भारोत्तोलनमा २३ राष्ट्रिय कीर्तिमान
नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुदको भारोत्तोलन प्रतियोगितामा दुई दर्जन राष्ट्रिय कीर्तिमान कायम भएका छन्। नेपालगन्जको नगर भवनमा जारी महिलाका चार इभेन्टमा १२ र पुरुषका चार इभेन्टमा १३ गरी २३ राष्ट्रिय कीर्तिमान कायम भएका हुन् ।
शनिबार महिला ५५ किलो तौलमा नेपाल पुलिस क्लबकी देवीकुमारी चौधरीले तीनवटा राष्ट्रिय कीर्तिमान राखिन्। उनले स्न्याचमा ६५ किलो, क्लिन एन्ड जर्कमा ८१ किलो र जम्मा एक सय ४६ किलो तौल उठाएर तीनवटा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।
यसअघि प्रदेश ५ की कविता चौधरीको नाममा स्न्याचमा ४५ किलो, क्लिन एन्ड जर्कमा ५५ किलो र जम्मा १०० किलो तौलको राष्ट्रिय कीर्तिमान थियो। प्रतियोगितामा एक सय सात किलो तौल उठाएर त्रिभुवन आर्मीकी मनीषा रानाभाट द्वितीय र एक सय किलो तौल उठाएर आर्मीकी गौरी चौधरी तृतीय भइन् ।
महिला ५९ किलोमा आर्मीकी कमला श्रेष्ठले पनि स्न्याचमा ७० किलो, क्लिन एन्ड जर्कमा ८० किलो र जम्मा एक सय ५० किलो तौल उठाएर तीनवटा राष्ट्रिय कीर्तिमान कायम गरिन्। यसअघि गण्डकी प्रदेशकी टीकामाया गुरुङका नाममा स्न्याचमा ४५ किलो, क्लिन एन्ड जर्कमा ५५ किलो र जम्मा १०० किलो तौलको राष्ट्रिय कीर्तिमान थियो। पुलिसकी जुनुमाया छन्त्याल एक सय १० किलो तौल उठाएर द्वितीय र गण्डकी प्रदेशी टीकामाया गुरुङ एक सय नौ किलो तौल उठाएर तेस्रो भइन् ।
पुरुष ६७ किलो तौलमा पुलिसका प्रकाश केसीले पनि स्न्याचमा १०३ किलो, क्लिन एन्ड जर्कमा १२२ किलो र जम्मा २२५ किलो तौल उठाएर तीनवटा राष्ट्रिय कीर्तिमान कायम गरे। यसअघि गण्डकी प्रदेशका धनबहादुर झाँक्रीमगरको नाममा स्न्याचमा ८० किलो, क्लिन एन्ड जर्कमा ९० किलो र जम्मा १७० किलो तौलको रेकर्ड थियो ।
आर्मीका जीवन तामाङ १९१ किलो तौल उठाएर दोस्रो र गण्डकी प्रदेशका धनबहादुर झाँक्री १७० किलो तौल उठाएर तेस्रो भए। पुरुष ७३ किलोमा आर्मीका कमलबहादुर अधिकारीले स्न्याचमा १२० किलो, क्लिन एन्ड जर्कमा १२२ किलो र जम्मा २२५ किलो तौल उठाएर तीनवटा राष्ट्रिय कीर्तिमान कायम गरे ।
यसअघि प्रदेश ५ का सुरज वैश्यको नाममा स्न्याचमा ९० किलो, क्लिन एन्ड जर्कमा ११५ किलो र जम्मा २०५ किलो तौलको रेकर्ड थियो। यसअघि शुक्रबारको खेलमा ११ वटा राष्ट्रिय कीर्तिमान कायम भएका थिए ।
प्रतिक्रिया दिनुहोस !