रुकुम घटना : डोरीले हात बाँधेर विरोध
दैलेख : गत शनिबार रुकुम पश्चिमको चोरजहारी-८ सोतीमा भएको घटनाको बिरोधमा दैलेखका अधिकारकर्मीहरुले विरोध प्रर्दशन गरेका छन्। राष्ट्रिय दलित पत्रकार संघ नेपालको अगुवाईमा जिल्लाका अधिकारकर्मीहरुले विरोध प्रर्दशन गरेका हुन्।
सामुहिक रुपमा डोरीले हात बाँधेर विरोध जनाएका हुन्। अधिकारकर्मीहरुले सामुहिक रुपमा डोरीले हात बाँधेर स्थानीय देवकोटा चोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म प्रर्दशन गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै छुवाछुतमुक्त राष्ट्र घोषणा भएको १२ वर्ष बितिसक्दा समेत रुकुमपश्चिमको मानवता विरोधी जातीय नरसंहार भएको हत्याकाण्डको विरोधमा प्रर्दशन गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव अमर सुनारले बताए। प्रर्दशनसँगै जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको सुनारले बताए।
रुकुमपश्चिमको घटनाको सत्यतथ्य छानवीन गर्न दलित आन्दोलनको प्रतिनीधित्व हुने गरी अधिकार सम्पन्न उच्च स्तरीय आयोग गठन गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको हो।
उक्त हत्याकाण्डमा संलग्न दोषीहरुलाई हदैसम्मको कानुनी कार्वाही हुनुपर्ने, अन्तरजातीय विवाह मार्फत सामाजिक रुपान्तरणमा लागिपरेका नवराज विक, टीकाराम विक, लोकेन्द्र सुनार, गणेश बुढामगर र सन्जु विकलाई सहिद घोषणा गर्नुपर्ने, मृतक युवाहरुका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगाएतका ९ बुँदे माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ। जातीय विभेद र छुवाछूतका कारण घटाइएको उक्त हत्याकाण्डले संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, विद्यमान ऐन कानून, राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकार तथा मानवीय कानूनको उल्लंघन गरेको दलित अधिकारकर्मीहरुको ठहर छ। उक्त हत्याकाण्डले सात दशक लामो सामन्तवाद विरोधी आन्दोलनका क्रममा भएका सबैखाले राजनीतिक आन्दोलन, १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन तथा दलित मुक्ति आन्दोलनको जगमा निर्माण भएको नेपालको संविधानसँगै नयाँ युगको नयाँ सारथिको रुपमा रहेको वर्तमान नेकपाको सरकारका अगाडि गम्भीर चुनौति खडा गरेको राष्ट्रिय दलितमुक्ती संगठनका केन्द्रिय सदस्य गोपाल नेपालीले बताए।
प्रतिक्रिया दिनुहोस !