अमेरिकी आरोहीले सगरमाथामा स्की खेलेपछि हंगामा !
![अमेरिकी आरोहीले सगरमाथामा स्की खेलेपछि हंगामा !](https://annapurnapost.prixacdn.net/media/albums/Mount-everest-ski_20180604104808_HHjkaJJYPP.jpg)
काठमाडौं: पर्यटन विभागले सगरमाथा आरोहणका क्रमा अवैधरुपमा स्की खेलेको भन्दै अमेरिकी आरोही गुइलेरमो वेनेसस र माथेअ मोनीजलाई कारबाही गरेको छ ।
अनुमतिबिना क्याम्प तीनदेखि दुईसम्म स्की खेल्ने अमेरिकी आरोहीलाई १० हजार रुपैयाँ नगद जरिवाना गरिएको छ । उनीहरुबाट जनही एक हजार अमेरिकी डलर स्की शुल्कसमेत असुल गरिएको छ ।
अवैधरुपमा स्की खेल्ने अमेरिकीलाई सहयोग गर्ने आरोहणदल पठाउने कम्पनी हाइअल्टिच्यूट ड्रिम प्रालिलाई विभागले ५० हजार नगद जरिबाना गरेको छ ।
आरोहणदलका सम्पर्क अधिकृत प्रतिलिपि रजिष्टार कार्यालयका नायब सुब्बा दीपक दाहाललाई विभागीय कारवाही गर्न सम्बन्धित कार्यालयमा पत्रचार गरिएको विभागका सूचना अधिकारी रामप्रसाद साप्कोटाले बताए ।
आरोहण दलका सरदार सोलुखुम्बु जुभिङ-८ का लोप्साङ शेर्पालाई पनि चेतावनी दिइएको छ । अवैधरुपमा स्की खेल्ने सामाग्रीसहित हिमाल आरोहणमा आधारशिविर पुगेका उनीहरुलाई राज्यका निकायले रोक्ने पहल गरेनन् ।
त्यहाँबाट क्याक्प तीनसम्म पुग्दा पनि सम्पर्क अधिकृत र सरदारले राज्यका निकायलाई खबर नगरेको विभागको भनाई छ । एजेन्सीले समेत आफ्नो आरोहण दलले के गर्दैछ र के गर्ने योजना बनाएको छ भन्ने विभागलाई जानकारी नदिएकाले कारबाही गरिएको हो ।अमेरिकी आरोही गुइलेरमो वेनेसस र माथेअ मोनीजले क्याम्प तीनदेखि अवैधरुपमा स्की खेलेर सामाजिक सञ्जालमा वर्षौँदेखिको आफ्नो चहाना पुरा गरेको उल्लेख गरेका थिए ।
राज्यसँग स्वीकृति नलिई हिमालमा अवैध गतिविधि गर्ने जो कसैलाई पर्यटन ऐन २०३५, पर्वतारोहणसम्बन्धी नियामवली २०५९ ले दिएको अधिकार प्रयोग गरेर कारवाही गर्ने सापकोटाले बताए ।
यसअघि पनि सगरमाथा आरोहण गरेको नक्कली कागजात पेश गर्ने भारतीय दम्पती दिनेश राथोड र ताराकेश्वरी राथोडलाई विभागले १० वर्ष नेपाल प्रवेशमा रोक लगाएको थियो ।
एजेन्सीलाई कारवाही गरिएको पनि यो पहिलो पटक हो । सम्पर्क अधिकृत र सरदारलाई समेत विभागले कडाइका साथ कारबाही अघि बढाउने जनाएको छ ।
सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छिटो समय (८ घण्टा १० मिनेट) मा चुचुरो चुमेको दावी गरेका दोलखाका पेम्वा दोर्जी शेर्पाको विश्वकीर्तिमानलाई अदालतले बदर गरिदिएको ।
२०६१ जेठ ८ गते चुचुरो चुमेको रेकर्ड २०७४ मंसिर १२ गते बदर गर्ने फैसला गरिए पनि त्यो आरोहणदलका सरदार, सम्पर्क अधिकृत र कम्पनीलाई भने कुनै पनि कारवाही गरिएको छैन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)