पाठकमाथि छानबिन गर्न बाटो खुला, महान्यायाधीवक्ताले दिए राय
काठमाडौं : घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि छानबिन गर्न सकिने राय महान्यायाधीवक्ता कार्यालयले दिएको छ।
आफ्नै आयुक्तमाथि छानबिन गर्न मिल्ने वा नमिल्ने विषयमा अख्तियारले सोमबारै महान्यायाधीवक्ता अग्नि खरेलसँग राय मागेको थियो।
महान्यायाधीवक्ता कार्यालयले संविधानको धारा २३९ को व्यवस्थाअनुरुप पदमुक्त भएपछि आयुक्तमाथि छानबिन गर्न संवैधानिक र कानुनी अड्चन नरहेको राय अख्तियारलाई दिएको स्रोतले जनाएको छ।
भक्तपुर चागुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजसँग सम्बन्धित मुद्दा मिलाइदिने भन्दै पाठकले कलेज सञ्चालकसँग घुस लिएको सार्वजनिक भएको थियो। घुस लिएको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि महाभियोगको तयारी भइरहँदा पाठकले महाभियोग छल्न राजीनामा दिएका थिए।पाठकलाई महाभियोग लगाएर पदमुक्त भएको भए कानुनअनुसार छानबिन गर्न मिल्ने भए पनि राजीनामा दिएकाले कसरी छानबिन गर्ने भन्ने अन्योल देखिएको थियो। तर महान्यायाधीवक्ताको रायपछि उक्त अन्योल समाप्त भएको छ। अब पाठकमाथि छानबिन थाल्न अख्तियारलाई बाटो खुलेको छ।
के छ धारा २३९ मा ?
नेपालको संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था छ।
२३९. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारः
(१) कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ।
तर यस संविधानमा छुट्टै व्यवस्था भएको पदाधिकारी र अन्य कानूनले छुट्टै विशेष व्यवस्था गरेको पदाधिकारीको हकमा यो उपधारा लागू हुने छैन।
(२) धारा १०१ बमोजिम महाभियोग प्रस्ताव पारित भई पदमुक्त हुने व्यक्ति, न्याय परिषदबाट पदमुक्त हुने न्यायाधीश र सैनिक ऐन बमोजिम कारबाही हुने व्यक्तिका हकमा निज पदमुक्त भइसकेपछि संघीय कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सकिनेछ।
(३) उपधारा (१) वा (२) बमोजिम भएको अनुसन्धानबाट सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानून बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्ति उपर कानून बमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्नेछ।
प्रतिक्रिया दिनुहोस !