चिया खेतीमा बढ्यो आकर्षण

चिया खेतीमा बढ्यो आकर्षण

भोजपुर : परम्परागत खेतीले जीवन धान्न नसकेपछि टेम्के मैयुङ गाउँपालिकाका केही कृषकले सामूहिक रूपमा चिया खेती सुरु गरेका छन्। वर्षौँदेखि मकै, आलु र कोदो खेतीले जीवनचर्या नधानेपछि गाउँपालिकाका खावा, छिनामखु, अन्नपूर्णका किसान चिया खेतीतर्फ आकर्षित भएका हुन्।

पछिल्ला केही वर्षमा जिल्लाको उच्च र मध्य भू–भागमा बसोबास गर्ने किसानको मुख्य बाली मकैमा देखिएको रोगसँगै उत्पादनमा ह्रास आउन थालेपछि उनीहरू वैकल्पिक खेतीको रूपमा चिया खेतीतर्फ अग्रसर भएका हुन्। गाउँगाउँमा सडक सञ्जाल विस्तार भएपछि दुर्गमका कृषक परम्परागत खेती निर्वाहमुखी र आयमूलक नबनेपछि चिया खेतीमा लागेको बताउँछन्।

विगत तीन वर्षदेखि सुरु गरिएको चिया खेतीमा किसानले उत्पादन गरेको चिया स्थानीय बजारमा बिक्री हुन थालेपछि किसान आकर्षित बनेको खावाका चिया कृषक बखतबहादुर राईले बताए। ‘सुरुवाती अवस्थामा चिया खेती कसरी गर्ने भन्ने कुनै ज्ञान थिएन। एकदमै अनविज्ञ थिएँ’, राईले भने, ‘धेरै सामाजिक संघसंस्थाबाट तालिम लिने मौका मिल्यो त्यसपछि चिया खेती गर्नतर्फ लागे।’ उनले अहिले स्थानीयस्तरमै उत्पादित चियाले स्थानीय बजारमा नै राम्रो बजार पाइरहेको सुनाए।

बखतबहादुर जस्तै छिनामखुका गणेशबहादुर बस्नेतले पनि चिया खेती गरेर राम्रो आम्दानी लिन थालेका छन्। आधुनिक प्रशोधन केन्द्र काराखाना नभए पनि हरियो पत्तिबाट हाते सीप प्रयोग गरेरै चिया बनाउन थालेको बस्नेतको भनाइ छ। उनका अनुसार स्थानीय प्रविधिलाई भरपुर प्रयोग गरेर बनाइएको चिया खाने पारखी बढेकाले स्थानीय उत्पादित चिया राम्रै बजारभाउमा बिक्री भइरहेको छ।

गाउँपालिकाभरि नै चिया खेतीको सम्भाव्यता राम्रो रहेकाले पनि पछिल्लो समय यहाँका स्थानीय कृषकको चिया खेतीमा आकर्षण बढेको गाउँपालिका अध्यक्ष धु्रवराज राईले बताए। उनले स्थानीयस्तरमा बिक्री भई चर्चामा आएका चियालाई देश र विदेशमा बजारीकरण गर्न पहल भइरहेको बताए। चिया खेतीको सम्भाव्यता अध्ययन भइसकेको र त्यसलाई मास स्केलमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन वातावरण तयार गर्न गाउँपालिकाले हर प्रयास गर्ने अध्यक्ष राईले बताए।

थोरै बारीमा मात्रै परम्परागत शैलीमा चियाखेती गरिँदै आएको भए पनि पछिल्लो समय गाउँभर विस्तार हुन थालेको छ। कृषकले चिया रोपेको तीन चार वर्षमै स्थानीय चिया बिक्री गर्न थालेका छन्। उनीहरूले आफैं उत्पादन गरेको चिया प्रतिकेजी एक सय ५० रुपैयाँमा बिक्री गर्दै आएका छन्। आफैंले जानी नजानी चिया खेती गर्न सुरु गरेका यहाँका किसानले चिया उद्योग विस्तार गर्ने लक्ष्य लिएका छन्। अहिले किसान चियाको बजार प्रवद्र्धन र चिया खेतीलाई विस्तार गर्न लागि संगठित समेत हुन थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.