सुन तस्करी र सनम हत्या प्रकरणमा थुनछेक बहस जारी
विराटनगर: साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस अहिले जिल्ला अदालत मोरङमा जारी छ ।
आज विहान साढे १० बजेबाट बहस सुरु भएको हो । सरकारका तर्फबाट आठ जना सरकारी वकिलहरुले बहस गर्ने क्रम जारी रहेको स्रेस्तेदार नवराज दुलालले बताए ।
सरकारी वकिलको बहस सकिएपछि अभियुक्तहरुको पक्षमा अन्य कानुन व्यवसायीहरुले बहस गर्ने छन् । प्रतिरक्षामा बहस गर्नका लागि ७९ जना कानून व्यवसायीहरुले वकालतनामा दर्ता गराएको जानकारी दुलालले दिए ।
सुन तस्करी र सनम हत्या काण्डमा ६३ जनालाई विपक्षी बनाएर अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको थियो । जसमा ३० जना पक्राउ परेका छन् ।
३३ अभियुक्त अझै फरार रहेका छन् । पक्राउ परेका अभियुक्तसंग जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रहोवरमा बयान लिइएको थियो । ६३ अभियुक्त मध्ये पूर्व डीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरु सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल, हवल्दार अम्बरबहादुर थापामगर, जवान बिष्णु खड्का प्रहरी सेवासँग जोडिएका छन् ।
त्यस्तै अभियुक्त मध्ये टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, महाविरप्रसाद गोल्यान, लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, सम्बीरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, पुन्यप्रसाद लामा तामाङ, हेमन्त गौतम, राजु महर्जन, राजु थापा, अमरमान डंगोल र तुलाराम थारु पक्राउ परेका छन् ।