रामेछापमा क्वारेन्टाइनमा बस्नेको संख्या ८० पुग्यो, कुन स्थानीय तहमा कति ?
काठमाडौं : रामेछापका विभिन्न स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनमा बस्नेको संख्या ८० पुगेको छ। छिमेकी मुलुक भारत र अन्य विभिन्न देशहरुबाट आएका ७२ जनालाई होम क्वारेन्टाइन र ८ जनालाई सामुदायिक क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि रामेछाप जिल्लाका आठवटै स्थानीय तहले आइसोलेसन तथा क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएका छन्। कर्णकाअनुसार शुक्रबार दिउँसोसम्म जिल्लामा ५३ बेडको आइसोलेसन र २६६ बेडको क्वारेन्टाइन निर्माण भइसकेको छ।
क्वारेन्टाइनमा शंकास्पद र बाहिरबाट आएका मानिसहरुलाई राख्ने प्रबन्ध मिलाएको उनले बताए। कर्णकाअनुसार आज दिउँसोसम्म रामेछाप नगरपालिकामा २६ जना, सुनापति गाउँपालिकामा २२ जना, दोरम्बा गाउँपालिकामा ४ जना, खाँडादेवी गाउँपालिकामा ११ जना, गोकुलगंगा गाउँपालिकामा ३ जना, मन्थली नगरपालिकामा ९ जना र लिखु गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा विशेष निगरानीमा राखिएको छ।
कर्णले दोरम्बा गाउँपालिकामा ६ जना, गोकुलगंगा गाउँपालिकामा ४ जना र मन्थली नगरपालिकामा १ जनालाई होम क्वारेन्टाइनमा निगरानी राखिएको भएपनि उनीहरुमा स्वास्थ्य समस्या नदेखिएकाले निगरानीबाट हटाइएको बताए।
कुन स्थानीय तहमा कति आइसोलेसन र क्वारेन्टाइन बेड ?
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णकाअनुसार रामेछाप नगरपालिकामा ७ आइसोलेसन बेड र ७० क्वारेन्टाइन बेड, मन्थली नगरपालिकामा २२ आइसोलेसन बेड र २० क्वारेन्टाइन बेड, सुनापति गाउँपालिकामा ६ आइसोलेसन बेड, खाँडादेवी गाउँपालिकामा ११ आइसोलेसन बेड र ४३ क्वारेन्टाइन बेड, दोरम्बा गाउँपालिकामा ७ आइसोलेसन बेड र १६ क्वारेन्टाइन बेड, उमाकुण्ड गाउँपालिकामा ५३ क्वारेन्टाइन बेड, गोकुलगंगा गाउँपालिकामा २१ क्वारेन्टाइन बेड, लिखु गाउँपालिकामा ४३ क्वारेन्टाइन बेड निर्माण भएका छन्।
जनप्रतिनिधिहरु विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आफ्नो गाउँगाउँमा पुगेर सचेतना जगाउन सक्रिय रहेका छन्। उनीहरुले छिमेकी देश भारत लगायत अन्य देशबाट फर्किएका व्यक्तिका बारेमा सूचना दिन पनि गाउँगाउँका नागरिकलाई अनुरोध गरेका छन्।

तामाकोसी सहकारी अस्पताल मन्थलीमा तयारी अवस्थामा राखिएका आइसोलेसन बेड । तस्बिर सौजन्य : डा. सुमन कर्माचार्य
प्रतिक्रिया दिनुहोस !