बजेट समानुपातिक विनियोजन गर्न बाँके-बर्दियाका जनप्रतिनिधिको माग
काठमाडौं : प्रदेश ५ को बाँके-बर्दियामा समानुपातिक ढंगबाट बजेट विनियोजन गर्न माग गरिरहेको छ । बाँके-बर्दियाका जनप्रतिनिधिहरुले बजेट विनियोजन समानुपातिक ढंगले गर्न माग गरेका हुन् ।
साविकको मध्य तथा सूदुरपश्चिमको केन्द्रको रुपमा रहेका बाँके-बार्दियाको विकासमा राज्यको विशेष ध्यान जानु पर्ने उनीहरुको माग छ । बाँके -बर्दियाका संचारकर्मीको संयोजनमा काठमाडौं भएको छलफलमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले बाँके-बर्दियाको विकासमा केन्द्रको प्राथमिकता पर्नु पर्ने बताए ।
उनले भारतबाट हवाई यात्राको लागि सबै भन्दा उपयुक्त रहेको नेपालगन्ज विमानस्थललाई अन्र्तराष्ट्रिय विमानस्थल बनाउन पर्ने बताए । उनले विमानस्थल, भेरी अञ्चल अस्पतालको स्तरोन्ति,अन्तराष्ट्रियस्तरको सभागृह तथा प्रदर्शनी स्थल निर्माण यस वर्षको बजेटमा पार्नु पर्ने बताए । प्रतिनिधि सभाका सांसद इस्तियाक राईले नेपालगन्जमा प्राविधिक शिक्षालय स्थापनाको लागि पहल भइरहेको बताए ।
बर्दियाका सांसद एवं पूर्व सिचाईमन्त्री संजय गौतमले बाँके र बर्दियाको विकासमा सबै जनप्रतिनिधि एक हुनु पर्ने बताए । उनले बाँके-बर्दियामा रहेका राष्ट्रिय गौरवका आयोजनालाई समय सक्न सरकारले प्रयाप्त बजेट छुट्याउनु पर्ने बताए ।
बर्दियाका सांसद बिष्णु चौधरीले राप्ती, बबई र कर्णाली नदीबाट हुने डुवान कम गर्न एकीकृत नदी नियन्त्रण आयोजना आवश्यक रहेको बताए । उनले राष्ट्रिय निकुञ्जबाट उत्पन्न हुने समस्या समाधान गर्न आवश्यक रहेको बताए । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताललाई पश्चिम नेपालको क्षेत्रीय अस्पताल बनाउन बजेट विनियोजनमा प्राथमिकतामा पार्न आग्रह गरे ।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, नेपाल पत्रकार महासंघका पूर्वमहासचिव पोषण केसी, एमाले नेता लक्ष्मण ज्ञवाली, प्रतिनिधि सभाका सदस्य नन्दलाल रोकाय पूर्णाकुमारी सुवेदी, महेश्वर गहतराज, प्रदेश सभा सदस्य आइपी खरेल, कृष्णा केसी नमूना, तिलक राम शर्मा हिमाल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस !