कर्णाली प्रदेशका मुख्यमन्त्री भन्दा मन्त्रीहरुको सम्पत्ति धेरै !

कर्णाली प्रदेशका मुख्यमन्त्री भन्दा मन्त्रीहरुको सम्पत्ति धेरै !

सुर्खेतः कर्णालीमा मुख्यमन्त्री भन्दा पनि मन्त्रीहरुको सम्पत्ति धेरै देखिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको तुलनामा अन्य मन्त्रीहरुसँग नै सुन, गहना, घरजग्गा र सम्पत्ति धेरै भएको विवरण सार्वजनिक भएको हो । 

को धनी, को गरिब ? 

मंगलवार सार्वजनिक गरिएको मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण अनुसार सबैभन्दा धनी भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्री र सबैभन्दा गरिब भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी देखिएकी हुन् ।

मन्त्रिपरिषदका सात जना सदस्यहरुमध्ये मन्त्री विमला केसी बाहेक सबैसँग सुन रहेको छ । यस्तै अधिकांश मन्त्रीको बैंकमा व्यालेन्स र ठाउँठाउँमा जग्गासमेत रहेको छ । सामाजिक विकास मन्त्री दल रावलसँग सबैभन्दा धेरै ५५ तोला सुन रहेको छ । 

सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाही भन्दा मन्त्रीहरु नै धनी देखिएका हुन् । मुख्यमन्त्री शाहीसँग कालिकोटको पचाल झरनामा अंशबण्डा नभएको पु्ख्र्यौली घर र पाँच रोपनी जग्गा, ६ तोला सुन, दुइ सय तोला चाँदी छ । राष्ट्रिय वाणिज्य बैंकमा पाँच लाख र एभरेष्ट बैंकमा दुई लाख नगद रहेको उल्लेख छ । 

त्यसैगरी मुख्यमन्त्री शाहीको १० लाख बराबरको कुखुरापालन ब्यवसाय र दुइ लाख ५० हजारको तरकारी खेती पनि रहेको विवरणमा उल्लेख गरिएको छ । शाहीले पत्नी चन्द्रा शाहीको नाममा कैलालीमा जग्गा रहेको उल्लेख गरेका छन् । यस्तै मुख्यमन्त्री शाहीसँग १५ लाख बराबरको मारुती कार रहेको उल्लेख छ । 

कर्णालीमा सबैभन्दा धनी मन्त्रीको सूचिमा भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्री देखिएका छन् । यद्यपी सम्पत्ति विवरणमा उनको घर देखिएको छैन । मन्त्री खत्रीसँग २१ तोला सुन र आफ्नो स्वयम, पत्नी र प्रदीप कन्स्ट्रक्सनको नाममा गरी विभिन्न बैंकमा ७५ लाख रुपैयाँ नगद रहेको छ । यस्तै आफ्नै नाममा विभिन्न बैंकको गरी ११ करोड ८६ लाख रुपैयाँको शेयर रहेको उल्लेख छ ।

त्यस्तै मन्त्री खत्रीको बैंकमा एक करोडभन्दा बढी वचत छ भने ट्रक, ट्रिपर, जिप, एक्साभेटर गरी दर्जनौं सवारी साधन पनि रहेका छन् । निर्माण व्यवसायीसमेत रहेका उनको सुर्खेत, कैलाली, बाँके, काठमाडौं र भक्तपुरमा धेरै जग्गा छ । 

सुर्खेतको भेरीगंगामा २० रोपनी, रानीबासमा १२ रोपनी, वीरेन्द्रनगर नगरपालिकामा पनि दुई कित्ता जग्गा रहेको विवरणमा उल्लेख छ । बाँकेका विभिन्न स्थानमा उनको झण्डै चार विगाह जग्गा रहेको छ । काठमाडौंको बुढानिलकण्ठमा दुई रोपनी र भक्तपुरको चाँगुनारायणमा दुई रोपनी जग्गा रहेको छ । यस्तै सम्पत्ति विवरणमा कैलालीमा झण्डै तीन विगाह र धनगढीमा डेढ कठ्ठा जग्गा रहेको उल्लेख छ । उनको पत्नीको नाममा एउटा स्कुटर पनि रहेको उल्लेख छ ।

त्यसैगरी सामाजिक विकास मन्त्री दल रावलको हुम्लामा तीन वटा र बाँकेमा एउटा गरी चार वटा घर छन् । उनीसँग ५५ तोला सुन र एक सय ५० तोला चाँदी रहेको छ । हुम्लामा ५० लाखको पुख्र्यौली जग्गा र सुर्खेतमा २५ लाखको जग्गा रहेको उल्लेख छ । 

मन्त्री रावलको नेपाल एसबीआई बैंकमा एक लाख ५३ हजार र पत्नीको नाममा सनराइज बैंकमा २४ लाख तथा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ६५ हजार रुपैयाँ बचत देखिएको छ । साथै उनीसँग ४५ वटा भेडाबाख्रा पनि रहेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसँग जुम्ला र बाँकेमा पुख्र्यौली घर रहेका छन् । १५ तोला सुन र १० तोला चाँदी रहेको विवरणमा उल्लेख छ । यस्तै एभरेष्ट बैंकमा एक लाख रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा देखिएको छ । 

 आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला पनि धनी देखिएका छन् । उनको सल्यानमा भाइको नाममा,  बर्दियामा आमाको नाममा र काठमाडौंमा आफ्नै नाममा घर छन् । यस्तै काठमाडौं, सल्यान र दाङमा जग्गा रहेको विवरणमा देखिएको छ । 

यस्तै उनीसँग नगद १५ लाख नगद, ३ तोला सुन र १० तोला चाँदी रहेको छ । एभरेस्ट बैंकमा १२ लाख, कृषि विकास बैंकमा चार लाख १० हजार र राष्ट्रिय वाणिज्य बैंकमा ५० हजार रुपैयाँ रहेको देखिएको छ । 

ज्वालाले छोरा र आफ्नो नाममा ५० लाख ६५ हजार बराबरको सेयर रहेको उल्लेख गरेका छन् । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासँग १५ तोला सुन रहेको छ । डोल्पामा चार वटा घर र विभिन्न पाँच स्थानमा जग्गा भएका उनको बैंक खातामा भने रकम छैन । यस्तै सबैभन्दा गरिब देखिएकी सहकारी मन्त्री विमला केसीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा रुकुम, दाङ र सुर्खेतमा जग्गा देखिएको छ । उनको ग्लोबल आईएमई बैंकमा खाता भए पनि बचत शुन्य छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.