कोरियाली खानासँगै संगीत र सिनेमा
काठमाडौं : केही नेपाली युवती परम्परागत कोरियाली पहिरनमा मस्किँदै सेल्फी खिच्न व्यस्त थिए । कोही परम्परागत कोरियाली खाना बनाउन सिक्दै थिए भने कोही चाख्न मस्त । कोही तेक्वादो प्रदर्शनीमा रमाइरहेका थिए भने कोही प्रदर्शनीमा राखिएका कोरियाली कपडा मोलमोलाइ गर्दै थिए ।
अवसर हो, काठमाडौंस्थित गणतन्त्र कोरियाली दूतावासको आयोजनामा शुक्रबारबाट राजधानीमा सुरु भएको पाँचदिने कोरियाली सांस्कृतिक सप्ताहको । महोत्सवमा कोरियाली खानाका परिकारमध्ये परम्परागत चामलबाट तयार गरिएको ‘हानग्वा’को स्वाद सहभागीले चाख्ने अवसर पाए । केहीले बनाउने तरिका पनि सिके भने केहीले चाखेर मात्रै रमाइलो माने ।
कोरियाली खाना ‘खिम्छी’ बनाउने तरिका सिक्नेहरू पनि देखिए भने र ‘छाब्छे’ (सखरखण्डको नुडल) बनाउने अवसर पनि प्रदान गरियो । खानामात्रै होइन कोरियाली बजार र कोरियाली परम्परागत पोसाक ‘हानबोख’ पनि प्रदर्शन गरियो । यसका साथै तेक्वान्दो प्रदर्शन लगायतका मनोरञ्जनात्मक खेल पनि प्रदर्शन गरियो ।
सोही कार्यक्रममा विगतको छनोट प्रक्रियाबाट आएका १० नेपाली युवा कोरियन भाषाको वक्तृत्वकला प्रतियोगितामा प्रतिस्पर्धा गर्दै थिए । उनीहरूको भाषा बुझ्नेहरू परर्र ताली बजाउँथे भने नबुझ्नेहरू ट्वाल्ल परेर सुनिरहन्थे ।
सन् १९७४ मा कोरिया–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएपछि हरेक वर्ष गरिँदै आएको कार्यक्रमको निरन्तरतास्वरूप उक्त कार्यक्रम आयोजना गरिएको कोरियन राजदूतावासकी तृतीय सचिव क्वन जिन सन्ले बताइन् ।
‘नेपाली युवाको कोरियाप्रतिको मोह, सांस्कृतिक आदानप्रदान, जनस्तरमा सम्बन्ध विस्तार आदि उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको हो’, उनले भनिन्, ‘त्यस्तै कोरियाली पप संस्कृतिप्रतिको नेपाली मोहलाई ध्यानमा राखेर पाँचवटा नेपाली टिमले प्रदर्शन गर्दैछन् । सबै कार्यक्रममा निःशुल्क सहभागिता र प्रवेशको व्यवस्था गरिएको छ ।’
कोरियाली खानाको स्वाद लिँदै गरेकी गोरखाकी पूजा सापकोटाले भनिन्, ‘कोरियन पोसाकमा सजिएर फोटो खिच्दा अनि कोरियन स्वादमा चिकेन खाँदा देशबाहिर घुम्न गएझैँ लाग्यो ।’ त्यस्तै, ललितपुरकी स्नेहा महर्जन कोरियाली स्वादमा बनेको पाउरोटी किन्दै थिइन् । घर लान सामान पोको पार्दै गरेकी महर्जनले भनिन्, ‘घरमा सबैलाई कोरियन स्वाद चखाउन खोज्दैछु । पक्कै सबैले मीठो मान्नुहुनेछ ।’
सांस्कृतिक सप्ताह हेर्न गएका धरानका रमेश राईको उद्देश्य भने भिन्नै थियो । कोरिया गएर छिट्टै काममा लाग्ने अनि धेरै पैसा कमाएर फर्कने उद्देश्य लिएर कोरियन भाषा परीक्षाको तयारी गरिरहेका राईले भने, ‘कोरियाबारे केही न केही थाहा पाइन्छ कि भनेर यहाँ आएको हुँ । यसपटक भाषा परीक्षा पक्कै पास हुन्छु भन्ने लागेको छ । पोहोरभन्दा राम्रो तयारी भएको छ ।’ यस्ता कार्यक्रमले दुई देशबीच सम्बन्ध सुमधुर बनाइराख्न सहज हुने उनको विश्वास छ ।
सोही कार्यक्रमअन्तर्गत पुल्चोकस्थित लबिम मलमा शनिबारदेखि कोरियाली फिल्म फेस्टिभल आयोजना गरिँदैछ । चार दिनसम्म सञ्चालन हुने फेस्टिभलमा पाँचवटा फिल्म देखाइने र यसमा पनि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
चलचित्र प्रदर्शनको पहिलो दिन एक करोड २० लाख टिकट बिक्री गर्न सफल चलचित्र ‘दी थिभ्स’ (चोरहरू) प्रदर्शन हुनेछ । रोमान्टिक कमेडी, ‘मेरी श्रीमतीको सबै चिज’, मानवअधिकारवादी ‘एक्सन सन्दिग्ध’, ‘मेरो सानदार जीवन’, ‘विकास चलचित्र’ शीर्षकका मनोरञ्जनात्मक चलचित्र हेर्न सकिनेछ । नेपालमा आयोजना गरिएको यो १४औं फेस्टिभल हो ।