जिपलाई साइड दिँदा बस दुर्घटना : १४ को मृत्यु

जिपलाई साइड दिँदा बस दुर्घटना : १४ को मृत्यु

लक्ष्मण पोखरेल/कृष्ण पोखरेल

 बुटवल/तानसेन : तानसेनबाट रामपुर जाँदै गरेको बस शुक्रबार रम्भा गाउँपालिका- ४ हुमिनमा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ। घटनामा १० जना घाइते भएका छन्। सडकबाट बस खस्दा ११ जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

मृत्यु हुनेमा तानसेन नगरपालिका ४ का विष्णुमान बज्राचार्य, तानसेन ३ का देवेन्द्रलाल प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य, तानसेन ३ का छत्रमान शाक्य, तानसेन ६ का सुशीलप्रसाद श्रेष्ठ, तानसेन ४ का डिभिजन सहकारी कार्यालयका प्रमुख कृष्णबहादुर बोहोरा, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन २ का लोकनाथ ढकाल, तानसेन ३ का बसन्ती खाँण, तानसेन ६ का गीता बुढाथोकी, तानसेन ६ का सचीन बज्रार्चाय, तानसेन ३ की कमला कार्की, तानसेन ५ की दुर्गादेवी श्रेष्ठ र तानसेन २ की मुना सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृत्यु हुने सबै तानसेन नगरपालिकाका बासिन्दा भएकोले तानसेन शोकाकुल छ।

घटनापछि शुक्रबार तानसेन बजार बन्दजस्तै भयो। अविरल वर्षाको कारण उद्धारमा समेत कठिनाइ भएको थियो। साँघुरो सडकमा जीपलाई साइड दिने क्रममा जमिन भासिएपछि लु २ ख ९७५ नम्बरको बस बिहान साढे नौ बजे सडकबाट करीब १ सय ५० मिटर तल खसेको थियो। गम्भीर घाइते रहेका बस चालक अर्जुन थापा, प्रवीन बज्राचार्य र सन्तम बज्राचार्य थप उपचारको लागि हलिकोप्टरबाट काठमाडौं लगिएको छ।

दुर्घटनामा परी सवारी चालक अर्जुन थापा, सहचालक विमल रञ्जन, प्रफुल्ल शर्मा, उत्तमकुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु, प्रवीण बज्राचार्य, सन्तम बज्राचार्य र पूर्णमाया महर्जन घाइते भएका छन। घाइतेमध्ये प्रवीण बज्रार्चाय, ओम मलेगो, मुना सारुको लुम्बिनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भइरहेको छ।

ओइल्यायो स्वागतको पुष्पगुच्छा
तानसेनको लक्ष्मी सहकारी संस्थाको टोली भ्रमणमा आउने भएपछि रामपुरको अन्धकार मुक्ति सहकारीका कर्मचारीले बिहानै पुष्पगुच्छा तयार पारिरहेका थिए। डिभिजन सहकारीका प्रमुख कृष्णबहादुर बोहोरा र सहकारीका अध्यक्ष विष्णुमान बज्राचार्यलाई खादा र मायाको चिनो समेत तयार थियो। तर, स्वागतका लागि तयार परिएको पुष्पगुच्छा त्यसै ओइलायो। खाजा खाने पाहुना कहिल्यै नआउने गरी बिदा भए।

सहकारी डिभिजन प्रमुखसहितको टोलीलाई स्वागत गर्न बसेका सहकारीका सेयरधनी र कर्मचारीले खबर पाए- हुमिनमा बस दुर्घटनामा भयो। उत्सव जस्तै रहेको सहकारीको वातावरण एकाएक शोकमा डुब्यो। जिल्लाकै उत्कृष्ट सहकारी हेर्न पुगेका लक्ष्मी सहकारीको टोली दुर्घटनामा परेपछि तानसेनसँगै रामपुर पनि शोकमा डुबेको छ।

‘दुर्घटनाको खबरले रामपुर शोकमा डुबेको छ’, अन्धकार मुक्ति सहकारीका अध्यक्ष तीर्थ पंगेनीले अन्नपूर्णसँग भने, ‘स्वागतका लागि बसेका हामीहरू झन् शोकमा छौं।’ आर्यभञ्ज्याङ हुँदै रामपुर हिंडेको टोलीलाई सहकारीबारे जानकारी दिने कार्यक्रम तय भएको थियो। उत्कृष्ट सहकारी भएकाले मुक्ति सहकारीमा भ्रमणमा आउने टोली थुप्रै हुन्छन्। लक्ष्मी सहकारीका अध्यक्षले केही दिनअघिमात्रै भ्रमणबारे जानकारी दिएका थिए। तर सहकारी घुम्ने उनीसहित १४ जनाको सपना अधुरै रह्यो।

‘हामीकहाँ सञ्चालन भएका कार्यक्रम र योजना हेरेर आफ्नो सहकारीको विकास गर्ने भन्नुभएको थियो, विडम्बना आउनै सक्नुभएन, पंगेनीले भने। लक्ष्मी सहकारीको भ्रमण टोली चढेको गाडी दुर्घटनाको खबर साढे नौ बजेतिर रामपुर पुगेको थियो। अफ्ठेरो स्थान, लगातारको वर्षाका कारण घाइतेले समेत समयमा उद्धार पाउन सकेनन् र मृतकको संख्या १४ पुग्यो।

लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बज्राचार्य सहकारीका पदाधिकारी, सेयर सदस्य, कर्मचारीहरूसहित २५ जनाको टोली दुई दिने अध्ययन अवलोकनका लागि बिहान ७ बजे सदरमुकाम तानसेनबाट पूर्वी पाल्पाको रामपुर प्रस्थान गरेका थिए। आर्यभञ्ज्याङ रामपुर सडक खण्ड साँघुरो हुँदा यहाँ हरेक वर्ष दुर्घटना हुने गरेको छ। वर्षायाममा झन् जोखिम हुने स्थानीयहरू बताउँछन्।

‘जिपलाई साइड दिँदा पल्टियो’

-पूर्णमाया महर्जन, घाइते

सबैजना हाँसीखुसी रमाइलो गर्दै तानसेनबाट हिंडेका थियौं। बसमा कोही गफ गर्दै कोही नाच्दै रमाइलो गरेका थियौँ। आर्यभञ्ज्याङमा सबैले खाजा खायौं। आ-आफ्ना मन मिल्ने साथीहरूसँग कुराकारी गर्दै चिदीपानी काटियो। हाम्रो बसले रामपुरतर्फबाट आएको जिपलाई साइड दिँदै थियो। बस लच्किदै गयो। सबैले ‘ए..ए..ए..’ भन्दाभन्दै गाडी गल्र्याम्म पल्टियो। त्यसपछि के भयो, मैले केही थाहा पाइनँ। म हिंडेर बाटोमा आएँ कि कसैले बोकेर बाटोमा ल्यायो ? केही थाहा भएन। बाटोमा आएपछि होस खुल्यो। सहकारी हेर्ने खुब धोको थियो। भाग्यले यस्तो बनायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.