रोमाञ्चक सगरमाथा सपना: आठौँ पटकमा हिउँमै बिलाए नोबुकाजु

रोमाञ्चक सगरमाथा सपना: आठौँ पटकमा हिउँमै बिलाए नोबुकाजु

काठमाडौँ: वर्षमा कम्तिमा एक दुईपटक अग्ला हिमाल चढ्ने नोबुकाजु कुरिकीसँग सगरमाथाको चुचुरो चुम्ने गजब हुटहुटी थियो। त्यसैलाई पूरा गर्ने क्रममा ३८ वर्षको उमेरमा सोमबार बिहान उनी सगरमाथाको हिउँमा हराए।

२००९ सेप्टेम्बरमा उनले बिना अक्सिजन चीनको तिब्बतपट्टीबाट सगरमाथा आरोहण थालेका थिए। उनले त्यो आरोहणलाई इन्टरनेटमा लाइभ कभरेज समेत गरेका थिए।

अर्को वर्ष २०१० सेप्टेम्बरमा उनी नेपालबाटै सगरमाथा आरोहणमा लागे, तर ८००० मिटरभन्दा माथि जान सकेनन्। सगरमाथाको चुचुरोमा पुग्ने दुईवटा प्रयास असफल भएपछि उनले तेस्रोपटक २०११ को अगस्टदेखि अक्टोबरसम्म पटकपटक आरोहणको प्रयास गरे। यसपटक पनि उनी ७९०० मिटरभन्दा माथि चढ्न सकेनन्।

तर उनले हिम्मत हारेनन्। सन् २०१२ अक्टोबरमा उनको मिसन हिमआँधीका कारण असफल भयो। यसपटक उनको आरोहरणमात्र असफल भएन, उनले हातका ९ वटा औँला गुमाए। माइनस २० डिग्री सेल्सियस तापक्रममा उनी दुई दिनसम्म हिउँमा थुनिएका थिए।

हातका औँला गुमाए पनि उनले हिम्मत हारेनन्। चारपटक सगरमाथाको चुचुरोमा पुग्ने असफल प्रयासपछि उनले २०१५, २०१६ र १०१७ मा पुनः आफ्नो पूरा शक्ति लगाए।   

यसपटक सगरमाथा आरोहण गर्ने उनको आठौँ प्रयास थियो। तर यो प्रयास पनि सफल हुन सकेन, बरु प्रयास गर्दागर्दै उनले सगरमाथामै ज्यान गुमाए।

उनले आफ्नो व्यक्तिगत वेबसाइटमा आफ्नो देशका हिमाल चढ्दाचढ्दै अरु देशका हिमाल आरोहणमा रुचि बढेको उल्लेख गरेका छन्। 

'जब म विश्वविद्यालयमा पढ्दै थिएँ, मलाई उत्तर अमेरिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट क्याकिन्ली (६१९४ मिटर) चढ्ने रहर लाग्यो', उनले लेखेका छन्, 'त्यतिबेला कसैले पनि मेरो प्रयासलाई सहयोग गरेनन्, सबैजना नकारात्मक भए।' उनले उक्त घटनालाई सबैभन्दा जीवनको पीडादायी क्षण भनेका छन्।

विमानस्थलमा उड्ने बेलामा मलाई बुबाले फोन गर्नुभयो र भन्नुभयो-मलाई तिमीमाथि विश्वास छ', उनले अमेरिका उड्नुअघिको अनुभूतिबारे वेबसाइटमा लेखेका छन्, 'उहाँका शब्दका लागि धन्यवाद, मैले पहिलो पाइला चाल्न सकेँ र आज म यहाँ छु।'

आफूले चढ्न नसकेका हिमालहरूले आफूलाई झन् झन् तान्ने गरेको उनले वेबसाइटमा लेखेका छन्। सम्भवतः हरेक वर्षजसो सगरमाथाको चुचुरोमा पुग्न उनले गरेको निरन्तर प्रयास पनि त्यसैको परिणाम थियो। 

सन् २००९ मा सगरमाथा चढे यताका आरोहण उनले 'सेयरिङ माइ एडभेन्चर' नाममा लाइभ ब्रोडकास्ट गर्ने गर्थे। उनले सगरमाथाको चुचुरो चुम्ने आफ्नो सपनाबारे वेबसाइटमा लेखेक छन्- 'म संसारको सर्वोच्च स्थानमा पुग्न चाहन्छु।'    

यस्तो हो घटना

सर्वोच्च शिखर आरोहणका क्रममा नोबुकाजु कुरिकीको ज्यान गएको हो । ३८ वर्षीय नोबुकाजु कुरिकी सोमबार बिहान सगरमाथा आरोहणका क्रममा क्याम्प २ मा मृत भेटिए ।

उनलाई शेर्पा गाइडहरुले क्याम्प टु मा मृत भेटेका बोची बोची ट्रेक्सका प्रबन्ध निर्देशक टिकाराम गुरुङले जानकारी दिए ।

पर्यटन विभागले पनि आधार शिविरमा रहेका आफ्ना सम्पर्क अधिकृतलाई उधृत गर्दै यो घटनाको पुष्टि गरेको छ। कुरिकीसहित चारजना शेर्पाहरु सगरमाथा आरोहणका लागि बोची बोचीबाटै गएका थिए ।

सगरमाथा आरोहणका लागि अन्तिम शक्ति लगाइरहेका बेला कुरिकी मृत भेटिएका हुन् । ज्यान जानुभन्दा अघि कुरिकीले आफू अफ्ठेरोमा परेको र धेरै चिसोले सताएको भन्दै फेसबुकमा पनि लेखेका थिए । ज्यान जानुअघि उनले आफू ७४ सय मिटरमा रहेको जानकारी गराएका थिए ।

उनले ७४ सय मिटरबाट आफूलाई अफ्ठेरो महसुस भए पनि एकदमै सतर्कका साथ सगरमाथाको टुप्पोमा पुग्ने जनँएका थिए । कुरिकीले यसअघि सगरमाथा आरोहणका लागि सातौँ पटकसम्म प्रयास गरेका थिए । तर आठौँ पटक उनले ज्यानै गुमाउन पुगेका हुन् ।

उनले सगरमाथा आरोहणकै क्रममा अघिल्ला वर्षहरुमा आफ्ना नौवटा औँलासमेत गुमाइसकेका छन् । उनी यो पटक शिखरमा पुगेरै छाड्ने योजनाकासाथ त्यसतर्फ लागेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.