प्रिन्टमेकिङमा भविष्य खोज्दै
लोप हुन लागेको परम्परागत मुद्रण प्रविधि ‘छापाकला’लाई जीवन्त राख्दै तिशाले कलामार्फत ऐतिहासिक सम्पदा र ढुंगेधारा संरक्षणको सन्देश फैलाउँदै आएकी छन्।
ललितकला विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी तिशा श्रेष्ठ छापाकला (प्रिन्टमेकिङ आर्ट) मा भविष्य खोजिरहेकी छन्। यस विधामा स्नातकोत्तर सकेपछि उनी पूर्ण रूपमा यसैमा सक्रिय छिन्। अन्य कलाकारले गर्ने सामान्य चित्रकलाभन्दा उनको विधा केही फरक र विशिष्ट छ। सोह्रौं शताब्दीमा पाटनको महाबौद्ध मन्दिर निर्माणमा प्रयोग भएको छापाकलाको शैलीलाई उनले आफ्ना सिर्जनामा उतार्ने प्रयास गरेकी छन्।
तिशाका अनुसार छापाकला हाम्रो परम्परागत मुद्रण प्रविधि हो, जुन डिजिटल प्रेस मेसिनहरू आविष्कार हुनुभन्दा अघि नै धार्मिक ग्रन्थहरू र चाडपर्वका पोस्टरहरू छाप्न प्रयोग गरिन्थ्यो। पछिल्लो समय यो मौलिक विधि र प्रविधि लोप हुने अवस्थामा पुगेको छ।
यस प्रविधिमा कुनै पनि सतह (जसलाई ‘म्याट्रिक्स’ भनिन्छ), त्यसमा बुट्टा खोपेर वा रसायनको प्रयोग गरी छाप तयार पारिन्छ। यो सतह काठ वा धातुको प्लेट हुन सक्छ। त्यसमा रङ लगाएर कागज वा कपडामा त्यसको छाप निकालिन्छ। प्रिन्टमेकिङ आर्ट क्यानभास पेन्टिङ जस्तो एक प्रति मात्र हुँदैन, यसबाट थुप्रै प्रतिहरू निकाल्न मिल्छ। तर, यसको अर्थ जति पनि छाप्ने भन्ने होइन; यो एउटा ‘लिमिटेड एडिसन’मा हुन्छ, जसमा कलाकारले कति प्रति छापिएको हो भन्ने संख्या उल्लेख गरी हस्ताक्षर गरेको हुन्छ।
डिजिटल मेसिनले जस्तो यसमा सजिलै छापिने होइन। यसमा रङ लगाउँदा र छाप्दा शारीरिक श्रम र समय धेरै खर्च हुन्छ। यो अलि महँगो विधा पनि हो, किनभने यसमा प्रयोग हुने मेसिन, रसायन र अन्य सामग्रीहरू खर्चिला हुन्छन्। त्यसैले पनि धेरै कलाकारहरूले स्नातकोत्तरपछि यसलाई निरन्तरता दिन सकेको देखिँदैन।
अहिले तिशाले अन्य दुई जना छापाकलाकार साथीहरूसँग मिलेर सामूहिक स्टुडियो बनाएर काम गरिरहेकी छन्। टिममा काम गर्दा एक–अर्कालाई प्रोत्साहन र सहयोग मिल्ने उनको अनुभव छ। पछिल्लो समय मानिसहरूले यस विधामा चासो देखाउन थालेका छन् र कलाका पारखी एवं खरिदकर्ताहरू पनि बढ्दै जानु सकारात्मक पक्ष हो।
फरक शैलीको कलामा रुचि राख्ने तिशा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रदर्शनी र कार्यशालाहरूमा नियमित सहभागिता जनाउँदै आएकी छन्। तीन वर्षअघि राष्ट्रिय ललितकला प्रदर्शनीमा उनले विशेष पुरस्कार प्राप्त गरेकी थिइन्। विद्यार्थी हुँदा उनले भारतमा आयोजित एक विशेष कला कार्यक्रममा पनि सहभागिता जनाएकी थिइन्।
छापाकलामा ‘प्रिन्ट एक्सचेन्ज’ कार्यक्रमहरू भइरहन्छन्, जसमा विभिन्न देशका कलाकारहरूले आफ्ना कलाकृतिहरू एकअर्कासँग साटासाट गर्छन्। उनी भन्छिन्, ‘मैले भारतमा आयोजित यस्तै एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुँदा १८ देशका ४० जना कलाकारका कलाकृतिहरू नेपालमा ल्याएर प्रदर्शन गर्ने अवसर पाएकी थिएँ। त्यसैगरी मेरो कला पनि ती १८ देशहरूमा प्रदर्शन भएको थियो।’
उनले छापाकला रोज्नुको मुख्य कारण यसका धेरै प्रतिहरू बनाएर धेरै दर्शकसम्म पु¥याउन सकिने हुनाले हो। एउटै कलालाई धेरै प्रति प्रिन्ट गरेर बिक्री गर्न सकिने भएकाले यो धेरै व्यक्तिको पहुँचमा पुग्न सक्छ। उनले विशेषगरी जनचेतनामूलक र सम्पदा संरक्षणसम्बन्धी विषयमा काम गर्छिन्। बढ्दो सहरीकरण र जनसंख्याका कारण हाम्रा प्राचीन सम्पदाहरू ओझेलमा परिरहेका छन्। उनी भन्छिन्, ‘अहिले म विशेषगरी हाम्रा प्राचीन पानीका स्रोतहरू ‘हिटी’ (ढुंगेधारा) को अवस्था र तिनको संरक्षणको आवश्यकतालाई लिएर काम गरिरहेकी छु। छापाकलाको माध्यमबाट आफ्नो सन्देश धेरै मानिससम्म पुगोस् भन्ने मेरो चाहना छ।’
प्रतिक्रिया दिनुहोस !