'बिहान नाच्‍न गएको मान्छे बेलुकी हिरो भएँ'

'बिहान नाच्‍न गएको मान्छे बेलुकी हिरो भएँ'

नेपाली फिल्म क्षेत्रमा दुई दशक बिताएका अभिनेता दिलिप रायमाझी केही समय यो क्षेत्रबाट हराए। डान्सरबाट एक्टर बनेका उनले दुई सय हाराहारी फिल्ममा अभिनय गरे। अहिले पुनः सक्रिय बन्न थालेका अभिनेता रायमाझीसँग गोपाल दाहालजयन सुब्बा मानन्धरले संवाद गरेका छन्। 

फिल्म गर्दागर्दै, चर्चित अभिनेता हुँदाहुँदै बीचमा अमेरिका हानिनुभयो। किन होला ? 

बीचमा केही समय अमेरिकातिर हराएँ।२० वर्ष फिल्ममा काम गरेपछि अलिकति मोनोटोनस पनि भयो। छोरीको पढाइका लागि पनि उता गएको हुँ।

फिल्मबाट सन्तुष्ट नभएर पनि हो कि ?

व्यावसायिक रूपमा त म सन्तुष्ट नै थिएँ तर परिवारका लागि व्यावहारिक पनि हुनुपर्छ। म एक्लैले चाहेको कुरा मात्र हुँदैन रहेछ। तर, उता गए पनि मैले डान्स सिकाएँ। यो क्षेत्रभन्दा टाढा गइनँ।

फेरि फिल्ममै फर्किनुभयो। पहिलेभन्दा अहिले के अन्तर पाउनुभएको छ, यो क्षेत्रमा ? 

छोटो समय ग्याप हुँदा पनि प्राविधिक रूपमा नेपाली फिल्म क्षेत्रमा धेरै परिवर्तन भएको महसुस हुँदोरहेछ। पहिला हामीले फुल लाइटमा सुटिङ गर्नुपथ्र्यो। घाम र रिफ्लेक्टर टल्किएर आँखा चिम्म हुन्थ्यो। अहिले कलाकारलाई छायामा राखेर खिचिन्छ। साउन्डमा पनि धेरै विकास भयो। त्यो बेला हामीले गरेको अभिनय हेर्न निकै पर्खिनुपथ्र्यो। अहिले तुरुन्तै क्यामरामा हेर्न सकिन्छ। धेरै परिवर्तन भएको छ।

डान्स रियालिटी सो .बुगी वुगी'को निर्णायक पनि हुनुहुन्छ। फिल्ममा काम पनि गर्दै हुनुहुन्छ। नयाँ योजना के–के छन् ?

अमेरिकामै छँदा .बुगी वुगी'को निर्णायक बन्न अफर आयो। त्यसपछि यहाँ आएर निर्णायकको भूमिका निर्वाह गरिरहेको छु। उता अमेरिकामा पनि नेपालीहरूको ठूलो रियालिटी सो 'मेरो डान्स कप' सिजन–२ को निर्णायक छु। 'नाइँ नभन्नू ल ५' फिल्ममा काम गरिरहेको छु भने आफैँ पनि फिल्म निर्माण गर्न वर्कआउट गरिरहेको छु।

दुवैतिर डान्स रियालिटी सोको निर्णायक हुँदा के फरक लाग्छ ?

धेरै नै फरक छ। 'बुगी वुगी'मा खतरा–खतरा डान्सरहरू छन्। प्रोफेसनल छन्। उता भने रहरले गर्ने, सिकारुहरू छन्। तर, उता नेपाली संस्कृति प्रवद्र्धन गर्ने लक्ष्य छ। 

कुनै बेला आफैँ डान्सर हुनुहुन्थ्यो। अहिले निर्णायकको कुर्सीमा बसेर सोच्दा कस्तो अनुभव हुँदोरहेछ ?

अहिलेका डान्सरहरूले 'बुगी वुगी' जस्तो धेरै राम्रो प्लेटफर्म पाएका छन्। कोेरियोग्राफरहरूले टेक्नोलोजीको प्रयोग मज्जाले गरेका छन्। स्टेजमा उनीहरूको प्रस्तुति हेर्दा मेरो जीउ सिरिङ्ङ हुन्छ। हामीले संघर्ष गर्दा यस्ता प्लेटफर्म थिएनन्। भएका भए हामी पनि निकै राम्रो गथ्र्याैं होला। जजको कुर्सीमा बस्दा यिनै कुरा सम्झिन्छु। स्टेजमा भोलिका स्टारहरू देखिरहेको हुन्छु।

डान्सरहरूको अवस्था पहिलाभन्दा राम्रो भएको हो ?

धेरै राम्रो भएको छ। हाम्रो पालामा एउटा गीतमा कोरसमा नाचेको एक हजार रुपैयाँ पाइन्थ्यो। आफैँ लुगा लिएर आउनुपर्ने, आफैँ सुटिङस्थल पुग्नुपथ्र्यो। १५ वर्षसम्म यस्तै अवस्था कायम रह्यो। अहिले त कोरस डान्सरले प्रतिदिन पाँच हजार लिन थालेका रहेछन्। डान्सलाई हरेक ठाउँमा प्राथमिकता दिइएको छ। रियालिटी सोहरू भइरहेका छन्। 

कोरस डान्सरबाट अचानक फिल्मको हिरो बन्नुभयो। अतीत सम्झँदा कस्तो लाग्छ

खासमा मैले फिल्मको हिरो नै बन्छु भन्ने सपना देखेको थिइनँ। त्यो बेला फिल्मका हिरो अग्ला–अग्ला, लामो कपाल पालेका, ठूलो ज्यान भएका हुन्थे। राजेश हमाल, धीरेन शाक्य, सुधांशु जोशीहरू हिरो भएको बेला मेरो हिरो बन्ने चान्स थिएन। एउटा कोरस डान्सर भएकाले मेरो सबैभन्दा ठूलो सपना भनेको कोरसको लिड रोलमा अगाडि नाच्ने हुन्थ्यो। 

'जिन्दगानी' फिल्मको सुटिङमा डान्स गर्दै थिएँ। निर्देशकले हिरो बन्ने हो भनेर अफर गरे। फिल्मको हिरो सुटिङमा नआएपछि मलाई अफर गरिएको थियो। मलाई त सपना देखे जस्तो लाग्यो। पछि 'आफ्नो मान्छे'मा पनि त्यसरी हिरो बनेँ। बिहान डान्स गर्न गएको मान्छे बेलुकी हिरो बनेर फर्किएँ। सम्झिँदा सपना जस्तो लाग्छ।

फिल्म .दर्पणछायाँ' मा तपार्इं र निरुता सिंहको जोडी खूब हिट भयो। ' नाइँ नभन्नू ल ५' मा तपाईंहरू सँगै काम गर्दै हुनुहुन्छ। कत्तिको नस्टाल्जिक हुनुभएको छ ? 

निरुता र मेरो सोच मिल्छ। उहाँ राम्रो अभिनय गर्ने कलाकार हो। अलि लामो समयपछि उहाँसँग काम गर्दा नर्भस भएँ। म कुनै कुरा गम्भीरतापूर्वक गर्दा सुरुमा नर्भस हुन्छु। हजारौँ पटक स्टेजमा डान्स गरेँ तर अहिले पनि स्टेज जानुअघि नर्भस हुन्छु। निरुताजी परिपक्व अभिनेत्री हो। उहाँसँग सँगै काम गर्दा मज्जा आइरहेको छ। नस्टाल्जिक त भइहालिन्छ। अतीतमा हाम्रो जोडी खूब जमेको थियो। 

अबका फिल्ममा कस्तो भूमिका गर्न मन छ ?

मैले रोमान्टिक रोल धेरै गरेँ। अब दर्शकले मलाई कमेडी रोलमा देख्नुहुनेछ। मलाई पहिलादेखि नै कमेडी रोल गर्न मज्जा लाग्छ। 

फेरि पनि फिल्मबाट पहिले जत्तिकै चर्चा कमाउँछु भन्ने लाग्छ ?

मैले राम्रो काम गरेँ भने दर्शकले सपोर्ट गर्नुहुन्छ भन्ने विश्वास छ। त्यसैले मेहनत पनि गरिरहेको छु। दर्शककै मायाले त हो, हामी टिक्ने भनेको।

नेपाली फिल्म कत्तिको हेर्नुहुन्छ ?

पहिला व्यस्तताले धेरै फिल्म हेर्दिनथेँ। आफूले अभिनय गरेका करिब दुई सयमध्ये मैले हलमा गएर पाँच–सात वटा मात्र हेरेँ होला। आफूले पहिला खेलेका फिल्म अहिले युट्युबमा खोजेर हेरिरहेको छु। अरूका फिल्म पनि हेर्छु।

अहिले आफ्ना पुराना फिल्म हेर्दा कस्तो लाग्छ ?

लाज लागेर आउँछ। कहीँ ओभरएक्टिङ छ, कतै के मिलेको छैन। अहिले सम्झिँदा गल्ती गरेछु भन्ने लाग्छ। त्यतिबेला हेरेको भए आफ्नो अभिनय सुधार्न सक्ने थिएँ। कलाकारले आफ्नो फिल्म हेरेर सुधार्नुपर्ने रहेछ भन्ने पाठ सिकेँ।

आफूले अभिनय गरेमध्ये सबैभन्दा चित्तबुझ्दो फिल्म कुन लाग्छ ? 

मैले गरेका कति फिल्म हिट भए, कति ठीकै मात्र चले। तर, आत्मसमीक्षा गर्दा 'यो चाहिँ राम्रो गरेँ' भनेर सन्तुष्ट भएको फिल्म विजय बस्नेत निर्देशित .शहीद' हो। 

फेरि अमेरिकातिरै जाने कि नेपालमै बस्ने ?
अब बढी समय नेपालमै बिताउँछु। उता पनि आउजाउ भइरहन्छ। बीचमा केही समय ग्याप भए पनि अब पूर्ण रूपमा कलाकारितामै सक्रिय बन्छु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.