झाडापखालाका बिरामीमा डेंगुको लक्षण

झाडापखालाका बिरामीमा डेंगुको लक्षण

तुलसीपुर : दाङको शान्तिनगरमा पाँच दिनदेखि फैलिएको झाडापखालाका बिरामीमा डेंगुको लक्षण देखिएको छ । शान्तिनगर स्वास्थ्यचौकीले उपचारका लागि रिफर गरेका दुई जना बिरामीमा डेंगुको संक्रमण देखिएको हो । बिरामीमा डेंगुको लक्षण देखिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले झाडापखाला लागेका बिरामीको नमुना बोकेर काठमाडौं फर्किएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले बिरामीमा डेंगुको लक्षण देखिएको बताए । यसको पुष्टि गर्न थप नमुना लगिएको र बिहीबारसम्म रिपोर्ट आउने उनले बताए । डेंगु भए÷नभएकोबारे परीक्षण गरेपछि मात्रै भन्न सकिने भन्दै अहिले यसै भन्न नसकिने अवस्था रहेको जानकारी दिए । डेंगु हो वा होइन भन्नेबारे नमुना रगत जाँचका लागि काठमाडौं पठाइएको पौडेलले जानकारी दिए ।

दाङ आएको महाशाखाको टोली मंगलबार प्रभावित क्षेत्रको अवस्था बुझेर बिरामीको नमुना लिएर फर्किएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोखरेलले बताए । शान्तिनगरका सुकमाया विक र शोभा विकमा यस्तो लक्षण देखा परेको जनाइएको छ । तुलसीपुरको सिटी हस्पिटलमा उपचार गराइरहेका दुवै बिरामीमा यस्तो लक्षण देखा परेको थियो । झाडापखालाको अवस्था डेंगुको संक्रमण कसरी भयो भन्नेबारे भने बहस देखिएको छ ।

सामान्य बन्दै झाडापखाला

झाडापखाला पूर्णरूपमा नियन्त्रणमा आउन नसके पनि सामान्य अवस्थातर्फ गइरहेको छ । ‘शुक्रबारदेखि फैलिएको झाडापखालाका बिरामी मंगलबारसम्म पनि स्वास्थ्यचौकी जाने क्रम रोकिएको छैन’, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले भने, ‘अवस्था सामान्यतर्फ उन्मुख छ ।’

शान्तिनगर गाउँपालिका वडा नम्बर ३ र ४ का विभिन्न स्थानमा फैलिएको झाडापखाला पिउने पानीको कारण भएको प्रमाणित भइसकेका छ । हालसम्म झाडापखालाका बिरामीको संख्या एक हजार ६ सय ३१ पुगेको छ । पाँच दिनमा एक हजार ६ सय ३१ जना बिरामीको उपचार गरिएको पुनले बताए । एक हजार एक सय १४ महिला र पाँच सय १७ पुरुष बिरामी भएका छन् ।

अझै खोलिएन खानेपानीको पाइप

झाडापखाला फैलिएको क्षेत्रमा विगतदेखि पानी खुवाउँदै आएको माइली पानी खानेपानी संस्थाले मंगलबारसम्म पनि धारामा पानी वितरण गर्न सकेको छैन । पानीको मुहान र धारालाई पूर्णरूपमा सरसफाइ र शुद्धीकरण गर्ने कार्य जारी रहेकाले पानी वितरण गर्न केही दिन लाग्ने अध्यक्ष माधव बस्यालले बताए । पानीको समस्या भएपछि शान्तिनगरमा तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर खानेपानी संस्थाले ट्यांकरमार्फत पानी वितरण गरिरहेको छ । पातेटाकुरा, गाहाटोल, एकली, गिधनीयालगायत बस्तीमा प्रत्येक घरमा दुई गाग्री पानी वितरण गरिएको प्रहरी चौकी चिराघाटले जनाएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.