परम्परागत बुट्टामा आधुनिक स्पर्श

परम्परागत बुट्टामा आधुनिक स्पर्श
सुन्नुहोस्

विदेशी ब्रान्डको विकल्पमा नेपाली हस्तकला र आधुनिकता मिसाएर ‘क्विनडम ब्राइडल कुट्योर’ मार्फत दुलहीहरूको सपना साकार पार्दैछिन् फेसन डिजाइनर श्रुति राज्यलक्ष्मी सिंह।

कतिपय अवस्थामा पारिवारिक परिवेशले पनि भविष्य निर्धारण गर्छ। फेसन डिजाइनर श्रुति राज्यलक्ष्मी सिंहको जन्म र हुर्काइ एउटा यस्तो पारिवारिक परिवेशमा भयो, जहाँ नेपाली कला, संस्कृति र हस्तकलालाई निकै श्रद्धाका साथ हेरिन्थ्यो। सानैदेखि घरका अग्रजहरूले मौलिक बुट्टाहरूमा प्राण भरेको देखेर उनी हुर्किइन्।

फेसनको संसारसँग उनको साइनो तब गाँसियो, जब उनी नेपाली परम्परागत कपडाका जटिल बुट्टाहरू र एउटी दुलहीले आफ्नो विवाहको पहिरनमा महसुस गर्ने गहिरो भावनात्मक पक्षसँग मोहित हुन थालिन्। फेसन डिजाइनिङमा औपचारिक शिक्षा पूरा गरेपछि उनको मनमा एउटा हुटहुटी चल्यो— नेपाली दुलहीहरूको बजारलाई नयाँ र आधुनिक ढंगले पुनः परिभाषित गर्ने। त्यही संकल्प, परिवारको अटुट विश्वास र आधुनिकतामा परम्परागत नेपाली कला मिसाउने स्पष्ट दृष्टिकोणका साथ उनले ‘क्विनडम ब्राइडल कुट्योर’ को जग बसाइन्। यस ब्रान्डको मूल मन्त्र नै प्रत्येक दुलहीलाई उनको विशेष दिनमा ‘राजसी’ ठाँट र गौरव प्रदान गर्नु हो।

नेपालमै बसेर केही गर्ने प्रेरणा उनलाई यहाँको बजारको एउटा रिक्तताले दियो। धेरै नेपाली दुलहीहरू आफ्नो विवाहको ‘सपनाको पोसाक’का लागि विदेशी ब्रान्डहरूको भर परिरहेका थिए, किनकि उनीहरूलाई स्थानीय विकल्पहरूमा आधुनिक परिष्कृतताको कमी छ भन्ने लाग्थ्यो। तर, उनको नजरमा नेपाल त दक्ष कालिगढ र अद्वितीय कपडाहरूको खानी थियो। उनी भन्छिन्, ‘म सावित गर्न चाहन्थेँ कि ‘मेड इन् नेपाल’ शब्द आफैंमा विलासिताको मानक बन्न सक्छ। हामीले हाम्रा प्रतिभाहरू विदेश निर्यात गर्ने र आफ्ना सपनाहरू आयात गर्ने परिपाटी बदल्नुपर्छ; हामी आफ्नै देशमा ती सपनाहरू बुन्न सक्छौं भन्ने कुरा नै मेरो व्यवसायको मेरुदण्ड बन्यो।’

सुरुवाती दिनहरू पक्कै पनि सजिला थिएनन्। उच्च गुणस्तरको कच्चा पदार्थको निरन्तर आपूर्तिको व्यवस्था मिलाउनु र आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण पोसाका लागि स्थानीय डिजाइनरलाई विश्वास गर्न ग्राहकलाई मनाउनु उनका लागि ठूला चुनौती थिए। स्केचहरू बनाउँदा–बनाउँदै कति दिन बिते र हातले बुट्टा भर्दाभर्दै कति रातहरू बिते, त्यसको लेखाजोखा छैन। तर, जब उनको पहिलो ‘सिग्नेचर बेहुली’ले आफ्नो विवाहको दिन उनले तयार पारेको पोसाक लगाएर ऐना हेरिन् र आँखामा खुसीको आँसु छल्कियो, तब उनका सबै दुःखहरू ओझेलमा परे। बेहुलीले भनिन्, ‘मैले बाल्यकालदेखि कल्पना गरेको लुगा ठ्याक्कै यस्तै थियो।’ त्यो पलले उनलाई यो व्यवसायमात्र होइन, सपना साकार पार्ने माध्यम हो भन्ने आत्मविश्वास दिलायो।

नेपालको वर्तमान उद्यमशील परिदृश्यलाई हेर्दा राज्यले स्टार्टअप नीति र विभिन्न कार्यक्रममार्फत युवाहरूलाई प्रोत्साहन दिन खोजेको देखिन्छ। यद्यपि, झन्झटिलो प्रशासनिक प्रक्रिया र सिर्जनशील पुँजीको सहज उपलब्धतामा अझै धेरै काम गर्न बाँकी छ। व्यावहारिक रूपमा भन्नुपर्दा, नेपालको गार्मेन्ट र फेसन क्षेत्रमा अथाह सम्भावना छ। विशेषगरी सामाजिक सञ्जालको बढ्दो प्रभाव र गुणस्तरीय पहिरन बुझ्ने मध्यमवर्गको उदयले ‘भ्यालु–एडेड’ क्राफ्ट (जहाँ कच्चा पदार्थलाई उच्चस्तरको फेसनमा परिणत गरिन्छ) क्षेत्रलाई नेपालको भविष्यको अर्थतन्त्रको बलियो खम्बा बनाउन सकिने श्रुतिको धारणा छ।

स्वदेशमा अवसर देख्नुको साटो विदेश जान आतुर युवालाई उनी भन्छिन्, ‘नेपाल समस्याहरूको देश हो, र जहाँ समस्या हुन्छ, त्यहाँ नै समाधान खोज्ने सिर्जनशील उद्यमीका लागि अवसर लुकेको हुन्छ। अरूको देशमा गएर श्रम गर्नुभन्दा आफ्नै माटोमा शून्यबाट केही निर्माण गर्नुको गौरव र सन्तुष्टि धेरै गुणा बढी हुन्छ। जागिरमात्र नखोज्नुहोस्, बजारमा रहेका अभावहरूलाई आफ्नो रुचिले भर्ने प्रयास गर्नुहोस्। थोरैबाट सुरु गर्नुहोस्, निरन्तरता दिनुहोस् र सधैं याद राख्नुहोस् कि हाम्रो मौलिक संस्कृति र सम्पदा नै विश्व बजारमा प्रतिस्पर्धा गर्ने हाम्रो सबैभन्दा ठूलो हतियार हो।’

‘क्विनडम ब्राइडल कुट्योर’लाई दक्षिण एसियाकै एक प्रतिष्ठित ब्रान्ड बनाउने उनको सपना छ, जसका आउटलेटहरूले नेपाली हस्तकलाको सान झल्काउनेछन्। उनको लक्ष्य एउटा सानो बुटिकबाट माथि उठेर एक दिगो उत्पादन गृह निर्माण गर्नु हो, जहाँ सयौं स्थानीय महिला र कालिगडहरूले उचित पारिश्रमिक र सम्मानका साथ रोजगारी पाउनेछन्। यसरी लोप हुन लागेका हाम्रा कलाहरूको संरक्षण गर्दै र ‘ब्रान्ड नेपाल’ लाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउँदै देशको अर्थतन्त्रमा निर्यात र विलासी हस्तकलाको माध्यमबाट ठोस योगदान पुर्‍याउने उनको योजना छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.