निर्मला हत्या प्रकरण : प्रहरीले ११ दिन थुनेका बडूको पनि डिएनए नेगेटिभ
महेन्द्रनगर : बालिका निर्मला पन्तको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेर ११ दिनसम्म हिरासतमा राखिएका अर्का युवाको पनि डिएनए रिपोर्ट नेगेटिभ निस्किएको छ।
निर्मलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ गरी २४ दिनसम्म हिरासतमा राखिएका ४१ वर्षीय दिलीपसिंह विष्ट निर्दोष सावित भएको भोलिपल्ट स्थानीय युवा चक्रदेव बडूको पनि डिएनए रिपोर्ट नेगेटिभ निस्किएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता खेमराज भट्टका अनुसार नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डिएनए परीक्षण रिपोर्टबाट उनी पनि निर्दोष सावित भएका हुन् ।
प्रहरीले सार्वजनिक अपराधको अभियोग लगाएर डिएनए टेस्टका लागि रगत पठाइएका चक्रदेव बडूको डिएनए पनि नमिलेको न्यायधीवक्ता भट्टले बताए । प्रहरीले दिलीपसिंहलाई पक्राउ गर्नुअघि बडूलाई हिरासमा लिएर घटना सकार्न भन्दै यातना समेत दिएको बडूले यसअघि नै बताइसकेका छन् ।
निर्मलाको शव भेटिएको स्थानबाट केही सय मिटरको दुरीमा घर रहेका बडूलाई प्रहरीले दिलीपसिंहलाई भन्दा पहिले मुख्य अभियुक्त बनाउने प्रयाससमेत गरेको थियो । तर उनले त्यस घटनामा आफ्नो संलग्नता नरहेको अडान राखेपछि डिल्लीराज विष्ट कञ्चनपुरको प्रमुख रहेकै बेला उनलाई रिहा गरिएको थियो ।
अर्कातिर विधि विज्ञान प्रयोगशालाले विष्टको डिएनए निर्मलाको योनीमा भेटिएको डिएनएसँग नमिलेको प्रतिवेदन दिएपछि उनलाई मंगलबारै जमानतमा रिहा गरिएको छ। विष्टसँगै बम दिदीबहिनी पनि मंगलबार रिहा भइसकेका छन् ।
प्रहरीले मंगलबार रोशनी बमलाई सामान्य जमानत र बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा जिल्ला सरकारी वकिल कार्यालयबाटा रिहा गरेको छ ।
प्रतिक्रिया दिनुहोस !