माइनस तापक्रममा मोदी स्वागतको तयारी

माइनस तापक्रममा मोदी स्वागतको तयारी

मुक्तिनाथ : बिहीबार बिहान ९ बजे मुक्तिनाथमा एक फिट हिउँ जमेको थियो। त्यतिबेला त्यहाँको तापक्रम माइनस २ डिग्री थियो। बिहानैदेखि हेलिप्याड र स्वागत गेट निर्माण गर्ने भनिए पनि दिउँसो १ बजेमात्रै काम सुरु भयो। बेमौसमी हिमपातका कारण व्यापक चिसो बढे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका लागि स्वागतको तयारी तीव्र रूपमा अघि बढेको छ।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारसम्म ६ वटा हेलिप्याड र ६ वटा स्वागत गेट निर्माण गर्ने तयारी भए पनि हिमपात र चिसोले सोचेअनुसार काम हुन नसकेको बाह्रगाउँमुक्ति क्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए। गाउँपालिकाको अगुवाइमा स्थानीय भौतिक संरचना निर्माणको काम जनप्रिय युवा क्लबले गरिरहेको छ। ‘बिहान ११ बजेसम्म यहाँ मान्छे हिँडडुल गर्न सक्ने अवस्था थिएन्। त्यसैले गेट निर्माण निकै ढिला भयो’, उनले भने, ‘मौसमले साथ दिएन।’

हेलिप्याडको रेखांकन र स्थान छनोटका लागि आएका सुरक्षा निकायको हेलिकोप्टर अवतरण गर्न नसकेर पटक–पटक जोमसोम फर्केका थिए। हिमपातले मुक्तिनाथ र कागबेनी क्षेत्रका ६ वटा बिजुलीका खम्बा ढलेपछि मुक्तिनाथमा विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको छ। इन्टरनेट र सञ्चार सम्पर्क नहुँदा जिल्ला, प्रदेश र केन्द्रसँग समन्वय गर्न समस्या भएको छ।

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल र जिल्लास्तरीय स्वागत समितिका संयोजक एवं जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्यामो गुरुङले ढलेका खम्बा तत्काल जडान गर्न निर्देशन दिए पनि सञ्चार सम्पर्क अझै भरपर्दो भएको छैन। मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङका अनुसार वैशाख अन्तिम साता हिमपात भएको यो पहिलो पटक हो। ‘मैले थाहा पाएसम्म यस्तो कहिल्यै भएको थिएन्। यति बाक्लो हिउँ त पुस÷माघमा पनि परेको थिएन’, उनले भने, ‘हिउँले विद्युत् र सञ्चारका तार अवरुद्ध बनाएकाले तयारीलाई अस्तव्यस्त बनाएको छ।’

हिमपातले मुक्तिनाथसँगै झारकोट र खिँगागाउँ सेताम्मे भएको छ। जिसस प्रमुख गुरुङले प्रतिकूल मौसमका बीच स्वागतका लागि आवश्यक तयारी गर्नुको विकल्प नभएको प्रमुख गुरुङले बताइन्। ‘सबैखाले विकल्प प्रयोग गर्दै हामीले गेट र हेलिप्याड बनाउँदै छौं। हेलिप्याडका लागि सुरक्षा निकाय खटेका छन् भने स्वागत गेटका लागि स्थानीय युवा’, उनले भनिन्।

वैशाख २९ गते बिहान हेलिकोप्टरबाट मुक्तिनाथ प्रवेशद्वार नजिकैको हेलिप्याडमा अवतरण गरेपछि मोदी पैदल मुक्तिनाथ मन्दिर पुग्ने कार्यक्रम छन्। त्यहाँ उनलाई मन्दिरका बटुकले सम्मान गर्नेछन्। प्रजिअ पौडेलले सुरक्षा निकायसँगको समन्वयमा भरपर्दो सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए। ‘नेपाल र भारतका सुरक्षा अधिकारीसँग समन्वय गरी चुस्त सुरक्षा प्रबन्धसहित मुक्तिनाथ दर्जन र पुजनको व्यवस्था मिलाउँनेछौं’, उनले भने।

प्रशासनले वैशाख २४ गते सूचना जारी गर्दै २८ र २९ गते बेनी–जोमसोम सडक, मुस्ताङ र मनाङको सीमा थोरङ्ला पास बन्द गर्ने बताए पनि सर्वत्र विरोध भएपछि २८ गते साँझ ४ बजेदेखि मुक्तिनाथ क्षेत्रमा मात्रै बन्द गर्ने निर्णय गरेको छ। ‘२९ गते उहाँले पूजापाठ गर्ने समयसम्म हामीले प्रवेश निषेध गरेका छौं। अरू समय खुला हुनेछ’, उनले भने। मोदीको भ्रमणलाई मध्यनजर गर्दै म्याग्दीको सीमानाका घासामा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथ क्षेत्रका होटलमा व्यापक निगरानी बढाइएको छ। चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। मोदीको विशेष पूजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रंगरोगन, अति विशिष्ट कक्ष तयार, १०८ धारा, हेलिप्याड निर्माण र शौचालय सरसफाइ गरिएको छ। मुक्तिनाथका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले धार्मिक पर्यटन प्रर्वद्धन हुने भएकाले मोदीलाई मूल मण्डपमै पूजा अर्चनाको व्यवस्था गरिएको जानकारी दिए।

‘अहिलेसम्म हामीले कसैलाई त्यस्तो सुविधा दिएका थिएनौं, उहाँ मुक्तिनाथ दर्शन गर्ने अहिलेसम्मकै उच्च विदेशी पाहुना हुनुहुन्छ’, उनले भने। मोदीकै भ्रमणका लागि मिनी आईसीयू कक्ष पनि स्थापना गरिएको छ। त्यहाँ नेपाली र भारतीय विशेषज्ञ स्वास्थ्यकर्मी रहनेछन्। २८ गते मुक्तिनाथमा रहेका एक दर्जन बढी होटल बन्द गरिनेछ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.