अनसन तोड्न केसीलाई देउवाको आग्रह
काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २३ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेका छन्।
बिहीबार दिउँसो केसी भेट्न अस्पताल पुगेका देउवाले यस्तो आग्रह गरेका हुन्। ‘सरकार संवेदनशील भएन। तर, तपाईंको स्वास्थ्यप्रति हामी र नेपाली जनता चिन्तित छौँ’, केसीलाई देउवाले भने, ‘अनसन तोड्नुहोस्।’
देउवाले सरकारले राष्ट्रिय चिकित्सा स्वास्थ्य शिक्षा विधेयक संसदबाट गैर प्रजातान्त्रिक शैलीले पारित गरेको र त्यसको विरोधमा नेपाली कांग्रेस सक्रिय रहेको भन्दै केसीलाई यस्तो आग्रह गरेका हुन्।
‘सरकारले अप्रजातान्त्रिक प्रक्रिया देखाउँदै संसदबाट विधेयक पास गरेको छ। त्यसको विरोध हामीले गरिराखेका छौँ’, देउवाले केसीलाई भने ‘तपाईंले भोलि उठ्नका लागि पनि अनसन तोड्नु आवश्यक छ।’
देउवासँगै केसीलाई भेट्न अस्पतालमा पुगेका कांग्रेस नेता गगन थापाले सरकारलाई दम्भ नदेखाउन आग्रह गरे। 
प्रतिक्रिया दिनुहोस !