नेकपा ? कृपया नाम फेर्नोस्

नेकपा ? कृपया नाम फेर्नोस्


कम्युनिस्ट शब्दको गलत प्रयोग, भ्रम र वकालतबारे अब बारम्बार चर्चा हुन र लेखिन जरूरी छ


यही जेठ ३ मा आफूलाई कम्युनिस्ट भन्ने नेपालका दुई ठूला दल एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेर इतिहास निर्माण गरे। तर जनतालाई फेरि पनि आफूहरू ‘कम्युनिस्ट’ हौं भनेर ढाँटे र नयाँ दलको नाम नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिदिए। अघिल्लो महिना वैशाखमा कार्ल मार्क्सको द्विशतवार्षिकीका अवसरमा देशका अधिकांश कम्युनिस्ट भनिने नेताहरूले मार्क्सको सपनालाई आफ्ना विगतका आचरण र क्रियाकलापबाट पुष्टि गरेर होइन, मिठामिठा शब्दमा बेचेर धेरै ताली खाए। उनीहरूले मार्क्सवादी दर्शनप्रति रुची हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै आउँदो एक वर्षभित्रमा १० हजार युवालाई मार्क्सवाद पढाउने उद्घोष पनि गरे।

नवनिर्मित नेकपा, पूर्व एमाले र माओवादी केन्द्रलाई कम्युनिस्ट मान्ने हो भने नेपालको झन्डै दुईतिहाइ जनमत कम्युनिस्ट छ भन्ने स्वीकार्नुपर्ने हुन्छ। तर एमाले र माओवादी दुवै जन्मँदा कम्युनिस्ट थिए होलान् तर पछि ती कुनै पनि अर्थमा कम्युनिस्ट पार्टी रहेनन्। त्यतिमात्र होइन, उनीहरूको लक्ष्य र व्यवहार दुवै ‘समाजवादप्रति प्रतिबद्ध’ संविधान निर्माण गरेर साम्यवाद (कम्युनिजम) मा पुग्ने भइदिएको भए पनि अन्तिम लक्ष्य र त्यसअनुरूपको व्यवहारका आधारमा उनीहरूले आफूलाई साम्यवादी भन्न मिल्थ्यो। तर व्यवहार निरन्तररूपमा ‘भ्रष्टाचारवादी’ र ‘याराना पुँजीवादी (क्रोनी क्यापिटलिजम)’ अनि लक्ष्यचाहीं ‘साम्यवादी’ भन्नु झूठको पराकाष्ठा, आफ्ना समर्थकहरूमाथिको बेइमानी र मार्क्सको अपमान हो। आफूलाई कम्युनिस्ट भन्ने हो भने केही आधारभूत चरित्रहरू अंगीकार गरिएकै हुनुपर्छ। नियमित आम्दानीको स्रोत नदेखाई, आयआर्जनको कुनै काम नै नगरी, महलमा बसेर ‘म सर्वहारा हुँ’ भन्न पाइँदैन। सर्वहाराको अर्थलाई आफूअनुकूल बदल्छु, ता कि महलमा बस्नेलाई पनि सर्वहारा भन्न पाइयोस् भनेर तर्क गर्न पनि मिल्दैन। मान्छेलाई बाँदर र बाँदरलाई मान्छे भन्न नमिलेजस्तै हो।

साम्यवाद भनेको समाजवादजस्तो खुकुलो दर्शन होइन जसलाई एउटै घेराभित्र विभिन्न ढंगबाट परिभाषित गर्न सकियोस्। समाजवादको घेराभित्र नेपालदेखि, चीन, डेनमार्क, क्यानाडा र न्युजिल्यान्डजस्ता संसारका विविध अर्थ–राजनीतिक स्वरूप भएका देशहरू अटाउँछन्। तर आफूलाई कम्युनिस्ट भन्ने हो भने, मार्क्सवादी, लेनिनवादी र माओवादी जे भने पनि, साम्यवादका केही आधारभूत विशेषताहरूलाई स्वीकार्नैपर्ने हुन्छ। समय बदलिएला, ती आधारभूत विशेषता बदलिँदैनन्।

(क) साम्यवादमा ‘नाफा’ समुदायको हुन्छ, पुँजीवाद अर्थात खुला अर्थतन्त्रमा ‘नाफा’ व्यक्तिको हुन्छ। साम्यवादमा कुनै पनि व्यक्तिले मैले परि श्रम गरेर कमाएको भनेर सबै आफैं राख्न पाउँदैन। हरेक व्यक्तिले गरेको आर्जन समुदायको हुन्छ र समुदायले व्यक्तिको हितको जिम्मेवारी बहन गर्छ।

(ख) साम्यवादमा हरेक व्यक्तिले आफ्नो क्षमताअनुसार समाजमा योगदान पुर्‍याउँछ र आवश्यकताअनुसार प्राप्त गर्छ, पुँजीवादमा हरेक व्यक्तिले आफ्नो क्षमताअनुसार काम गर्छ र प्राप्त लाभ आफैं राख्छ। एकजना भारी अपांगता भएको व्यक्तिले समाजमा पुर्‍याउन सक्ने योगदानको सीमितता होला तर उनले समाजबाट आवश्यकताअनुसार प्राप्त गर्ने लाभको मात्रा भने उच्च हुन्छ। उनका लागि विशेष आवास, विशेष सहयोगी तथा विशेष औषधी–उपचारको व्यवस्था गरिएको हुन्छ। अर्कोतर्फ, एकजना सबल, उद्यमशील व्यक्तिले समाजको लागि पुर्‍याउने योगदान असीमित होला तर उनका आवश्यकता भारी अपांगता भएको व्यक्तिको भन्दा न्यून हुन्छ। त्यसकारण साम्यवादमा सबल, उद्यमशील व्यक्तिले समाजलाई बढी योगदान गरेको आधारमा आफूले बढी पाउनुपर्ने दाबी गर्न मिल्दैन। उनले आफ्नो क्षमताको आधारमा गरेको योगदानबाट प्राप्त भौतिक, अभौतिक योगदान या आर्थिक ‘नाफा’ समुदायको ढुकुटीमा जान्छ र समुदायले त्यसलाई आवश्यकताअनुरूप उपयोग र वितरण गर्छ।

(ग) साम्यवाद वर्गविहीन र राज्यविहीन हुन्छ, लोकतन्त्र वर्गीय र राज्ययुक्त हुन्छ। आफ्नो क्षमताअनुरूपको योगदान र नाफाको आवश्यकताअनुरूपको वितरणबाट वर्गविहीन समाज निर्माण नै साम्यवादको मर्म हो। जब समुदायले हरेक नागरिकको हितमा काम गर्छ, राज्यको आवश्यकता नै पर्दैन भन्ने मान्यता साम्यवादले राख्छ। तर आफूलाई कम्युनिस्ट भन्ने हाम्रा धेरै नेताले वर्गीय समाजको प्रमुख कारक निजी शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा कुनै आत्मग्लानि अनुभव नगरी लगानी गरेका छन्। तिनले डा. गोविन्द केसीजस्ता सामाजिक न्यायका दृष्टिकोणबाट साम्यवादी सोच भएका होनाहारका व्यक्तिविरुद्ध विष वमन गरेका छन्।

साम्यवादको सपना बाँड्दै दसकौंदेखि गरिँदै आएको झूठको खेतीलाई अब अन्त्य नगरी भएको छैन। तर जबसम्म नेपालका पूर्णतः गैर–कम्युनिस्ट चरित्र बोकेका पार्टीहरूले आफ्नो नाममा ‘कम्युनिस्ट’ शब्द राखिरहन्छन्। नेपाली समाज ‘कम्युनिज्म’ को खोलबाट बाहिर निस्कन सक्दैन।

कतिपय, खासगरी मार्क्सवादी दर्शनका अध्येतालाई माथिको संक्षिप्त व्याख्या साम्यवादको अति सरलीकृत परम्परागत विश्लेषण झैं लाग्ला। तर साम्यवादका ती आधारभूत विशेषतालाई तोडमोड गरेर ‘म साम्यवादी हुँ’ भन्न मिल्दैन। तर नेपालमा मात्र होइन संसारभर नै आफूलाई कम्युनिस्ट भन्नेहरूमा त्यो प्रवृत्ति देखिन्छ। अब साम्यवादका अन्य विशेषतातिर नगई माथि उल्लिखित तीन मूलभूत विशेषताको परिप्रेक्ष्यमा हाम्रा मूलधारका ठूला कम्युनिस्ट पार्टी र तिनका अधिकांश नेताहरूलाई हेरौं। जुनसुकै कोणबाट हेरे पनि तिनमा कम्युनिस्टको ‘क’ पनि बाँकी छैन। तिनले बनाएको देशको संविधानमा ‘प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्य’ लाई प्रस्तावनामै सुनिश्चित गरिएको छ। त्यस्ता हक–अधिकार सुनिश्चित गर्ने संविधान बनाउनेहरूलाई कम्युनिस्ट भनेर संसारमा कहीं पनि भनिएको मलाई थाहा छैन।

नेपालको संविधानमा सम्पत्तिमाथिको व्यक्तिगत अधिकारलाई पनि सुनिश्चित गरिएको छ। यो सोच नै कम्युनिस्ट विचारको विपरीत छ। तर रमाइलो कुरा के भने, कानुनीरूपमा कमाएको मात्र होइन नेपालमा त गैर–कानुनीरूपमा कमाएको सम्पत्तिमाथिको अधिकारलाई समेत हाम्रा कम्युनिस्ट नेताहरूले सुनिश्चित गरिदिएका छन्। त्यसै भएर हो, हाम्रा अधिकांश शीर्ष भनिएका कम्युनिस्ट नेताहरूले श्रम नगरिकनै सम्पत्ति कमाउँदा पनि सम्पत्तिमाथिको हकलगायत उनीहरूका सबै अधिकार सुनिश्चित भएको। मैले एकजना भूतपूर्व कम्युनिस्ट प्रधानमन्त्रीलाई एकपटक सोधेको छु, ‘तपाईंले जिन्दगीमा आयआर्जनको काम कहिल्यै गर्दै गर्नुभएन भने पनि हुन्छ, तपाईंले सांसद, मन्त्री र प्रधानमन्त्री भएर कमाएको सम्पत्ति सबै एक ठाउँमा राख्यो भने डेढकरोड नाग्दैन होला, तर तपाईं यत्रो ऐसपूर्ण जीवन कसरी बिताइरहनुभएको छ ? ’ उनले जवाफ दिए, ‘होइन, साथीहरूले सहयोग गर्छन्।’ मैले भनें, ‘साथीहरूले ६ महिना, १ वर्ष, २ वर्षलाई सहयोग गर्लान् तर ३०–४० वर्षको राजनीतिक जीवन साथीहरूको सहयोगमा ऐसपूर्ण ढंगबाट बिताइदिने ? त्यो त भएन नि।’ ती भूतपूर्व प्रधानमन्त्रीसँग जवाफ थिएन।

२०६५ मा प्रथमपटक प्रचण्ड प्रधानमन्त्री भएपछि पूर्व एमाले र पूर्व माओवादीले दुईतिहाइ समय सरकारको नेतृत्व गरेका रहेछन्। अर्थात, गत १० वर्षमा साढे ६ वर्षभन्दा बढी कम्युनिस्टहरूको नेतृत्व थियो। सो समयमा ‘क्षमताअनुसार योगदान पुर्‍याउने र आवश्यकताअनुसार प्राप्त गर्ने’ स्वैरकल्पनाकालीन समाज निर्माण त सम्भव नै थिएन। तर ती सरकारहरूले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता आधारभूत आवश्यकता विपन्न र असहायसम्म पुर्‍याउनमा पनि कुनै ठोस भूमिका निर्वाह गर्न सकेनन्। बरू त्यो समयमा एक पैसाको आम्दानी नभएका कम्युनिस्ट नेताहरूको राम्रा–राम्रा घर बनेको र उनीहरूले राम्रा–राम्रा मोटर चढेकोचाहीं राम्रैसँग देखियो। केही समयअघिको कुरा हो, एकजना क्यान्सरपीडित युवा काठमाडौंको एउटा अस्पतालमा भर्ना भएछन्। उनीसँग क्यान्सरको उपचारका लागि आवश्यक ‘किमोथेरापी’ गर्ने पैसा रहेनछ। भएको अलिकति पैसाबाट उनले हरेक दिन चरम पीडा कम गर्न ‘पेन किलर’ खाँदै मृत्युको प्रतीक्षा गरेछन् र एकदिन एकाबिहानै देह त्याग गरेछन्–किनभने उनीसँग पैसा थिएन। गएको शीतलहरमा तराईको एउटा विपन्न बस्तीमा गरिबीका कारण वरिपरि लगभग नग्न छोराछोरीको बीचमा एकजना वृद्ध आमाले चिसोमा कठ्यांग्रिएर मृत्युवरण गरिन्–किनभने उनको परिवारसँग न्यानो लुगा किन्ने क्षमता थिएन। ती क्यान्सरपीडित युवाको कथाले र चिसोमा कठ्यांग्रिएर मृत्युवरण गर्ने आमाको व्यथाले सायदै कुनै कम्युनिस्ट नेतालाई स्पर्श गर्‍यो होला। बरू त्यो अवधिमा ती कम्युनिस्ट नेताका आफन्तले ठेक्कापट्टा पाए र उनीहरूमध्ये कतिपयले आफ्ना सन्तान–दरसन्तानका लागि जोहो गरिदिए। उता क्यान्सर र शीतलहरले नेपालीहरू मरिरहे।

साम्यवादको अभ्यासमा गैरइमानदारीमाथिको विश्लेषणमा मात्र सीमित छैन। सरकार, संसद्, न्यायालय, प्रशासन, सञ्चारमाध्यम, नागरिक समाजमाथि निरंकुशतापूर्ण तथा अर्थतन्त्रमाथि कसिलो नियन्त्रण पनि साम्यवादको नाममा गरिने विकृत अभ्यास नै हुन्। त्यसको साथमा साम्यवादको दर्शन नै प्राकृतिक नियमको विपरीत छ भन्ने पंक्तिकारको ठम्याइ हो। मान्छे प्रकृतिको अंश हो। प्रकृति भनेको १२ घन्टा उज्यालो भयो भने १२ घन्टा अँध्यारो हुन्छ, हुन्छ। त्यसमा गुण हुन्छ, र त्यसमा दोष हुन्छ। प्रकृतिको नियमलाई अलिअलि तोडमोड गर्न सकिएला तर त्यसलाई उल्ट्याउन सकिँदैन। मान्छेले जति नै प्रयास गरे पनि चौबीसै घन्टा घाम लाग्नै सक्दैन, जति नै प्रयास गरेपनि समाजलाई साम्यवादी बनाउनै सकिँदैन–किनभने त्यो प्राकृतिक नियमको विपरीत छ। साम्यवादी स्वैरकल्पना प्राकृतिक नियमका विपरीत चौबीसै घन्टा सूर्य उदाओस् भन्ने चाहना हो, जुन असम्भव छ।

हिन्दु धर्ममा परिकल्पना गरिएको ‘सत्ययुग’ कुनै दिन आयो भने त्यो स्वतः साम्यवादी चरित्रको हुनेछ, किनभने, सत्ययुगमा असत्यमाथि सत्यको जित हुनेछ, असमानता हुने छैन र वसुधैव कुटुम्बकम् (सिंगो धर्र्ती नै एक परिवार हो) को भावनामा मानवजातिले सहभाव, सहअस्तित्वपूर्ण अनि हिंसा र पीडारहित जिन्दगी जिउने छ। फरक यति हो कि, सत्ययुग विहंगम दर्शन बोकेको आध्यात्मिक परिकल्पना हो भने साम्यवाद सीमित दर्शन बोकेको भौतिक परिकल्पना हो। एक सय ७० वर्षअगाडि साम्यवादको दर्शन लेखिनुभन्दा हजारौं वर्षपहिले नै सत्ययुगका बारे परिकल्पना गर्दा हाम्रा ऋषिमुनीले सो युगमा साम्यवादको सोचलाई समाहित गरिसकेका थिए। त्यसैभएर पहिल्यैदेखि अलिकति हास्य र अलिकति व्यंग्यमि िश्रत भावमा मलाई मनमनै लाग्थ्यो, नेपालका कम्युनिस्ट पार्टीहरूले आफ्नो नाम बरू ‘नेपाल सत्ययुग पार्टी’ राखिदिए कति राम्रो हुने थियो।

तर उनीहरूका लागि साम्यवाद यति शानदार खोल हो जसले स्वार्थ, सत्तालिप्सा, भ्रष्टता र लोकमानप्रकरणदेखि गोविन्द केसीविरुद्धका उनीहरूका कर्तुतलाई सुन्दर ढंगबाट छोपिदिन्छ। परिणामतः साम्यवादको खोल ओड्ने नेताहरू सदा ‘सुखी’ र साम्यवादको दर्शनमा जानी–नजानी विश्वास गर्ने मतदाताहरू सदा ‘दुःखी’ बनिरहे। अब सत्ययुगीन स्वेरकल्पनामा आधारित साम्यवादको भ्रमबाट यो समाजलाई निकाल्नैपर्छ। भ्रम यस अर्थमा कि, जसरी सत्ययुगको अवधारणा आफैंमा महान् छ, त्यसैगरी साम्यवादको सोच आफैंमा महान त छ। तर सबै महान सोच व्यवहारमा लागू हुनसक्ने भए, गीता, बाइबल, कुरान र त्रिपिटकका सोचहरूले यो संसारलाई धेरै सुन्दर र सुसंस्कृत बनाइसक्नुपर्ने थियो तर त्यसो हुन सकेन। विशुद्धतावादी सबै आदर्श यथार्थको धरातलमा लागू हुन सक्दैन। आदर्श र यथार्थका बीच जहिले पनि आदर्श–निर्देशित सन्तुलनको आवश्यकता पर्छ। अति आदर्श र अति यथार्थ दुवै घातक हुन्छ। साम्यवादका सुन्दर पक्षहरूबाट यो संसारले धेरै सिकेको छ, साम्यवादका बारेमा संसारभर पढाइ भई नै रहनुपर्छ र त्यसबाट पुस्तौंपुस्ताले सिकी नै रहनुपर्छ। तर ती सिकाइहरू विश्वका महान धर्मग्रन्थबाट लिइने ज्ञानजस्तै हुनेछन्, जसका केही पक्षहरू अंगीकार गरिन सक्छन् तर समग्रमा ती आदर्श व्यावहारिक हुने छैनन्। साम्यवादको सपना बाँड्दै दसकौंदेखि गरिँदै आएको झूठको खेतीलाई अब अन्त्य नगरी भएको छैन। तर जबसम्म नेपालका पूर्णतः गैर–कम्युनिस्ट चरित्र बोकेका पार्टीहरूले आफ्नो नाममा ‘कम्युनिस्ट’ शब्द राखिरहन्छन्। नेपाली समाज ‘कम्युनिज्म’ को खोलबाट बाहिर निस्कन सक्दैन।

त्यसैले, नवनिर्मित नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई पंक्तिकारको विनम्र अनुरोध छ–अब पुग्यो, कृपया तपाईंहरूको पार्टीको नामबाट कम्युनिस्ट शब्द हटाइदिनोस्। आफ्ना ‘भ्रष्टाचारवादी’ र ‘याराना पुँजीवादी’ चरित्र सुधार्नुभयो भने तपाईंहरूले आफूलाई समाजवादीसम्म भन्न सक्नुहुन्छ तर कम्युनिस्ट त तपाईंहरू हुँदै होइन र भन्नै मिल्दैन। साम्यवादलाई साम्यवादी मर्मअनुरूप नै बुझेर यो देश समतामूलक र समृद्ध होस् भन्ने चाहना राख्दै तपाईंहरूलाई भोट दिने दसौं लाख नेपालीलाई धोका दिएर आफूहरू ऐसपूर्ण जीवन जिउने काम नगरिदिनोस्। तपाईंहरू जे हो, त्यही भएर प्रस्तुत हुनोस्। अति भयो, कम्युनिस्ट शब्दको गलत प्रयोग, भ्रम र वकालतबारे अब बारम्बार चर्चा हुन र लेखिन जरूरी छ।

–मिश्र विवेकशील साझा पार्टीका संयोजक तथा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.