गाउँपालिकामा ‘कमिसन’ विवाद

गाउँपालिकामा ‘कमिसन’ विवाद

परासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्षविरुद्ध उपाध्यक्षसहितका जनप्रतिनिधि विरोधमा उत्रिएका छन्। ९ वटा वडा रहेको गाउँपालिकामा दुई वडाध्यक्षबाहेक उपाध्यक्ष अञ्जुकुमारी चौधरीसहितका सात जना वडाअध्यक्ष र कार्यपालिकाका सदस्य विरोधमा उत्रिएका हुन्। अध्यक्षले आफूखुसी निर्णय गर्ने र आर्थिक पारदर्शिता नगरेको भन्दै गाउँपालिकामा आयोजना गरिएको कार्यक्रम उनीहरूले बहिष्कार गरेका छन्।

दुवै पक्षले एकअर्काले योजना सञ्चालनबापतको कमिसनले विवाद भएको आरोप÷प्रत्यारोप लगाएका छन्। गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले आफूखुसी निर्णय गर्ने र हिसाब–किताबको पारदर्शी नगरेको भन्दै शुक्रबार जिल्ला समन्वय समितिले जनप्रतिनिधिका लागि आयोजना गरेको ‘योजना तथा बजेट तर्जुमा’ विषयक दुईदिने प्रशिक्षण कार्यक्रम बहिष्कार गरेर विरोधमा उत्रिएका हुन्। गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित ६ वडा कांग्रेसले जितेको छ। कार्यक्रम बहिष्कार गर्नेमा उपाध्यक्षसहित कांग्रेसबाट निर्वाचित सबै वडाअध्यक्ष र एक जना नेकपाका छन्।

पार्टीको बहुमत रहेकाले आफूले जस्तोसुकै निर्णय र काम गरे पनि विरोध नगर्ने भन्दै मनोमानी गर्न थालेको जनप्रतिनिधिको आरोप छ। पटक–पटक अध्यक्षलाई सच्चिन आग्रह गर्दासमेत मनोमानीको सीमालाई बढाउन थालेपछि विरोध गर्नुपरेको वडा नं. ९ का अध्यक्ष हेमेन्द्र पञ्जियारले बताए। यसअघि पनि अध्यक्षले गरेका निर्णय र कामप्रति असन्तुष्टि जनाउँदै कार्यपालिकाको बैठक जनप्रतिनिधिले बहिष्कार गरेका थिए।

अध्यक्ष शर्मामाथि कार्यपालिकाको बैठक नराखी मनोमानी निर्णय गर्ने र त्यसको जानकारी पछि मात्र दिने गरेको, वडाको सिफारिसबिना योजनाको काम फस्र्याेट गरेको, सञ्चालन भएका योजनाको उपभोक्ता समिति र निर्माण व्यवसायीसँग कमिसन माग्ने गरेको, गाउँपालिकाका लागि आवश्यक सामग्री आफूखुसी खरिद गर्ने र खर्चको जानकारी दिने नगरेको, विभिन्न शीर्षकमा भएको खर्चको विवरण माग गर्दा लुकाउने गरेकोजस्ता आरोप लगाइएको छ। वडाध्यक्षले उपभोक्ता समितिबाट कमिसन नपाउने भएपछि अध्यक्षले मनोमानी टेन्डर निकालेर निर्माण व्यवसायीलाई योजनाको ठेक्का दिएको आरोपसमेत लगाएका छन्।

वडा नं. १ का वडाध्यक्ष मानबहादुर चौधरीले अध्यक्षले मनोमानी निर्णय गर्ने र आर्थिक पारदर्शीसमेत नगरेकाले कार्यक्रम बहिष्कार गरेको बताए। अध्यक्षले अहिलेसम्म भएका खर्चको विवरण सार्वजनिक र मनोमानी निर्णय नगर्ने प्रतिबद्धता नजनाएसम्म कुनै पनि बैठक र कार्यक्रममा सहभागी नहुने चेतावनी दिएका छन्।

उपाध्यक्ष अञ्जुकुमारी चौधरीले अध्यक्षले गरेका क्रियाकलापविरुद्ध पटक पटकका बैठकमा विरोध गर्दासमेत नमानेपछि यसअघिको कार्यपालिकाको बैठकसमेत बहिष्कार गरेको बताइन्। अध्यक्ष आफैंले योजना बनाउने र जथाभावी बजेट खर्च गर्ने भएकाले प्रशिक्षण कार्यक्रममा बस्न उचित नठानेर कार्यक्रम बहिष्कार गरेको जनप्रतिनिधिले बताएका छन्। अध्यक्ष आफैंले आफूखुसी योजना र बजेट तर्जुमा गर्ने भएकाले प्रशिक्षण कार्यक्रम जनप्रतिनिधिका लागि आवश्यक नभएको भन्दै सहभागी नभएको वडाध्यक्षको भनाइ छ।

अध्यक्ष शर्माले उपाध्यक्षसहित वडाध्यक्षले कार्यक्रम बहिष्कार गरेको बताए। उनले गाउँपालिकाभित्रको विषयलाई लिएर प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने कार्य ठीक नभएको बताए। वडामा सिलिङअनुसार योजना गएपछि वडाध्यक्षले कमिसनको प्रलोभनमा परेर आफूखुसी उपभोक्ता समिति बनाउनुपर्ने माग राखेको शर्माले बताए। उक्त उपभोक्ता समितिप्रति आफूले असहमति जनाएपछि उनीहरू सोही समयदेखि असन्तुष्ट बनेको शर्माले दाबी गरे। ‘केही वडामा समितिबाट काम गर्न नसकेपछि गाउँपालिकाले टेन्डरमार्फत योजनाको काम सञ्चालन गरेको हो’, अध्यक्ष शमाले भने, ‘त्यसमा पनि गाउँपालिकासँग कमिसन बापतको रकम छुट्ट्याउन माग गरेका छन्। मैले कहाँबाट कमिसन दिऊँ, त्यसैले मविरुद्ध उपाध्यक्षसहित वडाध्यक्ष र सदस्य लागेका हुन्।’ गाउँपालिकाले हरेक वडामा एक करोड १५ लाखदेखि डेढ करोडसम्म बजेट छुट्ट्याएर योजना सञ्चालन गरेको छ। करिब एक सय ८० बढी योजना सञ्चालनमा रहेको गाउँपालिकामा हालसम्म ८० प्रतिशत योजना सकिएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.