पर्याप्त औषधि छैन स्वास्थ्य संस्थामा

पर्याप्त औषधि छैन स्वास्थ्य संस्थामा

 जनकपुरधाम : लहान नपा १० स्थित स्वास्थ्यचौकीमा ३५ किसिमका औषधि हुनुपर्ने हो। तर, यहाँ हाल १० किसिमको औषधि पनि छैन। औषधि अभावका कारण उपचार गराउन आउने बिरामीलाई निजी औषधि पसलबाट जानू भन्नुपरेको त्यहाँ कार्यरत सिनियर अहेब इन्द्रप्रसाद पालले बताए। नगरपालिकाले खरिद गर्न नसक्दा औषधि अभाव भएको हो।

पालका अनुसार औषधि अभावकै कारण उपचार गराउन आउने बिरामीको संख्या पनि घटेको छ। ‘पहिले दैनिक ३० देखि ४० जना बिरामी उपचारका लागि आउथें’, उनले भने, ‘अहिले उपचार गराउन आउनेको संख्या ह्वात्तै घटेको छ। दैनिक ८÷१० जना मात्र आउँछन्।’ उनका अनुसार यहाँ बर्थिङ सेन्टर पनि सञ्चालन छ। तर, बर्थिङ सेन्टरका लागि आवश्यक कुनै औषधि छैन्।

लहान नगरपालिकामा रहेका कुनै पनि स्वास्थ्य संस्थामा औषधि छैनन्। नगरपालिकाले औषधि खरिद गर्न कुनै चासो नदेखाएको स्वास्थ्यकर्मीहरू बताउँछन्। नगरपालिकाले आर्थिक वर्ष सकिन मात्र दुई महिना मात्र बाँकी रहे पनि औषधि खरिदका लागि टेन्डर आह्वान गर्न सकेको छैन। लहानका मेयर मुनी साहले औषधि खरिदका लागि टेन्डर आह्वान गर्नुपर्ने विषयमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए। भने, ‘यो कुरा प्रशासन फाँटलाई थाहा होला।’

औरही गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पनि औषधि नहुँदा बिरामीहरू भारतीय बजार लदनीया पुगेर उपचार गराउन बाध्य छन्। औषधि अभावले बर्थिङ सेन्टरबाट दिने सेवा पनि प्रभावित बनेको छ। सिनियर अहेब उपेन्द्र यादवले सिटामोलसमेत नभएको बताउँछन्। उनले गाउँपालिकालाई पटकपटक पत्रचार गरे पनि विवादका कारण औषधि खरिद गर्न नसकेको बताए। उनले निःशुल्क औषधि नपाउँदा कतिपय बिरामी झगडा गर्नसमेत उत्रिने गरेको सुनाए।

सिरहाका १७ स्थानीय तहमध्ये अधिकांशले औषधि खरिद पाउन सकेका छैनन्। प्रदेश २ का सप्तरी, धनुषा, महोत्तरी, बारा, पर्सालगायत जिल्लाका स्वास्थ्य संस्थामा पनि औषधिको चरम अभाव देखिएको छ। सप्तरी खड्ग नगरपालिकामा पर्ने स्वास्थ्यचौकी खरचुहियाका इन्चार्ज श्रवण चौधरीले औषधि अभावका कारण सेवा प्रदान गर्न समस्या भइरहेको गुनासो गरे।

चौधरी भन्छन्, ‘नगरपालिकाले तत्काल केही औषधि उपलब्ध गराए पनि ८÷१० किसिमका औषधि छैनन्।’ उनले जीवनजलसमेत नभएको बताए। उनका अनुसार हेमोक्सासिलिन, सिफ्रोफ्लोक्सासिन, डोक्सी साइक्लिन, एजिथ्रोमाइसिनलगायत औषधि छैन। ४÷५ दिनपछि अधिकांश औषधि सकिने उनको भनाइ छ।

खड्ग नगरपालिकाका मेयर हेमायु हकले औषधि खरिद गर्न २४ लाख बजेट छुट्याएको बताउँदै तत्कालका लागि साढे ६ लाख बराबरको औषधि कोटेसनमार्फत खरिद गरेको जानकारी दिए। उनले बाँकी औषधि खरिद गर्न चाँडै टेन्डर आह्वान गर्ने पनि बताए। उनले तत्काल औषधिको समस्या नरहेको दाबी गरे।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले पनि औषधि खरिद गर्न सकेको छैन। यस नगरपालिकामा चार स्वास्थ्य संस्था छन्। तर, कुनै स्वास्थ्य संस्थामा औषधि छैन। औषधि नहुँदा बिरामीहरू निजी अस्पतालमा उपचार गराउन बाध्य बनेका रमदैयाका कामेश्वर साह बताउँछन्। उनी भन्छन्, ‘मन्त्रीले चर्चामा आउन औषधि निःशुल्क गर्ने भनेर नाटक मात्र गर्छन्। यहाँ त जनताले कुनै पनि औषधि निःशुल्क पाइरहेका छैनन्।’

क्षिरेश्वरनाथका मेयर योगेन्द्र पजियारले लेखाअधिकृत नहुँदा औषधि खरिद गर्न नसकेको बताए। ‘दुई महिनाअघि नै लेखाअधिकृतको सरुवा भयो’, उनले भने, ‘अहिले काजमा कृष्णदेव साहलाई पठाइएको छ। तर, उहाँ ८÷१० दिनपछि मात्र आउनुहुन्छ। त्यही भएर औषधि खरिदका लागि टेन्डर पनि आह्वान गर्न सकिएको छैन।’ लेखाअधिकृत नियमित आउन थाले चाँडै औषधि खरिद गर्न टेन्डर आह्वान गर्ने उनको भनाइ छ।

सरकारले स्वास्थ्यचौकीमा ३५, प्राथमिक स्वास्थ्य केन्द्र ५८ र जिल्ला अस्पतालहरूमा ७० प्रकारका औषधि निशुःल्क उपलब्ध गराउने भनेको छ। तर, निःशुल्क भनिएका औषधिसमेत स्वास्थ्य संस्थाहरूमा अभाव हुँदा विशेष गरी गरिब तथा दलित बिरामीहरू बढी समस्यामा परेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.