प्रकाण्डमाथि सात करोड चन्दा असुलेको अभियोग
काडमाडौँ: बुधबार पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’माथि प्रहरीले सात करोड भन्दा धेरै चन्दा असुली गरेको अभियोग लगाएको छ।
दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलबाट दुई कार्यकर्तासहित पक्राउ परेका प्रकाण्डविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँले जिल्ला प्रशासन कार्यालयमा पेश गरेको छ । प्रशासनले बुधबारै प्रकाण्डलाई पाँच दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन पनि अनुमति दिएको छ।
बा१४प २७२९ नम्बरको गाडीमा हेटौँडाबाट आइरहेका बेला मंगलबार साँझ प्रकाण्डसहित उनका दुई सहयोगीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले उनलाई पक्राउ गर्नुअघि गरेको अनुसन्धानका क्रममा ठुला व्यापारीदेखि सर्वसाधरणबाटसमेत करिब ७ करोड रुपैयाँ चन्दा असुलेको खुलेको थियो । त्यही आधारमा उनलाई पक्राउ गरी हिरासतमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।
प्रकाण्ड र अन्य दुई कार्यकर्ताविरुद्ध परिसरले चन्दा ऐन २०३० बमोजिम मुद्दा चलाएको हो । प्रकाण्डसँगै कालिकोटको कालिका गाउँपालिका वडा नम्बर ६ का हरिचन्द्र आचार्य र कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ का मनबहादुर श्रेष्ठ पनि पक्राउ परेका छन् ।
यसैबीच नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलाई बिनाकारण पक्राउ गरिएको भन्दै बन्दसहित विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रवक्तासँगै पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्यहरु पक्राउ परेपछि त्यसको विरोधमा विज्ञप्ति निकालेर नेकपालले आन्दोलन घोषणा गरेको हो।
पार्टीका महासचिव विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा पाँच दिनको विरोध कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार साउन २५ देखि कोणसभाबाट सुरु भएको विरोध कार्यक्रम २९ गते नेपाल बन्दसम्म छ।
विप्लवले साउन २५ गते देशभर कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशालजुलुस र २९ गते नेपाल बन्दको घोषणा गरेका हुन्।
‘हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कामरेड सीसीएम कामरेडलगायत सबै कामरेडलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछौं’, बुधबार सार्वजनिक नेकपाको विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !