निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : लगानी बोर्डले माग्यो जुरिचसँग प्रस्ताव
काठमाडौं : लगानी बोर्ड नेपालले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रस्ताव माग गरेको छ। बोर्डले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्विजरल्यान्डको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीसँग शुक्रबार प्रस्ताव माग गरेको हो।
सार्वजनिक निजी साझेदारी मोडलअन्तर्गत यो परियोजना अघि बढाउन विकासकर्ता कम्पनी छनोट गर्न लागेको हो। कम्पनीलाई फागुन १८ गतेसम्म परियोजनामा प्रस्ताव पेस गर्न पत्र पठाएको छ। परियोजना निर्माणका लागि कम्पनीले पठाउने प्रस्तावमा बोर्डले फागुन ४ गते छलफल गर्ने जनाएको छ।
२०७५ चैतमा आयोजना गरिएको लगानी सम्मेलनमा बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि इच्छुक कम्पनीसँग आसय माग गरेको थियो। यसमा सात वटा कम्पनीको प्रस्ताव परेको थियो। बोर्डको मूल्यांकन समितिले प्राप्त आसयमध्ये जुरिच अब्बल देखिएको थियो। बाँकी ६ वटा कम्पनीको प्रस्ताव मापदण्ड नपुगेको बोर्डको ठहर छ।
सरकारले ८० वर्गकिलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जुरिचसँग प्रस्ताव माग गरेको हो। अब जुरिचले पेस गर्ने प्रस्तावको आधारमा विमानस्थल निर्माण प्रक्रियाको टुंगा लगाइनेछ। जुरिचले विमानस्थल निर्माण, विकास र सञ्चालनबारे आर्थिक तथा प्राविधिक प्रस्ताव पेस गर्नेछ। सो प्रस्ताव उपयुक्त भएमा बोर्डले विमानस्थलको जिम्मा उसैलाई दिनेछ।
विमानस्थल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याकंन रिपोर्टसमेत स्वीकृत भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !