कोरोना भाइरसको त्रासले पर्यटन प्रभावित

कोरोना भाइरसको त्रासले पर्यटन प्रभावित

कृष्णमणि बराल/केशवशरण लामिछाने

पोखराको लेकसाइडस्थित रेस्टुरेन्ट चान तासीमा मंगलबार दिउँसो चिनियाँ पर्यटक मास्क लगाएर छिरे । भित्र भने उनीहरूले खानाका लागि मास्क झिके । रेस्टुरेन्टका वेटरले मास्क लगाएरै पर्यटकलाई खाना दिए ।

चीनमा फैलिएको कोरोना भाइरसका कारण पोखरामा पनि त्रास बढेको छ । चिनियाँ पर्यटकको बढी चहलपहल हुने रेस्टुरेन्ट तथा होटलमा सतर्कता अपनाइएको छ । सतर्कता अपनाउँदै मास्क लगाएरै पर्यटकलाई सेवा दिँदै आएको चिनियाँ रेस्टुरेन्ट चान तासीमा कार्यरत निसाना थापा मगरले बताइन् ।

रेस्टुरेन्ट सञ्चालक चान उइलिनले कोरोना भाइरसका कारण चिनियाँ पर्यटकको आगमन प्रभावित भएको सुनाए । जनवरी २४ मा सुरु भएको चिनियाँ नयाँ वर्षमा गत वर्षभन्दा ३० प्रतिशत कम चिनियाँ आफ्नो रेस्टुरेन्टमा आएको उनले बताए ।

लेकसाइडमा २३ वटा रेस्टुरेन्ट र चार होटलमा चिनियाँ व्यवसायीको लगानी छ । ८० प्रतिशत ग्राहक चिनियाँ नै हुन् । बाँकी २० प्रतिशत नेपाली र अन्य मुलुकका पर्यटक हुने गरेको उनले सुनाए । चिनियाँलाई लक्ष्य गरी सञ्चालित व्यवसाय समस्यामा पर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘अफ सिजन’ मानिएको अक्टोबर, जनवरी र फेब्रुअरीमा भूकम्प जानु तीन वर्षअघिदेखि चिनियाँको आगमन बढेको थियो । भूकम्पको असरपछि बल्ल चिनियाँ पर्यटकको आगमन बढ्न लाग्दा कोरोना आतंकले पर्यटन उद्योग प्रभावित हुन लागेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले सुनाए ।

चिनियाँ नयाँ वर्षका बेला विगतमा पोखरामा कुल पर्यटकमध्ये २५ प्रतिशत चिनियाँ हुन्थे । यो वर्ष १० देखि १५ प्रतिशत मात्र चिनियाँ रहेको उनले सुनाए । पोखरामा स्वदेशी तथा विदेशी गरी ४० प्रतिशत पर्यटक छन् । कोरोनाका कारण अन्य देशका पर्यटक पनि घट्न सक्ने भएकाले सरकारले अन्तर्राष्ट्रिय प्रविधि अपनाएर नेपाललाई सुरक्षित बनाउन तत्काल पहल गर्नुपर्ने पर्यटन व्यवसायीको भनाइ छ ।

जनवरी २५ देखि फेब्रुअरी ७ सम्म २ सय चिनियाँले कोरोनालाई कारण देखाएर बुकिङ रद्द गरेको ड्रागन होलिडे ट्राभल्सका सञ्चालक पुष्करराज पाठकले बताए । उनका अनुसार जनवरी २५ देखि तीन महिनासम्मका लागि १ हजारभन्दा बढीले बुकिङ रद्द गरेका छन् । पोखरामा ६ सय ५० होटलमा ३० हजार बेड संख्या रहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष तुलाचनले बताए ।

विमानस्थलमा भाइरस जाँच कक्ष

प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिकाले शुक्रबार पोखरा विमानस्थलमा कोरोना भाइरस जाँच कक्ष स्थापना गरेका छन् । ‘अहिले सामान्य लक्षण जाँच हुन्छ’, निर्देशनालयका अधिकृत होगेन्द्र भुर्तेलले भने, ‘आवश्यक परे रगत पनि जाँच गर्नेछौं ।’

उनले पोखरामा कोरोना रोकथाम गर्न सकिने तर उपचारमा कठिना हुने बताए । विदेशबाट आएकाहरूको उपस्थिति बढी हुने भएकाले विमानस्थमा सहायता कक्ष राखिएको उनले सुनाए । उनका अनुसार लेकसाइडमा पनि आइतबार सहायता कक्ष राखिनेछ । जाँच कक्षमा स्वास्थ्यकर्मी र उपकरणको प्रबन्ध गरिएको छ ।

पोखरामा कोरोनाको लक्षण भने भेटिएको छैन । कोरोना थाहा पाउन रगत जाँच्ने किट भने अभाव छ । शंका लागे जाँच्नका लागि काठमाडौं पठाउने तयारी यहाँका स्वास्थ्य संस्थाले गरेका छन् ।

स्वास्थ्य अधिकारीले कोरोना रोकथाममा लाग्न तर नआत्तिन अपिल गरेका छन् । ‘प्रदेशका सबै स्वास्थ्य संस्थामा कोरोना भाइरसका बिरामीका लागि उपचारको प्रबन्ध गर्न सबैतिर पत्राचार भएको छ’, उनले भने, ‘स्वास्थ्यकर्मीलाई पनि उपचारमा सजग रहन भनिएको छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खटिएका कतिपय चिनियाँ नयाँ वर्ष मनाउन गएकोमा अझै फर्किएका छैनन् । विमानस्थल आयोजना प्रमुख विनश मुनकर्मीका अनुसार चीनबाट फर्किएका एक जनालाई काममा लगाइएको छैन । उनले भने, ‘छुट्टै १५ दिन राखेपछि मात्रै काममा फर्काउनेछौं ।’

चीन पुगेका कामदारलाई पनि उतै १५ दिन छुट्टै राखेपछि मात्रै फर्किन पत्राचार गरिएको उनले सुनाए । ‘आएपछि पनि फेरि यहाँ १५ दिन छुट्टै राखेर काममा लगाउन भनेका छौं’, उनले भने । उनका अनुसार २५० जना चिनियाँ कामदार पोखरा विमानस्थल निर्माणमा खटिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.