नयाँ हवाई प्रवेश विन्दुमा भारतकाे आलटाल
![नयाँ हवाई प्रवेश विन्दुमा भारतकाे आलटाल](https://annapurnapost.prixacdn.net/media/albums/nagarik-uddan-pradhikaran_20180523005338_YqL9QMYLuR.jpg)
काठमाडौंं ः नयाँ हवाई प्रवेश विन्दुका लागि भारतीय पक्षले आलटाल गर्दै आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक समिति र प्राधिकरणले बारम्बार नयाँ हवाई प्रवेश विन्दुका विषयमा छलफल गर्न चाहे पनि भारतीय पक्षले चासो दिएको छैन।
‘हवाई प्रवेश विन्दुका विषयमा छलफलका लागि बारम्बार पत्र पठाइएको छ’, नेपालका तर्फबाट छलफलका लागि गठन गरिएको प्राविधिक टोलीका प्रमुख दीपक बरालले भने, ‘भारतीय नागरिक उड्डयनको प्राविधिक टोलीबाट जवाफ आएको छैन।’ नयाँ हवाई प्रवेश विन्दुका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणले सन् २०१६ को डिसेम्बरदेखि भारतीय पक्षसँग छलफल सुरु गरे पनि अहिलेसम्म टुंगो लाग्न नसकेको बराल बताउँछन्।
नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गरी काठमाडौं, पोखरा, भैरहवा र निजगढ विमानस्थलमा अवतरण गराउनुपर्ने बाध्यता हुनेछ।
भारतीय पक्षसँग पूर्वका देशबाट आउने जहाज प्रवेशका लागि जनकपुर र विराटनगर विन्दु माग गरे पनि भारतीय पक्षले अहिलेसम्म स्वीकृति दिएको छैन। यसैगरी पश्चिमतर्फका देशबाट आउने जहाजका लागि नेपालले भारतीय पक्षसँग नेपालगन्ज प्रवेश विन्दु माग गरेको छ। नयाँ हवाई प्रवेश विन्दुको विषय तीन प्रधानमन्त्रीको भारत भ्रमणको मुद्दा बनिसक्दा पनि पूरा हुन सकेको छैन। यस विषयमा पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीको हैसियतामा उच्चस्तरीय छलफल गरिसकेका छन्।
मन्त्रालय र प्राधिकरणले सुरु गरेको छलफलमा पहिलोपटक भारतीय पक्षले यो विषय दुई देशको उच्चस्तरीय राजनीतिक छलफलबाट टुंगो लगाउनुपर्ने अडान लिएको थियो। भारतीय पक्षको अडानपछि मन्त्रालय र प्राधिकरणले पहिलोपटक पुष्पकमल दाहालको भारत भ्रमणमा नयाँ हवाई प्रवेश विन्दुको विषय उजागर गरेको थियो। तर, दुई देशको छलफलमा नयाँ हवाई प्रवेश विन्दु प्राविधिक विषय हो। यसलाई प्राविधिक रूपमा अध्ययन गरी टुंगो लगाउनुपर्ने भारतीय पक्षले उच्चस्तरीय छलफलबाट टुंगो लगाउने भनिएको विषय अन्यन्त्र डाइभर्ट गरेको थियो।
भारतसँगको उच्चस्तरीय छलफलमा भएको निर्णयअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय नागरिक उड्डयन प्राधिकरणले आआफ्नोतर्फबाट प्राविधिक समिति गठन गरे। समिति गठन भए पछि २०७३ असोजमा दुई पक्षीय छलफलको मिति तय भएको थियो। ‘नयाँ हवाई प्रवेश विन्दुका विषयमा हामीलाई भारतीय पक्षले छलफलमा बोलाएको थियो’, बरालले भने, ‘निर्वाचन आचारसंहिताका कारण हामी जान सकेनौं।’ त्यसपछि फेरि हामीले भारतीय पक्षलाई बारम्बार पत्र पठारहेका छौं। तर, भारतीय पक्षयले पत्रको जवाफ दिएको छैन। ’
नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गरी काठमाडौं, पोखरा, भैरहवा र निजगढ विमानस्थलमा अवतरण गराउनुपर्ने बाध्यता छ।
प्राधिकरणले फेरि मन्त्रालयमार्फत प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा नयाँ हवाई प्रवेश विन्दुको एजेन्ड बनाएको थियो। तर, प्रधानमन्त्री ओलीको भ्रमणका बेला यस विषयका छलफल हुन नसके पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा नयाँ हवाई प्रवेश विन्दुको विषय उच्चस्तरीय छलफलमा प्रवेश पाएको थियो।
छलफलमा प्रवेश भएलगतै भारतीय पक्षले यो विषय फेरि प्राविधिक टोलीले नै टुंगो लगाउने भन्दै पन्छिएको छ। भारतीय पक्षले फेरि पहिलकै कुरा दोहोरिए पनि प्राधिकरणले भारतीय पक्षलाई पत्र पठाएको बराल बताउँछन्। तर, पत्रको अहिलेसम्म कुनै जवाफ आएको छैन।
नेपालले माग गरेको हवाई प्रवेश विन्दु मध्ये नेपालगन्ज प्रवेश विन्दुका विषयमा भारतीय पक्ष सकारात्मक छैन। भारतीय पक्षले नेपालगन्ज प्रवेश विन्दु दिन त्यस क्षेत्रमा आर्मी वेस क्याम रहेको भन्दै आलटाल गरिरहेको छ। तर, भैरहवा प्रवेश विन्दुका विषयमा भने भारतीय पक्ष सकारात्मक रहेको प्राधिकरणका एयर ट्राफिक व्यवस्थापन विभाग बराल बताउँछन्।
भारतीय पक्षले भैरहवा विन्दु दिँदा धेरै उचाइबाट दिने हुँदा सिमराबाट भइरहेको प्रवेश विन्दुभन्दा खासै फरक नपर्ने प्राधिकरणको भनाइ छ। नेपालका लागि सबैभन्दा उपयुक्त प्रवेश विन्दु नेपालगन्ज हो। तर, भारतीय पक्षले नेपालगन्ज विन्दुको सट्टा अन्य विन्दु स्वीकृतिका लागि आग्रह गरेको बराल बताउँछन्। अबको छलफलमा नेपालका तर्फबाट भारतीय पक्षसँग नेपालगन्ज, भैरहवा, जनकपुर, विराटनगर र युरोप तथा पश्चिमका देशबाट आएका जहाजले महेन्द्रनगरबाट इन्ट्री हुँदै पूर्वको मेची विन्दुबाट आउट हुँदै पूर्वका देशमा जाने पाउने गरी नयाँ विन्दुका लागि छलफल हुने बराल बताउँछन्।
बंगलादेश, भारतको कोलकात्ता, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायत देशबाट आउने जहाज रोमियो ५८१ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गरिरहेका छन्। यसैगरी पश्चिमतर्फ दिल्ली, युरोप र अमेरिकाबाट आउने जहाज गल्फ ५८९ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन्। भुटानबाट आउने जहाज मेची इन्ट्री विन्दुबाट छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण गर्छन्। सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउन १४ नटिकल माइल, भैरहवा आउन एक सय ६९ नटिकल माइल र पोखरा आउन एक सय ६५ नटिकल माइल दूरी कम पर्छ। यसैगरी पूर्वका देश जानेको हकमा भने विराटनगर विन्दु मात्रै हो। नेपालबाट कोलकात्ता हङकङ र कोरिया जाने जहाजले यही विन्दु प्रयोग गर्छन्।
पारो जान काठमाडौंबाट तुम्लिङटार हुँदै मेची विन्दुबाट बाहिरिने गर्छन् भने चीनको ल्हासा जाने जहाज जुन बाटो भएर आएका छन् त्यही बाटो जाने गरेको बराल बताउँछन्। तर, पोखरा, भैरहवा र निजगढमा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छ। पश्चिमबाट आउने जहाज दिल्ली भएर नै आउँछन्। दिल्ली हुँदै आएको जहाज सिमरा हुँदै काठमाडांै, पोखरा, भैरहवा र निजगढ जाने दूरी लामो पर्छ। यी सबै विमानस्थलका लागि नेपालगन्ज प्रवेश विन्दु नै उचित हो। अहिले सञ्चालनमा रहेको सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउँदा १४ नटिकल माइल, भैरहवा आउन एक सय ६९ नटिकल माइल र पोखरा जान एक सय ६५ नटिकल माइल दूरी कम पर्ने बराल बताउँछन्।
यसैगरी नेपालले महेन्द्रनगर विन्दुबाट पनि प्रवेश माग गरिरहेको छ। यो विन्दु पाएको अवस्थामा पश्चिमका देशबाट आउने जहाजले सीधै नेपाल प्रवेश गर्न सक्ने उनको भनाइ छ। यसबाट नेपाली आकाश प्रयोग गरेबापत नेपाललाई पनि केही आम्दानी हुन्छ। अहिले युरोपबाट आउने जहाज भारतीय आकाश फन्को मार्दै पूर्व जाने गरेका छन्। भारतीय पक्ष भैरहवा, जनकपुर र विराटनगरको प्रवेश विन्दुका बारेमा लचक रहे पनि नेपालगन्जको प्रवेश विन्दुमा सकारात्मक नरहेको प्राधिकरणले जनाएको छ।
भरैहवाबाट प्रवेश विन्दु हुँदै नेपाल प्रवेश गर्दा जहाज धेरै उचाइबाट आउनुपर्ने हुन्छ। पोखरालगायत अन्य विमानस्थमा जान उचाइ कम गर्न धेरै दूरी आवश्यक पर्छ। यसका कारण भैरहवा विन्दु र सिमरा प्रवेश विन्दुमा खासै फरक नपर्ने बरालको भनाइ छ। तर, सिमरा विन्दुको तुलनामा भैरहवा विन्दुबाट प्रवेश पाउँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थ आउने जहाजका लागि एक सय ६५ नर्टिकल माइल र पोखरा आउने जहाजका लागि एक सय नर्टिकल माइल दूरी कम पर्न जान्छ। यसैगरी पूर्वबाट आएका जहाजको हकमा जनकपुर प्रवेश विन्दु सबैभन्दा उपयुक्त हो। पूर्वबाट आएका जहाजले सिमराबाट प्रवेश गरी काठमाडौंका अवतरण गर्दाभन्दा विराटनगरबाट आएर काठमाडौंका अवतरण गर्दा १६ नर्टिकल माइल दूरी कम पर्न आउँछ। यसको फाइदा एयरलाइन्स कम्पनी र यात्रु दुवैलाई हुन्छ। भारतीय पक्ष पनि सकारात्मक रहेको अवस्थामा नै नयाँ प्रवेश विन्दुको विषयमा टुंगो लगाउनुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)