बजेट सक्न सडक टालटुल
कृष्णमाया उपाध्याय
जुम्ला : चन्दननाथ नगरपालिका–२ मा धमाधम सडक विस्तार भइरहेको छ। मानव चोकबाट भण्डारीबाडा जाने सडक ग्राभेलदेखि कालोपत्रे एकसाथ गर्न लागिएको हो। जिल्ला प्रशासन, नगरपालिका र यहाँका गाउँपालिका कार्यालयनजिक हरेक वर्ष बजेट सक्न सडक टालटुल गर्ने चलन छ।
सदरमुकाम खलंगाका सडक तथा नाला हरेक वर्ष भत्काउँदै नयाँ बनाउँदै गरिएको छ। तर, ग्रामीण क्षेत्रमा सडक नपुगेर बिरामीले बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यताको सम्बोधन जनप्रतिनिधिले गरेका छैनन्। यहाँ सहरी तथा भवन निर्माण विभाग संघीय योजना कार्यान्वयन इकाइले बजेट दिएको छ। मानव चोक–भण्डारीबाडा सडक निर्माण योजना २९ लाखबाट घटिघटाउमा २३ लाख ७५ हजारले काम गर्न थालेको उपभोक्ता समितिका अध्यक्ष हेमु बुढ्थापाले बताए।
उनका अनुसार नगरपालिका प्रमुख कान्तिका सेजुवालको पहलमा उपभोक्ता समिति गठन गरी सडक निर्माणको काम रातारात भइरहेको हो। जेठ ५ मा मात्रै यो योजनाको सम्झौता भएको थियो। ‘सरकारको सुस्त नीतिका कारण भनेको समयमा विकासको काम गर्न पाइएन’, अध्यक्ष बुढ्थापाले भने, ‘असार मसान्तमा काम सक्नुपर्ने भएकाले रात–दिन काम गर्नुपरेको हो।’
१ सय ७२ मिटर टालटुल गर्न २३ लाखभन्दा बढी रकम विनियोजन गरिएपछि केहीले विरोध जनाएका छन्। कम्तीमा चार मिटर चौडाइको सडक बनाउनुपर्ने प्रावधान भए पनि तीन मिटरभन्दा बढी बनाइएको छैन। जग्गाधनीले जति जग्गा छाडे सोहीअनुसार सडक बनाउने काम भएको अध्यक्ष बुढ्थापाले स्वीकार गरे।
यो सडक उदाहरण मात्रै हो। नगरपालिकाबाट गाउँपालिकासम्मका सबै वडामा असारे विकास चलिरहेको छ। छोटो समयमा यसरी काम गरे पनि पैसा पाइने÷नपाइने निश्चित नभएको कामदार राज्यलक्ष्मी बुढ्थापालले बताइन्। जनप्रतिनिधिले विकास निर्माणका नाममा भ्रष्टाचार गरेको उनको तर्क छ। गुणस्तरलाई ख्याल नगरी बजेट सक्ने काम भएको चन्दननाथ–२ का गगन बुढ्थापाको भनाइ छ। नगरपालिका प्रमुख सेजुवालले कामको गुणस्तरका आधारमा योजनाको भुक्तानी भएको बताइन्।
प्रतिक्रिया दिनुहोस !