भारतलाई पाकिस्तानी प्रधानमन्त्रीको आग्रह : वार्ता गरेर समाधान निकालौँ
नयाँदिल्ली : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग संवादका लागि आग्रह गरेका छन् । दुई देशबीच जारी रहेको हवाइ हमला अन्त्य गर्दै वार्ताको लागि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गरेका हुन् ।
एनडिटिभीमा एक अन्तर्वार्ता दिँदै खानले यस्तो आग्रह गरेका हुन् । ‘हाम्रो कारवाही यदी तिमी हाम्रो देशमा छिर्न सक्छौ भने हामी पनि सक्छौँ भन्ने मात्रै थियो,’ पाकिस्तानी प्रधानमन्त्री खानले भने ।
भारतले यस घटनालाई बढाउन चाहेको भन्दै खानले यसले दुबै पक्षमा नराम्रो गर्ने उनले बताएका थिए । उनले भने, ‘यदी यो घटनाले तनावको रुप लिँदै गयो भने त्यो अवस्थालाई न नरेन्द्र मोदीले न त मैले नै नियन्त्रणमा लिन सक्छौँ ।’
उनले मोदीलाई लक्षित गर्दै संवादका लागि आग्रह गरेको र शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्ने पनि बताएका छन् । भारतले पाकिस्तानी भूमिमा छिरेर ३ सय भन्दा बढी विद्रोहीको ज्यान लिएको दावी गरिरहँदा पाकिस्तानले भने भारतीय दुई विमान खसालेर पाइलटलाई नियन्त्रणमा लिएको दावी गरेको छ ।
यही तनावका बीच पाकिस्तानी प्रधानमन्त्रीले भारतीय पक्षलाई वार्ताको लागि आग्रह गरेका हुन् । दुई साताअघि पाकिस्तानमा रहँदैआएको भनिएको भूमिगत समुह जैश ए मोहम्मदले ४० भन्दा बडी भारतीय सुरक्षाकर्मी मर्ने गरी हमला गरेपछि सुरु भएको दुई देशबीच तनाब अझै मत्थर भएको छैन ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने यस घटनाको छानविन गर्न भारतलाई आग्रह गर्दै त्यसमा आफूहरुले पनि सहयोग गर्ने बताएका थिए । एनडिटिभीसँगको पछिल्लो अन्तर्वार्तामा पनि उनले यस्तो आग्रह दोहोर्याएका छन् ।
प्रतिक्रिया दिनुहोस !