नाटकबाट शिक्षा
समाजलाई चेतनशील र जागरुक बनाउने माध्यम हो, नाटक। तर अहिले भाषण गर्ने, एकअर्कालाई आरोप लगाउने र आक्रोश पोख्ने माध्यम बनेका छन् हाम्रा नाटकघरहरू। यहाँ मानिस राजनीति र स्वार्थको प्रस्तुति पस्कन थालेका छन्। तर, शिक्षा क्षेत्र यी सबै विकृतिबाट टाढै रहोस् भन्ने चाहना छ प्राडा अभि सुवेदीको।
काँडाघारीस्थित अक्षरा स्कुलमा शनिबारदेखि सुरु भएको दोस्रो काठमाडौं अक्षरा अन्तर्राष्ट्रिय बालनाटक महोत्सवमा डा. सुवेदीले यस्तो चाहना व्यक्त गरेका हुन्। प्रत्येक विद्यालयमा नाटकघर हुनुपर्ने बताउँदै डा.सुवेदीले मानवता र जीवन जिउने शैली विद्यार्थीले नाटकबाटै सिक्ने प्रष्ट्याए।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक अञ्जु भट्टराईले विभिन्न मुलुकको कला, संस्कृति र परम्परा एकअर्कामा स्थानान्तरण गर्न कार्यक्रम आयोजना गरिएको बताइन्। उनले नाटकको माध्यमबाट सिर्जनशीलता, आपसी सम्बन्ध र आत्मविश्वास बढ्नुका साथै विद्यार्थीलाई नेतृत्व लिन सक्षम बनाउन सकिने धारणा राखिन्।
अन्य देशमा नाटकको माध्यमबाट कला, संस्कृति र भाषाको ज्ञान बालबालिकालाई दिने चलन रहेको औंल्याउँदै नेपालमा पनि यस्तो शिक्षा आवश्यक भएकाले महोत्सव गरिएको नाटक महोत्सव निर्देशक टंक चौलागाईंले बताए।
महोत्सवमा नेपाल, बंगलादेश, डेनमार्क, जर्मनीलगायतका १० राष्ट्रको सहभागिता रहेको छ। कार्यक्रममा हिमाल, पहाड, तराई समेट्ने नेपाली भेषभूषा, संस्कृति र परम्परा झल्कने नृत्य पनि प्रस्तुत गरिएको थियो। नाटक महोत्सवको पहिलो दिन नेपाल र बंगलादेशका विद्यार्थीले नाटक मञ्चन गरे। नेपालले ‘ब्युटी इज अ बिष्ट’ र बंगलादेशले मृत्तिकर फुल (फ्लावर अफ द सोयल) नामक नाटक प्रस्तुत गरेका हुन्। महोत्सवको दोस्रो दिन आइतबार डेनमार्क, श्रीलंका र स्विट्जरल्यान्डका कलाकारले नाटक प्रस्तुत गर्नेछन् भने सोमबार जर्मनी, भारत, स्लोभाकिया र मंगलबार पाकिस्तान, इन्डोनेसिया लगायतका देशका नाटक प्रस्तुत गरिनेछन्।