सवारी प्रदूषण मापन नाममात्रै
पोखरा : उत्तरमा लहरै उभिएका सेता हिमाल। उपत्यकाको पूर्वपश्चिम, उत्तरमा रहेका करिब एक दर्जन ताल। गण्डकी प्रदेशको राजधानी पोखराका यी सुन्दर प्राकृतिक स्रोतकै कारण यहाँ बर्सेनि लाखौं पर्यटक आउँछन्।
प्रदेशको राजधानी पोखरा उपत्यकाबाटै देखिन्छन् ८ हजारभन्दा अग्ला तीन हिमाल अन्नपूर्ण प्रथम, धौलागिरि, मनास्लु। फेवातालमा मात्र होइन बेगनास ताल र रुपातालमा पनि अन्नपूर्ण हिमशृंखला तैरिएको दृश्यले पर्यटकलाई लोभ्याउँछ। पछिल्लो समयमा पोखरामा सवारी साधान बढेसँगै बढ्दो वायु प्रदूषण नियन्त्रण हुन नसक्दा नागरिक सास्तीमा छन्।
पोखरामा गत भदौदेखि सवारी साधनको प्रदूषण मापन सुरु भएको छ। पहिलो चरणमा साना चारपाँग्रे सवारी साधानको मात्र प्रदूषण मापन हुन्छ। तिनै चेकजाँच भएका सवारीले पनि धुवाँको मुस्लो फाल्दै हिँड्छन्। सबैभन्दा धेरै धुवाँ फालेर प्रदूषण बढाउने ठूला बस, ट्रक, टिपरको प्रदूषण मापन नै हुँदैन। कार्यालयबाट साना ४ पाँग्रे सवारी साधानको मात्रै मेसिनले प्रदूषण जाँच हुने यातायात व्यवस्था कार्यालय पोखराका मेकानिकाल इन्जिनियर प्रेम सुवेदीले बताए।
जिप, कार, भ्यान, ट्याक्सी, पर्यटक प्लेटलयातका सवारी साधनको चेक जाँच हुन्छ। अन्य ठूला बस, ट्रकलगायतका सवारी साधान चेक जाँचका लागि प्रविधि नभएको उनले सुनाए। कार्यालयमा एउटा डिजेलबाट चल्ने र अर्को पट्रोलबाट चल्ने गरी दुईवटा मात्र धुवाँको प्रदूषण नाप्ने मेसिन छ। ति मेसिनले ठूला भार क्षमताका गाडीको प्रदूषण नाप्न नसक्ने उनले बताए।
यातायात कार्यालयबाट क्लिन चिट पाएर हरियो स्टिकर टाँसेकै सवारी साधनले नै धुवाँको मुस्लो फाल्दै सडकमा गुड्ने गरेका छन्। धुवाँको मुस्लोसहित गुडेको सवारी चेक जाँच गर्दा यातायात कार्यालयबाट जाँच पास गरेको कागज हुने जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी निरीक्षक मुरारी मि श्रले बताए। धुवाँको मुस्लो फाल्दै सडकमा गुड्ने बस, माइक्रोबस समाएर यातायात कार्यायमा प्रदूषण मापन गर्न पठाउने गरेको बताए।
गण्डकी प्रदेश सरकारसँग सवारी साधनबाट हुने प्रदूषण मापन गर्ने प्रोटवल मेसिन उपलब्ध गराउने आग्रह गर्दा सकरात्मक जवाफ आएको उनले सुनाए।
बढ्दो प्रदूषणका कारण सडकमा हिँड्ने नागरिक मात्र होइन पोखराको सडकमा सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको स्वास्थ्यमा समेत प्रभाव परेको छ।
जाँचपासमा फेलभएका सवारी साधानका धनिलाई पनि कारबाही हुँदैन। यातायात कार्यालयमा वर्षभरमा ३ हजार ७ बढी गाडीको प्रदूषण जाँच हुँदा ६ सय ९४ गाडी जाँचमा फेल भए। तर तिनलाई कारबाही हुने व्यवस्था नरहेको कार्यालयले बताएको छ। कास्की जिल्लामा अर्थिक वर्ष २०७५÷७६ मा मात्रै ४ हजार ६ सय वटा ४ पाँग्रे सवारी साधान नयाँ दर्ता तथा नवीकण भएका छन्।
पोखरामा तीन ठाउँमा प्रदूषण मापन केन्द्र स्थापना गरिएको छ। पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको प्राङ्गण, रत्नचोकस्थित हावापानी कार्यालय र पोखरा विश्वविद्यालयमा। पुराना सवारी साधनबाट निस्कने प्रदूषणले मुटु र फोक्सोमा असर पार्छ।
वायु प्रदूषणबाट बच्चाको फोक्सोमा समस्या उत्पन्न हुन्छ। बढ्दै गएको प्रदूषणको मात्रालाई न्यूनिकरण गर्न प्रदेश र संघीय सरकारबाट प्रतिवद्धता नदेखिएको नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले बताए। पुराना मोडलका धुवाँ फ्याँक्ने ट्याक्टर अझै चलेको छ। बस, ट्रक, माइक्रो बसलगायतका सवारी साधनबाट हुने प्रदूषणले मास्क लगाएर हिँड्नु पर्ने अवस्था आएको उनले सुनाए।
प्रतिक्रिया दिनुहोस !