पारिजातबारे सुकन्याको खुलासा
काठमाडौं : निजी जीवनमा पारिजात आफैं पनि पितृसत्तात्मक समाजबाट पीडित थिइन्। जीवन भोगाइमा केही पुरुषहरूबाट उत्पीडनमा परेकी पारिजात सम्पूर्ण पुरुषप्रति भने कहिल्यै पूर्वाग्रह रहिनन्। विश्व समाजलाई वैचारिक धरातलमा मनन् गर्ने उनी नारीवादी विचार पनि गलत ठान्छिन्। उनको साहित्य, लेखनले नारीवादी विचारधारा बोक्दैन, किन ? किनकि सम्पूर्ण मानव जातिको मुक्तिका लागि युरोपबाट सुरु भएको नारीवादी आन्दोलनले महिलाका मुद्दा त अगाडि ल्याउँछ तर समाधानका उपाय बताउँदैन। तर पारिजात समाधान उन्मुख थिइन्।
शनिबार ‘आह्वानमा पारिजात संवाद’ विषयक गोष्ठीमा लेखक आहुतिले ‘पारिजातका विषयमा माथिको धारणा राखे। उनले भने, ‘नारीवादी आन्दोलन तीन कुरा बिना सम्भव छैन। त्यो हो, त्यस आन्दोलनको विचारधारा, नीतिगत सिद्धान्त र राजनीतिक व्यवस्था।’
संवाद कार्यक्रममा पारिजातिकी बहिनी सुकन्या वाइवाले पारिजात र उनको मित्रताका कैयौं किस्सा सुनाइन्। एकदिन पारिजातले सुकन्यालाई भन्छिन्, ‘म मरे भने तिमी के गर्छौं ? ’ सुकन्या जवाफ फर्काउँछिन्, ‘तिमी मरे म नि मरिदिन्छु,’ पारिजात झर्किन्छिन्, ‘कस्तो कायर कुरा, म मरे भने हिम्मत लिएर सबै सम्हाल्छु भन्नु छैन।’
विचारमा प्रस्ट पारिजात एक संगठित महिला आन्दोलनको अभियन्ता पनि थिइन्। उनी महिला आन्दोलनमा सधैं सक्रिय रहिन्। महिलाको मुद्दामा उनले नारीवादी विचारधारा अपनाउनुभन्दा पनि संगठित भएर काम गरिन्। उनका यस्ता कार्यले उनी सम्पूर्ण नारी जातिका अनेकन समस्याको वास्तवमै समाधान चाहन्थिन् भन्ने बुझिन्छ। आहुति अझै आफ्नो धारणा प्रष्ट पार्छन्, ‘पारिजात बाँचेको समय निकै क्रूर थियो तर पनि उनले त्यो समयको सबल नेतृत्व गरिन्।’ पारिजात सत्य बोल्ने पात्र थिइन्। साहित्य र राजनीतिलाई उनले कहिल्यै अलग ठानिनन्। आफ्नो साहित्य लेखनमा कहिले अस्तित्ववाद त कहिले शून्यवाद र कहिले प्रगतिशील विचारधारा पोखेर उनी राजनीतिक परिवर्तनको सधैं साक्षी बनिरहिन्।
आखिर पारिजात आफ्नो साहित्यमा कस्तो महिलापात्र मन पराउँथिन् ? ‘पारिजातले ‘पर्खालभित्र र पर्खालबाहिर’, ‘अनिँदो पहाडसँगै’ उपन्यासहरू लेखेर आफ्नो वैचारिक चरित्रलाई परिवर्तन गरेकी छन् तर पनि ‘शिरीषको फूल’ नै सबैको चिन्तन र मनन्को विषय बन्यो। शून्यवादी शैलीमा लेखिएको उक्त उपन्यास नै त्यो बेलाको समाजको माग थियो। शिरीषको फूलमा नारी एक कुण्ठित पात्र हुन्। उनका अन्य प्रगतिशील लेखहरूले आमजनता, श्रमिक वर्गको पक्षमा वकालत गर्छ। यद्यपि त्यतिबेलाको राज्यपक्षले ती विचारधारा आवश्यक ठानेनन्। आहुतिको ठहर छ, ‘तर पारिजातले चाहेको महिला शिरीषको फूल होइन।’