिणतिर फर्किएँ। दियालो बंगला छोपेको जंगल र त्यसको पारिपट्टिको पहाड पनि उस्तै रहेछ। जस्तो मैले छोडेर नेपालगन्ज गएको थिएँ, सबै उस्तै रहेछ। गर्मीयामको तातो र ठन्डीयामको तुसारो पनि उस्तै, जून उस्तै, घाम उस्तै।
म त्यति बेला यज्ञपुरी उति बेलाको नाम कचपचेमा बस्थेँ। यति मात्र भनेर थाहा पाउने को पो होलान् र अब ? मुक्तिलाल चुके होलान्, केशवराज सापकोटा, भर्खरै बितेछन्। जगतबहादुर श्रेष्ठ, महेश्वरलाल आदि औंलामा गन्न सकिने नारायणगढवासी होलान्।
अहिले बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भएको 'यज्ञपुरी बागवानी फर्म'बाट पश्चिमको गहिरो फाँटको नाम कच्पचे थियो। त्यहाँ एकजना पुराना कांग्रेसी नेता होमनाथ खनालको घर थियो। मेरो पिताले नारायणगढबाट १० किमि दक्षिण चम्पानगरमा पाँच बिघा जमिन लिएर हामीलाई उनको घरमा डेरा लिएर राखेका थिए। २०१५ सालको आमचुनावमा उनले रूखको चिह्न छापिएको कागजको झन्डा दिएर म र मजस्तै फुच्चेहरूलाई 'नेपाली कांग्रेस जिन्दावाद'को नारा लगाउँदै नांगैभुतुंगै हिँडाएको झझल्को अहिले पनि आउँछ।
नारायणगढबाट दक्षिणतर्फ अनकन्टार भयानक ठूलो ढड्डीघारी, बाघ, भालु, गैंडा, मृग, हरिण, चित्तल आदिको बासस्थान। त्यस्तो आटप्य जंगलमा बसाइएको थियो बस्ती। कसरी कोरियो वैज्ञानिक नक्सा ? कसरी गरियो आवाद गुल्जार ? सम्झिँदा पनि अचम्म लाग्छ। तर, आफैंले देखेको, आफैंले भोगेको कुरा आफूलाई त के अचम्म लाग्छ छ र ? एकातिर नारायणी सुसाउँथ्यो, अर्कोतिर राप्ती उर्लन्थ्यो, बाघहरू गर्जन्थे, स्यालहरू चिच्याउँथे, गैंडा र अर्ना भैंसी डुक्रँदै दगुर्थे। यस्तै डरलाग्दो जंगलको बीचमा बसेको हाम्रो बस्ती अहिले सहरीकरणतर्फ दौडिरहेको छ। अहिलेको पुस्ताका लागि यी कुरा स्वैरकल्पनाजस्तै त लाग्लान् नि ?
आफैंले देखेको, आफैंले भोगेको कुरा आफूलाई त के अचम्म लाग्छ छ र ? एकातिर नारायणी सुसाउँथ्यो, अर्कोतिर राप्ती उर्लन्थ्यो, बाघहरू गर्जन्थे, स्यालहरू चिच्याउँथे, गैंडा र अर्ना भैंसी डुक्रँदै दगुर्थे।
२०११ सालको साउनभदौमा धादिङ, गोर्खा, लमजुङमा अत्यन्त ठूलो वर्षा भयो। बाढीपहिरोले हजारौं मानिस घरबारविहीन भए। एक प्रकारले ९० सालको वा २०७२ सालको महाभूकम्पको जस्तै राष्ट्रिय विपत्ति आयो। यही प्राकृतिक प्रकोपलाई ध्यानमा राखी तत्कालीन सरकारले राप्तीदुन विकास परियोजना लागू ग¥यो।
दक्षिण महाभारत पर्वतशृंखला र सोमेश्वर पहाडमध्ये बीचको समतल भूभाग विशाल चारकोसे झाडीमा बस्ती बसाउनु तत्कालीन सरकारका लागि चुनौतीकै विषय थियो। र, त्यो डरलाग्दो जंगलमा बस्न पनि मानिसका लागि अत्यन्त जोखिम थियो। तर, नागरिकहरूले जोखिम उठाए। राज्यले साहस गर्यो। घरबारविहीन विपन्न मानिसहरू जुनसुकै जात, भाषाभाषीका भए पनि आपसमा काँधमा काँध मिलाएर आफ्नो ठाउँको आवाद गरे। एक प्रकारले राष्ट्रिय एकताको परिचय दिए।
मिश्रीत सामाजिक संरचनामा हुर्किएका चितवनवासीको प्रेम, भ्रातृत्व र सहयोगी भावना आदिवासी थारूहरूसँग पनि उत्तिकै कायम भयो। पहाडबाट झरेका पहाडीहरूलाई त्यस्तो आटप्य डरलाग्दो ढड्डीघारीमा बसोबासका लागि सहज गराउन स्थानीय थारूहरूको पनि महत्वपूर्ण सहयोगी भूमिका थियो। न पहिचानको मुद्दा थियो, न त आरक्षण र लैंगिक समानताका झगडा नै थियो। एक प्रकारले समतावादी रूपमा आमनागरिक जो चितवनमा बसोबास गर्न ओर्लन्थे, उसले पाँच रुपैयाँको निवेदनमा पाँच बिघा जमिन फाँड्नका लागि सरकारले बुल्डोजर उपलब्ध गराइदिन्थ्यो। हिजोको त्यही वैज्ञानिक र लोककल्याणकारी कार्यक्रमको उपज हो आजको चितवन।
नारायणी नदीको काखमा 'घाटमा टक्र्याकटुक्रुक्क बसेका मलामी' जस्ता ससाना खरका झुपडीहरूको बजार आजको 'भरतपुर महानगरपालिका'। वर्षा सुरु भएपछि कुन बेला नारायणीले सोत्तर पारेर बगाउने हो भन्ने त्रासले भयभीत भएर निदाउनै नसक्ने नारायणगढवासी अहिले आलिसान महलमा रुपैयाँको रासमा निदाइरहेका होलान्। पहाडतिरबाट चितवनतिर 'औंला तेस्र्याए पनि औलो सर्ने कालापानी'का रूपमा वर्णित चितवन भोलिको सिंगापुर हो भन्दा पनि अतिशयोक्ति नहोला। सत्ताको आँखाबाट दूरदृष्टि गयो भने अथवा हिजोको सत्ताले झैं इच्छाशक्ति देखायो भने यो असम्भव विषय पनि नहुन सक्छ।
औलो, हैजा, बिफरजस्ता महामारीबाट गुज्रँदै गुज्रँदै वर्तमान चरणमा आइपुगेको चितवनको उत्थानको जग खगेरी सिँचाइ आयोजना पनि हो। २०१७ सालमा राजा महेन्द्रले 'कु' गर्नुभन्दा ठीक दुई महिनाअगाडि जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले योजना तर्जुमा गरी शिलान्यास गर्नुभएको टिकौली खगेरी नहरले पश्चिम चितवनको आर्थिक कायापलट गर्यो। नारायणगढबाट दक्षिणका हजारौं हजार बिघा जमिन सुन फल्ने खेतका रूपमा रूपान्तरित भए र ती गाउँमा फलेका सुनका दानाहरूको व्यापारले नारायणगढ बजार समृद्ध भयो।
अनौठो छ चितवनको विगत र उज्यालो छ चितवनको आगत पनि। तर, सत्ताको लुछाचुँडी र भ्रष्टाचारको चरम प्रभावले चितवनको दौड अझै रोकिएको छ। कँुजिएको छ। त्यति बेलै खगेरी सिँचाइ योजना र भरतपुर टाउन प्लानिङ आरम्भ हुनु नै चितवनले कृषि र सहरीकरणको दिशामा फड्को मार्नुको मुख्य कडी थियो।
नारायणगढबाट दक्षिणका हजारौं हजार बिघा जमिन सुन फल्ने खेतका रूपमा रूपान्तरित भए र ती गाउँमा फलेका सुनका दानाहरूको व्यापारले नारायणगढ बजार समृद्ध भयो।
नामैले चारकोसे झाडी। यो झाडी फाँडिन थालेपछि जैविक विविधताका दृष्टिले प्रकृतिमाथि भने घोर अन्याय भयो। जंगली जनावरमाथि पनि भयानक अत्याचार भयो। जब सर्वत्र बुल्डोजरले ढड्डाघारी जोत्न थालियो, कमजोर जनावरको बिचल्ली भयो। गैंडा, बाघ, भालु, हात्ती, अर्नाहरू बरन्डाभार जंगलतिर दौडिए। मृग, हरिण, चित्तलहरू बुल्डोजरले जोतेका डल्लाहरूमा लट्पटिएर पछारिए र गाउँलेहरूको सिकार भए।
२०१३ साल माघ ८ गते नेपाल सरकारद्वारा नेपाल गजेटमा राप्तीदुन जमिन बिक्रीवितरण नियम २०१३ प्रकाशित गरी आरम्भ भएको बस्ती विकास योजनाका प्रथम डाइरेक्टर कृष्ण बम मल्ल थिए। अत्यन्त शालीन, मृदुभाषी र इमानदार प्रशासकका रूपमा विख्यात कृष्ण बम मल्लको नाम मभन्दा एक दशक पुराना पुस्ताले अहिले पनि सम्मानपूर्वक लिने गर्छन्।
तत्कालीन हाकिम, बडाहाकिम, नेता, साहित्यकार, आदिलाई राजा महेन्द्रको ठाडो आदेशमा थुप्रै जग्गा बाँडियो। अहिले भरतपुर हाइटमा लीलाराज विष्ट, विश्वबन्धु थापा लगायतको अझै पनि आफ्नो मूल्यवान् मौजा बाँकी होला। धर्मराज थापालगायतले पनि मौजा प्राप्त गरेका छन्। तर, स्वयं जग्गा वितरणका अधिपति कृष्ण बम मल्ल आफूले पनि जग्गा लिएनन् र जग्गा लिन खोज्ने आफ्ना सहोदर भाइलाई पनि जग्गा दिएनन्।
यो चितवन बसोबास आरम्भकालका हरेक नागरिकको स्मृतिमा छ र सबैले उनलाई त्यागी व्यक्तिका रूपमा चित्रण गर्छन्। देवघाट सप्तगण्डकी हुँदै भारतीय सीमा त्रिवेणीघाटसम्म लमतन्न सुतेको चितवन अहिले विकासको गतिमा जसरी जुरुक्क उठेको छ। यसलाई मात्र हेर्दा हिजोका कहालीलाग्दा दिनहरू सम्झनामा आउँदैनन्। तर मेरो पुस्ताले थोरै मात्र भोगेको चितवन अहिलेको पुस्ताले कसरी बुझिरहेका होला ? मैले आफैंसँग सोधेँ।
चितवनको यस्तो कायापलटमा अर्को एउटा महत्वपूर्ण तन्तुका रूपमा नारायणगढ–मुग्लिन सडकखण्ड तेर्सियो। यसको उपस्थितिले त्रिभुवन राजपथको तयारी भएपछि नारायणगढ बजारको व्यापारिक महत्ता मात्र बढेन कि चितवन जिल्ला नै नेपालभरिकै आकर्षणको केन्द्र बन्यो।
दिन दुगुना रात चौगुनाले चितवनको मूल्यवृद्धि वर्तमान कालखण्डमा जति उकासिँदै छ, सो क्रम अझै लम्बिँदै जानाले चितवनमा पाँच रुपैयाँ जग्गा लिएर बसेका नागरिकलाई आर्थिक समृद्धिको दिशातिर बढाइरहेको स्पष्ट हुन्छ। यही हो अहिलेको भरतपुर सहर, यही हो अहिले औंलाको नापमा जमिन बिक्री हुने महँगो सहर। कसले पत्याउला र हिजो यो सहर त्यस्तो थियो भनेर ? भरतपुरको यो कायापलट एउटा रोमाञ्चकारी ऐतिहासिक घटनाक्रम हो भन्दा अतिशयोक्ति नहोला ?
प्रतिक्रिया दिनुहोस !