उच्च अदालत पाटनले गर्यो लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट
काठमाडौं : पाटन उच्च अदालतले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ। शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन र उपलब्धिहरू बारे जानकारी गराउँदै पाटन उच्च अदालतले अघिल्लो आर्थिक वर्षमा ७१ दशमलव ०५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको हो। उच्च अदालतले आर्थिक वर्ष २०८२/८३ का लागि लगतको ६६ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको थियो।
आर्थिक वर्ष २०८१/८२ बाट पाँच हजार ६०९ मुद्दा सरेको थियो भने आर्थिक वर्ष २०८२/८३ मा १० हजार ५ सय ३० नयाँ मुद्दा दर्ता भएको पाटन उच्च अदालतले जनाएको छ। जम्मा लगत १६ हजार १ सय ३९ मध्ये गत आर्थिक वर्षमा ११ हजार ४ सय ६९ वटा मुद्दा फर्छ्यौट भएको मुख्य न्यायाधीश लालबहादुर कुँवरले बताए।
पत्रकार सम्मेलनमा मुख्य न्यायाधीश कुँवरले न्यायपालिकाको पाँचौँ रणनीतिक योजना र उच्च अदालत पाटनको वार्षिक कार्ययोजनामा निर्दिष्ट गरिएका रणनीति, लक्ष्य र कार्यक्रमहरूका आधारमा कार्य सम्पादन गरिएको जानकारी दिए। अदालतले अवलम्बन गरेको प्रतियोगितात्मक सामूहिक कार्यसम्पादनको प्रयत्नका कारण धेरै सकारात्मक उपलब्धिहरू हासिल भएको उनको भनाइ छ।
उनले अदालतको इतिहासमै पहिलो पटक १८ महिना र २ वर्ष नाघेका मुद्दाहरूको संख्या शून्य मा झरेको जानकारी दिए। नयाँ दर्ता हुने मुद्दाको तुलनामा फर्छ्यौट संख्या बढी भएकाले अघिल्लो वर्षहरूको तुलनामा यस वर्ष सरेर जाने बक्यौता मुद्दाको संख्यामा निकै कमी आएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !