नारायणगढ-मुग्लिन सडक ‘ओभरटेकले’ घण्टौं जाम

नारायणगढ-मुग्लिन सडक ‘ओभरटेकले’ घण्टौं जाम

इच्छाकामना (चितवन) : नारायणगढ-मुग्लिन सडकखण्डको करिब ८८ प्रतिशत काम सकिएको छ। दासढुंगामा सय मिटरबाहेक आँपटारीदेखि मुग्लिननजिक चेपाङडाँडासम्म एक तहको कालोपत्रे निर्माण सम्पन्न भएको हो। सडकको अवस्था सुधार भए पनि सवारी जाम हुन भने रोकिएको छैन। केही साँघुरो पुलले अप्ठेरो भए पनि ‘ओभरटेक’ ले समस्या सिर्जना गरेको नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारीसमेत रहेका इन्जिनियर शिव खनालले बताए।

आँपटारीबाट बिहानै छुटेका सवारीसाधन दिनभर जाममा रोकिएका थिए। विपरीत दिशाबाट सवारी आएपछि सडकखण्ड नै प्रभावित हुने गरेको छ। दोहोरो सवारीसाधन चलिरहँदा पनि चालक ओभरटेक गर्छन्। दोहोरो सवारी पास नहुँदा जाम हुने गरेको हो। सडक अनुगमन क्रममा रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी प्रभुप्रसाद ढकाल सवारी हटाउन लागिपरे। ओभरटेक गर्ने साधनको चालक अनुमतिपत्रसमेत नियन्त्रणमा लिए तर जाम हुन भने छाडेन। ‘कारबाहीले मात्रै समस्या समाधान हुँदैन, चेतनास्तर बढाउन स्वयं जागरुक हुनुपर्छ’, ढकालले भने, ‘चालकले नै सजगता अपनाए आफैं ठीक हुन्छ।’

सडक आयोजनाअन्तर्गत अहिले चार वटा पुल निर्माण भइरहेको छ। उक्त सडकखण्डमा १८ वटा पुल निर्माण गर्ने योजना छ। ठेक्का सम्झौता भएपछि चार वटा पुलको काम भइरहेको छ। दासढुंगा, खानी पुल, मौरी पुल र जलवीरेमा पुल निर्माण भइरहेको छ। जलवीरेमा रौताहा कन्स्ट्रक्सनले १४ करोडमा निर्माण गर्न लागेको हो भने बाँकी ३ वटा पुल लामा कन्स्ट्रक्सनले १४ करोडमा निर्माणको जिम्मेवारी पाएको छ।

०३६ सालमा चीन सरकारको सहयोगमा गोरखा-नारायणगढ सडकको नाममा निर्माण गरिएको थियो। ०७१ चैतबाट नारायणगढ-मुग्लिन सडक स्तरोन्नतिको काम सुरु भएको हो। एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल-भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत पनि सञ्चालित नारायणगढ-मुग्लिन सडक आयोजना काम थालिएको हो।

टहरा भत्काउन प्रशासनको निर्देशन

नारायणगढ-मुग्लिन सडक छेउमा पहिरोको जोखिममा रहेका घरटहरा भत्काउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ। मुआब्जा लिएर पनि हट्न अटेर गरेका कालीखोला क्षेत्रका बासिन्दालाई तत्काल खाली गर्न आग्रह गरिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले स्थानीयलाई भेटेर बसोबास खाली गर्न आग्रह गरेको हो। पहिरोको अत्यधिक जोखिममा रहेको उक्त क्षेत्रका ३२ घरधुरीले बसोबासको टुंगो नभएको भन्दै अटेर गरेका थिए। वर्षातका बेला पहिरोको जोखिम रहेको भन्दै आफैं हट्न निर्देशन दिइएको चितवनका प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। ‘सडकको क्षेत्राधिकारभित्र जग्गामा बनाएको संरचनाको मात्रै रकम दिइएको छ’, बस्नेतले भने, ‘पहिरोको जोखिम भएपछि नहट्नुको विकल्प नै छैन।’

पहिरोले असुरक्षित भनिएका ४५ घरमध्ये कालीखोलाका बासिन्दाले मात्र अटेर गरेका हुन्। सडकको भित्ता काटेर सडक फराकिलो बनाइएको स्थानमा पहिरो खस्न थालेपछि घर असुरक्षित भएका छन्। त्रिशूली नदीतर्फको सेती दोभान, केराबारी, चोभार खोला, कालीखोला, टोपे खोलालगायत क्षेत्रका घर जोखिममा थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.