कांग्रेस जोगाउने कि गुट ?

कांग्रेस जोगाउने कि गुट ?

झन्डै एक वर्षको लामो प्रतीक्षापछि नेपाली कांग्रेस महासमितिको बैठक सुरु भएको छ। पार्टीको नेतृत्वबाहेक अरू सबै वैधानिक, सैद्घान्तिक र राजनीतिक निर्णय गर्न सक्ने अधिकार भएको महासमितिले कांग्रेसलाई केकस्तो परिवर्तन गर्छ ? कस्तो विचार, कार्यक्रम, योजना, मुद्दा र रणनीति लिएर अगाडि बढ्छ ? सबैको चासो र चर्चाको विषय बनेको छ।

ठीक एक वर्षअगाडि राष्ट्रिय निर्वाचनमा कांग्रेस नराम्रोसँग पराजय भएपछि निर्वाचन समीक्षा र पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन महासमिति बैठक बोलाउन नेतृत्वमाथि दबाब पर्दै आएको थियो। झन्डै एक वर्ष ढिलो सुरु भएको महासमिति बैठकअगाडि नै पार्टीको केन्द्रीय समिति जिल्ला सभापतिहरूको भेला, अन्य विभिन्न कार्यक्रममा निर्वाचनमा पराजयका कारण, हारको जिम्मेवारी र अबको भूमिकाका विषयमा पटकपटक छलफल र अन्तरक्रिया भइसकेका छन्। यो पृष्ठभूमिमा बसेकोे महासमिति बैठकले छुट्टै के निर्णय गर्ला र पार्टी कसरी अगाडि बढ्ला ? अब केही दिनमा सबै विषय प्रस्ट हुनेछ नै।

कांग्रेस पराजयपछिको एक वर्ष कुरा गर्‍यो कुरैको दुःख भने झैं आफूलाई सुधारेर लैजानेभन्दा पनि कमजोरीलाई ढाकछोप गर्ने, समस्या टालटुल पार्ने र यथास्थितिमा अगाडि बढ्नेबाहेक कांग्रेसमा आमूल परिवर्तनको कुनै संकेत देखिएको छैन। निर्वाचनमा पराजयपछि निराश र हतोत्साही बनेका कार्यकर्तालाई पार्टी नेतृत्व एकताबद्घ बनेर उत्साह, हौसला, आशा र भरोसा दिनुपर्नेमा उल्टै आफूभित्रै जुँगाको लडाइँ, गुटबन्दी र खुलारूपमा आरोप-प्रत्यारोपमा उत्रिएपछि कार्यकर्तामा कस्तो खालको सन्देश जान्छ ? हारेको मानसिकता र सुधारको संकेत महसुस नगरेको पार्टी कार्यकर्ताले कांग्रेस संगठनलाई कसरी मजबुत बनाउन सक्छन् ? यस्तो परिस्थितिमा कांग्रेस कुन बाटोमा अगाडि बढिरहेको छ सबैले सजिलै अनुमान लगाउन सक्छन्।

निर्वाचनमा पराजय हुनुका विभिन्न कारण थिए होलान्, तर पार्टीले के कारणले निर्वाचन हारियो त्यो पत्ता लगाएर कमजोरी सुधारेर अगाडि बढ्नुको साटो कसको कारणले हारियो त्यसको जिम्मेवारी कसले लिने कसले नलिने भन्ने व्यर्थको बहसमा एक वर्ष खेर गयो। जुनसुकै कारणले निर्वाचन हारेको भए पनि पार्टीको मुख्य नेतृत्वको नाताले मुख्य जिम्मेवारी पार्टी सभापतिको हुन्छ नै। यसका साथै केन्द्रीय समिति, जिल्ला समिति र प्रमुख भ्रातृसंस्थाहरूको पनि केही न केही जिम्मेवारी रहेको हुन्छ।

कम्युनिस्ट गठबन्धनको निरंकुशताविरुद्घ एकताबद्घ बनेर लड्नुपर्ने पार्टी आफैंमा लड्दै-भिड्दै रमाइरहेको छ।

अर्काे विडम्बना के छ भने निर्वाचनको समीक्षा गर्न भनेर महिनौं केन्द्रीय समितिको बैठक बस्यो, जिल्ला सभापतिको भेला पनि भयो तर अचम्म निर्वाचनमा जो प्रत्यक्ष उम्मेदवार थिए उनीहरूलाई अहिलेसम्म एकपटक पनि कतै सोधिएन किन हारियो ? के कमजोरी भयो ? वास्तवमा पार्टीको अन्य विषयमा जिल्ला सभापतिहरूसँग छलफल गर्नु स्वाभाविक हो, तर निर्वाचनका विषयमा त के कारणले हारियो कस्ता-कस्ता समस्या आए र के अपुग भयो र भोलिका दिनमा कस्तो रणनीति बनाएर चुनावमा जाने भन्ने कुरा सबैभन्दा बढी निर्वाचनमा होमिएका उम्मेदवारलाई नै अरूभन्दा पक्कै बढी थाहा हुन्छ।

यी सबै कुरा विश्लेषण गरेर भन्ने हो भने कांग्रेस विगतका कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नेभन्दा पनि यथास्थितिमै रुमलिएको देखिन्छ। गहिराइमा गएर समीक्षा गर्नेभन्दा पनि केही गरेजस्तो गरेर समय व्यतीत गरेको मात्र देखिन्छ। वास्तवमा आजको चुनौतीपूर्ण घडीमा कांग्रेसले हिजो सरकार सञ्चालनमा भएका त्रुटि, पार्टी सञ्चालनमा भएका कमजोरी, सामाजिक तथा राष्ट्रिय मुुद्दा उठाउने कुरामा पछि पर्नु, नेता र कार्यकर्ताको सम्बन्धको दूरी बढ्नु, जनतासँगको सम्बन्ध टुट्नुलगायतका कमजोरी सुधारेर प्रस्ट विचार, एजेन्डा, कार्यक्रम र दूर दृष्टि राखेर कांग्रेस अगाडि बढ्नुपर्छ। तर विडम्बना कांग्रेस आज आपसी मनमुटाव, गुटबन्दी, निजी स्वार्थ र गुटका साथै उपगुटसम्मको स्वार्थमा अल्झिएको छ।

कम्युनिस्ट गठबन्धनको निरंकुशताविरुद्घ एकताबद्घ बनेर लड्नुपर्ने पार्टी आफैंमा लड्दै-भिड्दै रमाइरहेको छ। पार्टीलाई बलियो बनाउने, सशक्त र प्रभावकारी बनाउनेभन्दा पनि पार्टीभित्रै आफू, गुट र उपगुट कसरी बलियो बनाउने सबैको चिन्ता र शक्ति यता खर्च भइरहेको छ। यसले पार्टीलाई कहाँ पुर्‍याउँछ आज सबैले गम्भीर भएर सोच्न जरुरी छ।

आजको चुनौतीपूर्ण र कठिन घडीमा कांग्रेसका हरेक नेता-कार्यकर्ताको दायित्व पहिला गुट जोगाउने हो कि कांग्रेस जोगाउने हो ? जननायक बीपी कोइरालाले भन्नुभएको, ‘कुनै दुविधा भए आफू उभिएको पैतालामुनिको जमिनको माटो हातमा लिएर छातीमा टाँसेर सोच्नू’ यो महावाणीलाई सम्झेर हरेक कांग्रेसीले सोच्नुपर्छ पहिला गुटको चिन्ता गर्ने कि पार्टीको ? गुट बलियो बनाउने कि पार्टी बलियो बनाउने ? यस्तै गुटबन्दी गरिरहने हो भने गुट त रहला, तर पार्टीको हालत के रहला ?

कांग्रेसमा आजको खाँचो र अपरिहार्य आवश्यकता भनेको बृहत्तर भावनात्मक एकता सबैको भावनाको प्रतिनिधित्व गर्दै सामूहिक नेतृत्व र अधिकतम सहमतिमा पार्टीको सञ्चालन गर्नु हो। यो महासमिति बैठकबाट कुनै व्यक्ति र गुटउपगुट जिन्दावाद भन्ने प्रवृत्तिबाट मुक्त भएर सिंगो संस्था, सिंगो पार्टी कांग्रेस जिन्दावाद भन्ने भावना बोकेर अगाडि बढ्ने सबैले प्रण गरौं। केही कारणवश घरमा आगलागी हुँदा घर जोगाउन छोडेर घरको कोठा जोगाउन लागियो भने सबैको सर्वनाशबाहेक केही हुँदैन। अन्त्यमा ‘न रह्यो बाँस, न बज्यो बाँसुरी’ भने झैं हुनुअगाडि नै कांग्रेसले आफूलाई बलियो, गतिशील, ऊर्जाशील र आमूल परिवर्तन गरेर अगाडि बढ्न यो महासमिति बैठकबाट पहिला गुट जोगाउने कि कांग्रेस जोगाउने ? फैसला गरोस्।

-शाही नेपाल तरुण दलका महासचिव हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.