गुमनाम झरनामा पर्यटकको घुइँचो

गुमनाम झरनामा पर्यटकको घुइँचो

धनकुटा : दशकअघिसम्म साँगुरीगढी गाउँपालिका वडा नं ६ भेडेटारस्थित नमस्ते (सिम्सुवा) झरनामा पुग्न जोकोही पनि डराउँथे। घना जंगलभित्रको झरना पुग्ने बाटो साँघुरो थियो। भिरालो जमिन, ठूला चट्टान, अप्ठ्यारा बाटोहरू भएका कारण झरनास्थलसम्म पुग्न धेरै जोखिम बहन गर्नुपथ्यो।

तर, अहिले झरनास्थलसम्म पुग्ने पूर्वाधार र पर्याप्त प्रचारप्रसार भएसँगै अहिले सबैको रोजाइमा पर्न थालेको छ, नमस्ते झरना। नमस्ते झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय गन्तव्य बनेको छ।

करिव ८० मिटर माथिबाट पानी छहरा खसिरहने नमस्ते झरनाको सौन्दर्यले जोकोहीलाई पनि लोभ्याउने गर्छ। कोसी राजमार्गदेखि ३० मिनेटको पैदल यात्रापछि नमस्ते झरना पुग्न सकिन्छ।

झरनाको चिसो पानीमा रमाउन दैनिक दुई हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप सुब्बाले बताए। झरनाकै कारण यहाँका स्थानीयको जीवनस्तरमा परिवर्तन आएको उनले बताए। पर्यटकको आगमन बढेसँगै झरना जाने प्रवेशद्वार आसपास १९ ओटा होटल सञ्चालन छन्।

‘सञ्चालन भएका मध्ये ६५ प्रतिशत होटल स्थानीयको हो’, उनले भने, ‘यहाँ सञ्चालित होटल व्यवसायमा झण्डै दुई करोड रुपैयाँभन्दा बढी लगानी छ’, यहाँ सञ्चालित होटल प्रायः खाली रहँदैनन्। खचाखच हुन्छन्। सामान्य खाजानास्ता बिक्री गर्ने होटलका सञ्चालकले पनि आफ्नो परिवार पाल्न सकेका छन्।

अहिले स्तरीय लजसहितका होटल धमाधम निर्माण हुन थालेका छन्। जसमा पूर्वीतराईका होटल व्यवसायीहरू संलग्न हुन थालेका छन्। उनीहरूले जग्गा नै किनेर होटल निर्माण गर्न थालेका छन्।

स्थानीयले पनि सम्भावना देखेर नै होटल व्यवसायमा लगानी गरेका छन्। स्थानीयस्तरका उत्पादित कृषिजन्य बस्तुले बजार पाएको छ। विशेष गरी शनिबार पर्यटकको आगमन धेरै हुन्छ। शनिबारको दिन स्थानीय किसानले आलु, गोलभेडा, अदुवा, अम्लिसो कुचोजस्ता कृषिजन्य बस्तु बिक्री गर्छन्। शनिबार हाटबजार लागेजस्तै हुन्छ। झरनाको प्रत्यक्ष फाइदा स्थानीय किसानले समेत लिएका झरना व्यवस्थापन समितिका सचिव तथा होटल व्यवसायी जीवन सुब्बाले बताए।

गर्मी मौसममा झरनाको चिसो पानीमा रुझ्न यहाँ पर्यटकहरू आउने गर्छन्। गर्मी सुरु भएसँगै यस क्षेत्रमा अब दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकको भीड देखिन्छ।

तराईका मुख्य बजार इटहरी, विराटनगर, धरान, झापाका साथै भारतको सीमावर्ती बजार जोगबनी, सिक्किम, दार्जिलिङ, बिहारबाट हजारौं संख्यामा पर्यटक आउँछन्। झरना व्यवस्थापन समितिले सरसफाइ शुल्कसहित नेपालीलाई प्रतिव्यक्ति ३०, सार्क राष्ट्रका पर्यटकलाई ५५ र अन्य विदेशी पर्यटकलाई एक सय ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।

पूर्वाधार निर्माणका लागि झापाको काँकडभिट्टास्थित पर्यटन पूर्वाधार कार्यालयले धेरै लगानी गरेको छ। सो कार्यालयले ०७० सालदेखि पूर्वाधार विकासमा लगानी गरेको हो। हालसम्म पूर्वाधार निर्माणमा ६५ लाख लगानी भइसकेको अध्यक्ष सुब्बाले बताए।

सो कार्यालयले सिम्सुवा खोलामा फलामे भर्‍याङ, महिला र पुरुषका लागि चेन्जिङ रुम, साहसिक खेल क्यानोनिङका लागि आवश्यक पूर्वाधार, पिकनिक स्पट, पैदल बाटोमा फलामको रेलिङ बनाइदिएको छ।

त्यस्तै सो कार्यालयको सहयोगमा हाइकिङका लागि झरनादेखि नाम्जेको आत्माघरसम्म चार किलोमिटर बाटोमध्ये १५ सय निर्माण भइसकेको छ। बाटो निर्माणाधीन अवस्थामा छ।

एसियाली विकास बैंकले सिम्सुवा खोलामा ट्रस्ट पुल निर्माण गरिदिएको छ।

सिम नेपाल आयोजनाले शौचालय, साविक जिल्ला विकास समिति हालको जिल्ला समन्वय समितिले टिकट काउन्टर र झरना आउने पर्यटकहरूको सुविधाका लागि शौचालय निर्माण गरिदिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.