३३ किलाे  सुन तस्करी प्रकरण : सनमसँगै नरेन्द्र र मोहनको पनि हत्या प्रयास

३३ किलाे  सुन तस्करी प्रकरण : सनमसँगै नरेन्द्र र मोहनको पनि हत्या प्रयास

 विराटनगर ः प्रतिवादीतर्फका कानुन व्यवसायीले ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणलाई फरक ढंगबाट व्याख्या गरेका छन्।

सुन तस्करी र सनम हत्या प्रकरणमा अभियुक्त बनाइएका उर्लाबारीकै कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेको पनि सनमसँगै हत्या प्रयास गरिएको जिकिर बुधबारको थुनछेक बहसमा कानुन व्यवसायीहरूले गरे। कार्की र काफ्लेको प्रतिरक्षामा अधिवक्ताहरू दीपक खतिवडा र रुपेश कोइरालाले जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बहस गर्दै घटनालाई फरक ढंगले व्याख्या गरेका छन्। ‘कार्की र काफ्ले घटनामा आफैं पीडित छन्’, बहस गर्दै खतिवडाले भने, ‘उनीहरूलाई नै पीडकको दर्जा दिएर अभियुक्त बनाइनु कहाँसम्मको ठिक हो ? ’

उनले मुख्य अभियुक्त बनाइएका गोरे भनिने चूडामणि उप्रेतीको समूहले सनम अपहरणमा परेको भन्दा केही दिन अघिदेखि नै दुवै जनालाई अपहरण गरेर बन्धक बनाउँदै यातना दिएको दाबी गरे। भने, ‘आफैं अपहरणमा परेर अपराधीको कब्जामा रहेका दुवैले कसरी सनमको हत्या गर्न सक्छन् ? ’ खतिवडाले सनमलाई जस्तै कार्की र काफ्लेलाई पनि नियन्त्रणमा लिँदै रूखमा बाँधेर विभिन्न यातना दिने, करेन्ट लगाउने तथा मुखमा कपडा कोचिदिने काम गरिएको दाबी गरे। ‘सनमसँगै दुवै जनालाई यातना दिने क्रममा चिच्याएको आवाज बाहिर नजाओस् भनेर गाडीभित्र राखेर मुखमा रुमाल कोच्दै करेन्ट लगाउनेसम्मको हर्कत गरिएको छ’, उनले भने, ‘उल्टै कार्की र काफ्लेलाई प्रतिवादी बनाएर सुन तस्करी र सनमको हत्या गरेको घटनासँग जोडेर प्रतिवादी बनाइयो।’

उनले धेरै अनुसन्धान गर्दासमेत केही कुरा पत्ता नलागेपछि अन्तिम समयमा आएर लाज ढाक्न भए पनि ‘गोलमोटल’ रूपमा अभियोग दर्ता गरिएको जिकिर गर्दै भने, ‘यातना दिने क्रममा दुर्भाग्यपूर्ण हिसाबबाट सनमको मृत्यु भयो। सनमको मृत्यु भएकै कारण कार्की र काफ्ले बाँच्न पाएका हुन् भन्ने प्रस्ट हुन्छ।’ घटना अनुसन्धानमा असुन्तुष्टि जनाएका अधिवक्ता कोइरालाले कार्की र काफ्लेविरुद्ध लगाइएको अभियोगलाई लाज ढाक्ने अस्त्रका रूपमा मात्रै लिन सकिने दाबी गरेका छन्। उनले मरणाशन्न हुने गरी कुटपिट गर्दै यातना दिए पनि दुवै जनालाई कुनै खालको उपचार तथा घाउजाँच केस फारमसमेत नगरिएको र उल्टै अनुसन्धानका नाममा प्रहरी हिरासतमा राखिएको जिकिर गरे।

टेकराज मल्ल ठकुरीले चलाएको स्कोरपिओबाट सनमको शव भेटिएकै दिन गत फागुन १९ गते विराटनगर ३ बाट काफ्ले र कार्की पनि पक्राउ परेका थिए। उनीहरूविरुद्ध सुन तस्करी र सनम हत्या काण्डमा अन्य अभियुक्तसँगै आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा वैशाख १९ गते दर्ता गरिएको थियो।

अधिकांश कानुन व्यवसायीले बहस गर्दै चोरी निकासी र तस्करी गरिएको भनिएको ३३ किलो सुन खोइ भनेर प्रश्न गरेका थिए।

बुधबार अभियुक्त बनाइएका प्रहरी जवान विष्णुबहादुर खड्काको तर्फबाट वरिष्ठ अधिवक्ता हिक्मत पौडेल र अधिवक्ता खगेन्द्र श्रेष्ठले बहस गरेका छन्। अधिवक्ताहरू गणेशराज लुइँटेल र नवीन कार्कीले माधव भनिने मदनप्रसाद घिमिरे तथा अधिवक्ता ज्ञानेन्द्र थापाले घिमिरे, बालकृष्ण श्रेष्ठ र हेमन्त गौतमका तर्फबाट बहस गरेका छन्। निलम्बित डीएसपी सञ्जयबहादुर राउतको तर्फबाट शिवराज चौहान, शान्तिराम भण्डारी र रामप्रसाद भण्डारीले बहस गरेका छन्।

बहसका क्रममा कानुन व्यवसायीहरूले स्थापित नै हुन नसक्ने संगठित अपराधको मुद्दा दर्ता गरेर अनुसन्धानलाई पूर्वाग्राही बनाउन खोजिएको जिकिर गरेका छन्। अधिकांश कानुन व्यवसायीले बहस गर्दै चोरी निकासी र तस्करी गरिएको भनिएको ३३ किलो सुन खोइ भनेर प्रश्न गरेका थिए। उनीहरूले मुख्य वस्तु सुन नै फेला नपरी हावादारी रूपमा अभियोग दर्ता गरिँदा मुद्दा स्थापित हुने कुनै पनि आधार नभएको टिप्पणी गरेका छन्। ‘भन्सार चोरी निकासीको कुरा आएकाले प्रमाणका रूपमा तस्करी गरेको भनिएको सामान (सुन) फेला पर्नु पर्छ कि पर्दैन? ’, वरिष्ठ अधिवक्ता पौडेलले भने, ‘सामान नै नभेटिएपछि कसरी मुद्दा स्थापित हुन्छ ? ’

कानुन व्यवसायीहरूले दर्ता गरिएजस्तो संगठित अपराध नेपालमा नहुने जिकिर पनि गरेका छन्। संगठित अपराध अन्तराष्ट्रमा मात्रै हुने बताउँदै बहसका क्रममा उनीहरूले संगठित अपराध हुन त्यसका नाइके (नेतृत्वकर्ता) र अन्तराष्ट्रियस्तरको आपराधिक संगठन हुनुपर्ने दाबी गरेका छन्।

अनुसन्धान गर्ने नाममा छानबिन समितिमा रहेकाहरूले कुटपिट गरेका र यातनासमेत दिएको भनेर कानुन व्यवसायीले बहस गरेपछि न्यायाधीश शर्माको इजलासले दिएको अनुमतिअनुसार बुधबार अभियुक्त राजन थापाको घाउजाँच केस फारम पनि गरिएको छ। त्यस्तै सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध बुधबार दोस्रो पटक १५ दिनको म्याद थप गरिएको छ। प्रहरीले झापा दमकका विमल अधिकारी र काठमाडौंका मोतिराम श्रेष्ठमाथि सुन तस्करी र सनम हत्याकाण्डमा अन्य अभियुक्तलाई जस्तै मुद्दा चलाउन अनुसन्धानका लागि म्याद थप गरेको हो। गत शुक्रबार पक्राउ परेका उनीहरूविरुद्ध तत्काल प्रहरीले पहिलो पटक पाँच दिनको म्याद थप गरेको थियो। गोरेनिकट भएर हुन्डी कारोबारमार्फत सुन तस्करीमा लगानी गर्ने गरेको भन्दै प्रहरीले अधिकारीलाई दमक र श्रेष्ठलाई दोलखाबाट पक्राउ गरेको थियो।

सरकारका तर्फबाट सरकारी वकिलहरूले गत शुक्रबार बहस सकेपछि प्रतिवादीका तर्फबाट जिल्ला अदालत मोरङमा प्रतिरक्षाका लागि बहस जारी छ। बुधबारसम्म ३५ जना कानुन व्यवसायीहरूले बहस गरिसकेका छन्। प्रतिरक्षामा बहस गर्न ६६ जना कानुन व्यवसायीले एक सय १३ वटा वकालतनामा दर्ता गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.