खानेपानी नभएपछि बसाइँ सराइ

खानेपानी नभएपछि बसाइँ सराइ

तानसेन : खानेपानीको संकट बढेपछि पाल्पाको गोठादी गाउँ रित्तिँदै गएको छ । तत्कालीन एउटा गाविस नै बसाइँसराइ गर्न बाध्य भएको हो । गोठादीमा अधिकांश मगर बस्ती छ ।

खेती उब्जनीको हिसाबले अत्यन्त उर्वर माटो भए पनि खानेपानी नभएपछि गाउँ नै खाली हुँदै गएको छ । माथागढी गाउँपालिका–५ गोठादीका बासिन्दा पानीको समस्याले बस्ती नै खाली गरी बसाइँसराइ गर्दै आएका छन् । उनीहरू पानीकै कारण सस्तोमा जग्गा बिक्री गर्ने, नबिके आफन्तलाई गरिखान दिने, आफन्तले नगरे बाँझै छाडेर भए पनि बसाइँ सराइ गर्दै आएका हुन् ।

पाँच सय घरपरिवार रहेको यस बस्तीमा अहिले तीन सय घर मात्रै छन् । गाउँलेले तीन घण्टा लगाएर पानी बोकेर खाँदै आएका थिए ।

‘गाउँका हुनेखाने कोही कता,कोही कता बसाइँ सरे । पानीको समस्या भए पनि बस्तीमा पुर्खाको थातथलो कुरेर बसेका छौं,’ स्नाथीय हुमबहादुर सारुले भने । बसाइँ सर्नेहरू रुप्सेमा झर्ने गरेका छन् । रुप्सेमा खानेपानीको सहजता छ ।

तीन वर्षअघि गोठादीबाट रुप्से सरेका मानबहादुर नेपालीले खानेपानीकै कारण थातथलो छाड्नुपरेकामा चिन्ता व्यक्त गरे । ‘आफ्नो पुर्खाको थातथलो, आफू जन्मिएको गाउँ बस्ती कसलाई माया लाग्दैन र ? माया लागेर मात्र के गर्नु खानेपानी समस्या सम्झिँदा गाउँ फर्कन मनै लाग्दैन,’ नेपालीले भने ।

स्थानीयले पानीको समस्याबारे सम्बन्धित निकायमा जानकारीसमेत गराएका थिए । तर, वर्षांैसम्म पनि कसैले सुनेनन् । ‘खानेपानी तथा सरसफाइ कार्यालयमा धाउँदा–धाउँदा हैरान परियो । अन्य गाउँमा योजना परे पनि गाठादीमा खानेपानीको योजना कहिल्यै परेन,’ उनले भने । गोठादीवासी बिहान भाले बास्नासाथ डोकोमा गाग्री बोकेर पानी भर्न निस्किन्थे । पानी भर्न पनि लामो लाइन कुर्नुपथ्र्याे । बिहानभरि पानीका लागि बिताउनुपरेपछि खेतीपातीदेखि छोराछोरीको शिक्षासमेत प्रभावित भएको स्थानीयको भनाइ छ । पानीले झन् कष्टकर बनाएपछि स्थानीय बाध्य भई पानी खोज्दै बसाइँ सरेका हुन् ।

गाउँमै बस्नेहरूले अझै त्यही कष्ट बेहोरिरहेका छन् । ‘बिहानै नगए पानी भर्ने पालो आउँदैन, एक गाग्री पानीका लागि कहिलेकाहीँ ३ घण्टासम्म पालो पर्खनुपर्छ त कहिले रित्तो गाग्री लिएर घर फर्कनुपरेको छ,’ स्थानीय पार्वती सारुले बताइन् ।

गोठादीमा खानेपानी समस्याबारे गाउँपालिकालाई समेत जानकारी छ । आगामी वर्षबाट लिफ्ट खानेपानी योजना छनोट गरी काम सुरु गर्ने गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । पहिलो चरणमा विद्युत् पोल, ट्रान्सफरमर, तार जडान र दोस्रो चरणमा पाइपलाइन विस्तार, ट्यांकी निर्माण, धारा जडान र वितरण गर्ने गरी योजना बनाएको अध्यक्ष थापाले बताए ।

खानेपानी समस्याले बस्ती नै छाड्ने बाध्यता भएपछि पटक–पटक सांसदलाई समेत गुनासो सुनाएका थिए । तर, सुनुवाइ भएन । दुई÷तीन वर्षभित्र गाउँमा खानेपानीको सुविधा नभए गाउँ नै रित्तिने स्थानीय हुमबहादुर सारुको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.