डोजराध्यक्ष !

डोजराध्यक्ष !

प्रदेश ५ ब्यूरो

बुटवल  : विकास भनेको सडक निर्माण भएको छ । विकासको बिम्ब डोजर । अनि स्थानीय सरकारका अगुवा बनेका छन्, निजी डोजरका मालिक । प्रदेश ५ का गाउँ–नगरका पदाधिकारी कति ठेक्कापट्टामा छन्, कतिले प्रत्यक्ष–अप्रत्यक्ष डोजरमै लगानी गरेका छन् ।नियमले गाउँ–नगरका प्रतिनिधिलाई नाफा कमाउने काममा संलग्न हुन वा ठेक्कापट्टा गर्न दिँदैन । त्यसैकारण अधिकांश जनप्रतिनिधिले नातागोता र आफन्तका नाममा डोजर चलाउँदै आएका छन् ।

पाल्पाको रामपुर नगरपालिकाका मेयर रमण थापा पेशैले ठेकेदार हुन् । निर्वाचनअघि ठेक्कापट्टा गर्थे । नगरप्रमुख बनेपछि ठेक्कामा नगरकै काम धेरै गरेका छन् ।

पत्नीका नाममा रहेको सुधा कस्ट्रक्सनले गएको आर्थिक वर्षमा ७० लाख जतिको काम गरेको छ । नगरप्रमुखकै कम्पनी भएपछि ठेक्कापट्टामा पहिलो नम्बरमा छानिने गरेको अन्य ठेकेदार बताउँछन् । सुधा कन्ट्रक्सनका डोजरहरू गएको वर्ष खाली बस्नु परेन । सो कन्ट्रक्सनको नाममा ३ वटा जेसीभी डोजर र २ वटा चेनवाला डोजर छन् । सुधाले अधिकांश काम रामपुर नगरपालिकाभित्रै गर्छ ।

बिहीबार मात्रै प्रधानमन्त्री केपी ओलीले गाउँपालिकाका प्रतिनिधिसँग प्रश्न गरेका थिए, ‘गाउँपालिकाका जनप्रतिनिधि ठेकेदार बनेर डोजर चलाउन पाइन्छ ? ’

तर जनप्रतिनिधिहरू भने सकेसम्म ठेक्कापट्टामा छन् । त्यो नभए डोजर मात्रै भए पनि प्रयोग गर्दै आएका छन् ।

प्रदेश ५ का पहाडी जिल्लाका गाउँ–नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले डोजर खरिद गरी करौडौंका योजना निर्माण गरेका छन् । रामपुरका प्रमुखजस्तै अरुतिरका जनप्रतिनिधिले पनि डोजर चलाउनकै लागि योजना बनाउने गरेको स्थानीयले सुनाउँछन् ।

यस्ता डोजरहरू कतिपय आफ्नै नाममा छन्, कतिपय पत्नी, भाइ, छोराछोरी र सालासालीको नामबाट चलाइएको छ । प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष पवित्रा जिसीका दुई डोजर छन् । गएको आर्थिक वर्षमा दुवै डोजर खासै खालि बस्नुपरेन । उपाध्यक्षका डोजरको भाउ पनि चलेकोभन्दा बढी छ ।

प्युठान नगरपालिकामा सामान्य डोजरले प्रतिघण्टा करिब ४ हजार २ सय रूपैयाँ लिन्छन् । झिम्रुकले भने प्रतिघण्टा ६ हजार ५ सय लिँदै आएको छ ।

प्युठानको माझकोटमा विस्तार गर्न थालिएको माझकोट–नेपाने–काफलबुटा सडक खन्दै डोजर । तस्बिर : केशर रोका

झिमरुक बाङ्गेफेदीका स्थानीय व्यवसायी नारायण जिसीले जनप्रतिनिधि कमाउधन्दामा लागेको आरोप लगाए । ‘गाउँमा भएको विकासबारे पत्तो नै हुँदैन, वडाध्यक्ष र नगरप्रमुख नै ठेकेदार भएपछि अरुको के मतलब भयो ? ’ उनले प्रश्न गरे ।

रामपुर मात्रै नभई पाल्पाको रैनादेवीछहरा, माथागढी, वेगनासकाली, तिनाउँ गाउँपालिका र तानसेन नगरपालिकाका जनप्रतिनिधिले पनि आफै वा आफन्तको नाममा डोजर किनेका छन् । अनि आफ्नै गाउँ–नगरमा संचालन गर्दै आएका छन् ।

वेगनासकाली गाउँका प्रवक्ता लक्ष्मी अधिकारी पनि विगतमा निर्माण व्यवसायीको काम गर्थे । उनी जनप्रतिनिधिमा निर्वाचित भए । अधिकारीले बहिनी ज्वाइँको नाममा गाउँपालिकाभित्र डोजर चलाइरहेका छन् । तानसेन नगर वडा नंं ५ का वडासदस्य विष्णुबहादुर कार्कीले सालाको नामबाट डोजर चलाइरहेका छन् ।

माथागढी गाउँका वडा नंं १ वडाध्यक्ष शिवप्रसाद घिमिरेले छोरा दीपक र दिनेश घिमिरेको नाममा डोजर चलाएको स्थानीयले बताए । वडा नंं २ का वडाध्यक्ष जनक रिजालले साला भागीरथ भट्टराईको नाममा डोजर चलाउँछन् ।

वडा नंं ६ का वडाध्यक्ष रनबहादुर खाम्चाले छोराको नाममा डोजर चलाउँछन् । आफ्नै र आफन्तको नाममा डोजर किनेकाहरू सडकको ठेक्का लिने निर्णय गर्दा आफ्नै पक्षमा पार्न कस्सिएर लाग्ने गरेको एक वडासदस्यले बताए । ‘कतिले त प्रमुखलाई समेत कमिसन छुट्याएर काम आफ्नो हातमा लिन्छन्’, उनले दाबी गरे ।

माथागढीका अध्यक्ष सन्तोष थापाले वडाअध्यक्षकै डोजर भएको जानकारी नभएको बताए । ‘उहाँहरू पहिलाको निर्माण व्यवसायी नै हो, अहिले डोजर भए पनि सिन्डिकेट नै लगाएर काम गरेका छैनौं’, उनले भने ।

पाल्पाकै रिब्दीकोट गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष तुलबहादुर जिसीले फरक व्यक्तिको नाममा डोजर चलाउँदै आएका छन् । तिनाउँ गाउँपालिका वडा नंं ४ का वडाध्यक्ष दानबहादुर गाहाले गाउँपालिकाभित्रै डोजर चलाउँछन् । उनले आफ्नो वडाको पहिलो काम आफै ठेक्का लिएका थिए ।

रैनादेवीछहरा गाउँपालिका वडा नंं ७ का वडाध्यक्ष देवेन्द्र पुन र वडा नं ८ का वडाध्यक्ष थमनबहादुर रानाले पनि डोजरमा लगानी गरेका छन् ।

पहाडी जिल्लाका धेरै जनप्रतिनिधिले नाफा कमाउने उद्देश्यले डोजरमा लगानी गरेर छन् । गाउँ तथा नगरले गुपचुपमा डोजर दर्ता सूचीकृतको सूचना निकाल्छन् र आफ्ना डोजरहरू मात्र सूचीकृत गराउँछन् । बाहिरका डोजर व्यवसायीले प्रतिस्पर्धा समेत गर्न पाउँदैनन् ।

उपभोक्ता समितिले बिना प्रतिस्पर्धा प्रतिघण्टा २ हजार १ सयदेखि २ हजार ६ सय रूपैयाँ तिरेर जनप्रतिनिधिका डोजर चलाउने गरेका छन् ।

रोल्पामा जनप्रतिनिधिको डोजर चलाउने विषयमा विवादै भएको थियो । माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले आफ्ना छोरा र आफन्तमार्पmत डोजर चलाइरहेका छन् । सारिगा–कुकुरगाडे सडक जोड्ने योजनामा उनकै डोजर प्रयोग भयो । अन्य डोजरवालाले प्रतिस्पर्धा गर्न चाहेपछि विवाद उत्पन्न भयो । विवादकै कारण उनको मात्रै डोजर चलाउने योजना असफल बन्यो ।

रोल्पामा कतिपय जनप्रतिनिधिको आफ्नै डोजर छ । कतिपयले आफ्नै परिवारको सदस्यका नाममा डोजर चलाइरहेका छन् । डोजर भएका नेता र कार्यकर्ताले डोजर नभएका जनप्रतिनिधि रिझाएर सडक खन्ने योजना हात पार्छन् ।

गंगादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले निर्वाचित हुनुअगाडि नै डोजर खरिद गरी गाउँमा सडक खन्दै आएका थिए । निर्वाचित भएपछि गाउँपालिकाका योजनामा केही सडक उनकै डोजरले खन्यो ।

थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीको पत्नीको नाममा पनि डोजर छ । उवाका वडाका सडक खन्न उनकै डोजरले लाखौंमा काम पायो ।

माडी गाउँपालिका ६ नम्बर वडा कोर्चाबाङका अध्यक्ष खर्कबहादुर पुनको पनि डोजर छ । अध्यक्षकै डोजर भएको वडामा अरु डोजरवालाले प्रतिस्पर्धा गर्न पाएनन् । वडा सदस्य कविराम घर्तीले भने डोजर भाडामा ल्याएर भए पनि एउटा सडक खन्न भ्याए ।

जनप्रतिनिधिको डोजर भएका ठाउँमा कागजी रूपमा भने डोजर छनौट गरेको देखाइन्छ । डोजर नभएका गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षले पनि घटाघटमा डोजर छनौटको काम गर्दैनन् । उनीहरूले पनि आफ्नै सम्पर्कमा आएका डोजरवाला नेता, कार्यकर्तालाई नै योजना सुम्पन्छन् । जनसहभागितामा गरिने विकासमा समेत ठेक्काकै डोजर लगाइन्छ ।

प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्षबाहेक नौबहिनी गाउँपालिका– ६ वडाध्यक्ष खर्कबहादुर पुनको डोजरले पनि राम्रै काम पायो । स्वर्गद्वारी नगरपालिका–६ का वडाध्यक्ष गिरबहादुर गुरुङ, गौमुखी गाउँपालिका– १ का वडाध्यक्ष मानबहादुर थापा, प्युठान नगरपालिका–१ का वडाध्यक्ष नेत्र केसी, मल्लरानी गाउँपालिका–३ का वडा सदस्य मेघराज आचार्य, मल्लरानी–२ का वडा सदस्य गणेश जिसीले समेत डोजरमा लगानी गरेका छन् ।

स्वर्गद्वारी नगरपालिका ६ का वडाध्यक्ष गिरबहादुर गुरुङले आफ्नो नाममा डोजर नभएको बताए । तर छोराको नाममा भएको जेसीभी डोजरले वडाको काम गर्दै आएको भने स्विकारे । ‘छोराको नाममा एउटा जेसीभी छ, उपभोक्ता समितिबाटै काम हुन्छ । बाहिरका आलोचना भ्रम मात्रै हुन्’, उनले भने ।

सबैभन्दा धेरै बजेट सडक निर्माणमा खर्च गर्ने अर्घाखाँचीका स्थानीय तहका प्रमुखहरूकै डोजरले डाँडा भत्काइरहेका छन् । मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्यको आफ्नै जेसीभी छ । उनले आफ्नो फर्मबाट काम गरिरहेका छन । मालारानी–८ का वडाध्यक्ष नरेन्द्र बस्नेतको पनि आफ्नै जेसीभी छ ।

भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाका भाइ प्रेम थापाका नाममा जेसीभी छ । निर्माण व्यवसायी समेत रहेका सोही नगर वडा नं ९ का वडाध्यक्ष नारायण खनालको डोजर धेरै प्रयोग हुन्छ ।

सन्धिखर्क नगरपालिका–१ का वडाध्यक्ष युवराज बन्जाडे निर्माण व्यवसायी हुन् । उनले पुष्पा निर्माण व्यवसायीको नाममा काम गर्छन् । सन्धिखर्क नगरपालिका–८ का वडाध्यक्ष ईश्वरीप्रसाद भुसाल पनि जेसीभी सञ्चालक रहेको स्थानीयले बताउँछन् । सन्धिखर्क नगरपालिका–५ का अध्यक्ष राजेन्द्र भुसालले केही दिनअघि मात्र जेसीभी किनेर काम थाल्दैछन् ।

डोजर नभएका शीतगंगा नगरपालिकाका अधिकांश जनप्रतिनिधिले भाडामा ल्याएर आम्दानी गर्छन् । वडा नं ५ का वडाध्यक्ष कमल पौडेल र १० का वडाध्यक्ष हिम्मत पोखरेलका पनि जेसीभी छन् । पोखरेलले विगत तीन वर्षदेखि जेसीभी सञ्चालन गरेका छन् ।

गुल्मीको रेसुंगा नगरपालिकाका– ७ र ८ का वडाध्यक्षद्वय मोहन पाण्डे र भरत बलामी निर्माण व्यवसायी हुन् । उनीहरु पनि चुनाव जितेपछि कामलाई झन् तीव्रता दिंदै आएका छन् ।

बाँकेमा तीन स्थानीय सरकारसँग आफ्नै डोजर बाँकेका आठ स्थानीय तहमध्ये तीनले विकास निर्माणका काम गर्न भन्दै आफैले ‘डोजर’ किनेका छन् ।

नेपालगन्ज उपमहानगर, डुडुवा र नरैनापुर गाउँपालिकासँग आफ्नै ब्याकहो–लोडर छ । नेपालगन्ज उपमहानगरलाई एसियाली विकास बैंकको सडक र नाला निर्माण गर्ने परियोजनासँगै ब्याकहो–लोडर उपलब्ध गराइएको हो । डुडुवा गाउँपालिकाले सडक निर्माण गर्न ब्याकहो–लोडर किनेको वडा नं. ५ का सचिव सूर्यप्रसाद लम्सालले जानकारी दिए ।

नरैनापुर गाउँपालिकाले भने विकास निर्माणबाहेक भाडामा दिने उद्देश्यले ब्याकहो–लोडर किनेको वडा नं. ५ का सचिव इस्माइल खाँले जानकारी दिए । गाउँपालिकाले गत असारमा ब्याकहो–लोडर खरिद गरेको हो । उनले भने, ‘सडक निर्माण मर्मतको काममा प्रयोग भइरहेको छ । कार्यविधि बनाएर भाडामा दिने गाउँपालिकाको सोच छ।’

गाउँमा प्रतिघण्टा दुई हजार पाँच सय रूपैयाँमा डोजर भाडा छ । गाउँपालिकाले स्थानीयलाई सहुलियत दरमा दुई हजार रूपैयाँसम्ममा उपलब्ध गराउने तयाारी गरेको उनले सुनाए ।

कोहलपुर नगरका प्रमुख लुटबहादुर रावत भने नियमित काम नहुने भएकाले महंगो साधन डोजर नकिनेर भाडामै काम चलाइरहेको बताए । जिल्ला समन्वय समिति बाँकेले भने हरेक गाउँपालिकाले डोजर किन्नु बढी खर्चिलो र अनुत्पादक क्षेत्रमा लगानी भएको बताएको छ ।

‘पहाडमा जस्तो तराईमा डोजरको त्यत्ति धेरै आवश्यकता हुँदैन । धेरै स्थानीय तह मिलेर किन्न सक्ने हो भने काम नियमित हुन्छ र खर्च धान्न सकिएला’, बाँकेका जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलले भने, ‘ड्राइभर, सहयोगी र अन्य खर्च धान्न नै गाउँपालिकालाई मुस्किल हुन्छ । यो अनुत्पादक क्षेत्रको लगानी हो ।’

(लक्ष्मण पोखरेल /बुटवल, शंकरप्रसाद खनाल /नेपालगञ्ज, खेम बुढा मगर/लिबाङ, केशर रोका /प्युठान, कृष्ण पोखरेल /तानसेन, प्रेमनारायण आचार्य /सन्धिखर्क)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.